जब यो आफ्नो सुनौलो बोक्राबाट बाहिरिएर
हाम्रा जिन्दगीहरुमा जोडिन आउँछ
तब यसले आफ्नो अनेक अनेक स्वरुप बदल्छ
म यसको हरेक स्वरुपको प्रेमी हुँ
म यसको प्रत्येक अवतारको पारखी हुँ
सिलामसँग पानीमा भिजेको बेलामा
यो किसानहरुको कचौरोमा न्वागी कहलाउँछ
र नयाँ सालमा नयाँ गाँसहरुको
अनुमती प्रदान गर्छ
मेरी आमाको हातमा पाकेर यो
जाउलो भैदिन्छ
र आमाको ममताले जादूयी जाउलो
मेरो हर बिमारीको ओखती भैदिन्छ
भोक मेटाउने भात भैदिने यसले
मात लगाउने भाती हुन पनि जानी दिन्छ
देउसे र भैलेहरुको झोलामा हालिदिँदा यसलाई
सिदा बनिदिन पनि मानी दिन्छ
दहीमा मुछिएर आशिर्वादको संवाहक बन्दा
यो पवित्र टीका कहलाउँछ
बेहुलीको आँगनमा जन्तिहरु पर्छिनु पर्दा
यो शकुन भई वर्षा हुन्छ
पूजापाठमा दुनाहरुमा यो अक्षता भइ राज गर्छ
कमिलाहरुको निम्ति यो सेतो मोतीको पहाड हुन्छ
झाँक्री दाइ !
जोखाना हान्दा ती अक्षताहरु अक्षता हुँदैनन्
बरु बिरामीका विश्वासिला शस्त्रहरु पो हुन्छन्
जसरी छरिन्छन् ती थालहरुमा
जसरी खेलाइन्छन् जादूयी हातहरुमा
मलाई यसका सबै रुपहरुमध्य अक्षता
सबैभन्दा बेसी आकर्षक लाग्छ
मलाई पूरा सम्झना छ
मेरी आमाले भन्नु हुन्थ्यो
‘चामाचाम जथाभावी छेलोखेलो नगर्नू
चामाचाम घरको लछिन हो
चामाचाम हाम्रो संस्कृति हो ,
पसिना मन्थनद्वारा किसानहरुले
उब्जाएको मानवजातिको प्राण हो’
(चामाचाम : राई भाषामा चामल)