काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा पार्टी अध्यक्ष उपेन्द्र यादव र पार्टीकी कार्यकारिणी समिति सदस्य रेणु यादवबीच टकराव सुरु भएको छ । लामो समय सहकार्य गरेका उपेन्द्र र यादव संगठन निर्माणको क्रममा टकराव सुरु भएको हो ।
रेणुु यतिबेला यादवका विरुद्ध मधेस प्रदेशका विभिन्न जिल्लामा जसपाको समानान्तर समिति गठन गर्न थालेकी छिन् । अहिलेसम्म पर्सा र सप्तरीमा समानान्तर कमिटी गठन भइसकेका छन् भने अन्य जिल्लामा पनि गठन गर्ने तयारी भएको स्रोतले जनाएको छ । सप्तरी जिल्ला उपेन्द र रेणु दुवैको गृहजिल्ला हो ।
तिहारको केही दिनअघि मात्र पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षसँग निकट मानिएको जसपा सप्तरीको नेतृत्वविरुद्ध समानान्तर कमिटी गठन गरिएको छ । समानान्तर कमिटी गठन गर्ने काम रेणु आफैँले गरेकी हुन् । पार्टी अध्यक्ष उपेन्द्रले सप्तरीको अध्यक्षमा आफूनिकट नेता केदार यादवलाई बनाएका छन् तर केदारको विरोधमा रेणुले उमेश यादवको नेतृत्वमा अर्को कमिटी गठन गरेकी हुन् ।
समानान्तर कमिटीको नेतृत्व उमेश यादवले गरेका छन् । रेणुलाई पार्टीका केन्द्रीय सदस्य सैलेन्द्र साह, सूर्यनारायण यादव, विनोद यादवलगायतका नेताले सक्रिय साथ दिएका छन् । समानान्तर कमिटी हुँदा यी नेताहरू उपस्थित भएका थिए ।
यसैगरी पर्सामा रामनरेश राययादवको विरुद्ध समानान्तर समिति गठन गरिएको छ । समानान्तार समितिको अध्यक्षमा सिंहासन तेलीलाई चयन गरिएको छ । तेली पार्टीका नेता पूर्वमन्त्री प्रदीप यादवसँग निकट मानिन्छन् भने राययादव पार्टी अध्यक्ष उपेन्द्र यादवसँग निकट मानिन्छन् ।
पर्सा र सप्तरीमा समान्तार समिति गठन गर्ने तयारी हुँदासमेत पार्टी अध्यक्ष उपेन्द्र यादवले चासो देखाएका छैनन् ।
समानान्तर समिति गठन नगर्न पार्टीका केन्द्रीय अध्यक्षले पार्टी मिलाउने कुनै पनि पहल नगरेको नेता कार्यकर्ताले बताएका छन् । पछिल्लो १७ महिनादेखि उपेन्द्र र रेणुबीच सम्बन्ध बिग्रेको स्रोतले जनाएको छ ।
भौतिक पूर्वाधारमन्त्री भएको बेला उपेन्द्रले रेणुलाई फिर्ता बोलाउने निर्णय गरेका थिए । त्यो पनि असार महिनाको मध्यतीर फिर्ता बोलाउन दबाब दिइएको थियो । आफूलाई मन्त्रीबाट फिर्ता बोलाउन दबाब दिएपछि रेणु पार्टी अध्यक्षसँग चिढिएकी थिइन् ।