सिन्धुपाल्चोक, २९ माघ । जुगल गाउँपालिका गुम्बागाउँमा देखिएको भाइरल संक्रमण भएपनि कोरोना भाइरस संक्रमणको सम्भावना नरहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले आफू मंगलबारबाट अध्ययनमा लागेको भन्दै त्यहाँ चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको बताए ।
उनले गाउँको यात्रा विवरणबारे बुझ्न लगाएको समेत बताए । सो क्षेत्रमा हाल देखापरेको भाइरल संक्रमणको उपचारमा गाउँपालिकाका स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्ट परिचालन गरी उपचार शुरु गरिएको छ । बिरामीमध्ये केहीलाई निकोसमेत भएको जानकारी आफूले पाएको प्रमुख चापागाईले बताए । साथै त्यहाँको भाइरल संक्रमणबारे जाँच गर्न आफूहरुले टेकुस्थित सरुवा रोग महाशाखालाई अनुरोध गरेको र महाशाखाले पनि चाँडै टोली त्यसतर्फ पठाउने जानकारी गराएको बताए ।
सो स्थान गाउँपालिका केन्द्र भएको स्थानबाट दुई घण्टा पैदल दूरीमा छ । अहिले जलवीरेबाट चिकित्सकको टोली लिएर गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ त्यहाँ पुगेका छन् । गाउँमा १५० मा रुघाखोकी र ज्वरो देखिएको तथा १० को उपचार भएको छ भने एकको अवस्था गम्भीर रहेको अध्यक्ष श्रेष्ठले जनाकारी दिए । गाउँमा भाइरल संक्रमण भएपछि कोरोना भाइरसको लक्ष्यणसँग मिल्दोजुल्दो भएको भन्दै गाउँपालिकाले सहयोगका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचारसमेत गरेको छ । सो स्थानमा विगत तीन दिनदेखि बिरामीको संख्या बढेको हो । दुईजना स्वास्थ्यकर्मीसहित आवश्यक औषधि, मास्क र पञ्जा लिएर गुम्बा पुगिएको उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिए । बुधबार बिहानसम्म २०१ जना बिरामी परेको भन्दै नाम दर्ता गराएका छन् । उनीहरुमध्ये १५० मा रुघाखोकी र अत्यधिक ज्वरो देखिएको जनाइएको छ । रासस