दृष्टि साप्ताहिक ४० वर्ष पूरा गरेर ४१ वर्षमा प्रवेश गरेको छ । पत्रकारिता क्षेत्रमा निरन्तर चार दशक बिताउनु चानचुने कुरा होइन । यो चार दशकभित्र विश्व राजनीतिमा धेरै उथलपुथल भएका छन् ।
सोभियत संघको विघटनदेखि नेपालमा गणतन्त्र स्थापनासम्मका घटना यस अवधिमा भएका छन् । यी सबै घटनाक्रमको दृष्टि जिउँदो साक्षी हो । इतिहास लेख्नेहरुले आफू अनुकूल तथ्यहरुलाई बंग्याउन सक्छन् । तर पत्रकारिता त्यस्तो चिज हो, जसले हरेक घटनाक्रमलाई सत्य, तथ्यको आधारमा प्रस्तुत गर्छ । यसर्थ, दृष्टि साप्ताहिक नेपाली पत्रकारिताको इतिहासमा एउटा अभिलेख पनि हो ।
कम्युनिष्ट विचार बोकेर मिशन पत्रकारितामार्फत उदाएको ‘दृष्टि’ आफ्नो उद्देश्यमा सफल छ । तर, कम्युनिष्ट विचार बोक्ने राजनीतिक दलका नेताहरु असफल भएकै कारण देश र जनता गरिबीको चपेटामा पिल्सनुपरेको छ ।
विचारमात्रै राम्रो भएर हुँदैन, आचरण र व्यवहार पनि उत्तिकै राम्रो हुनुपर्छ । नेपालमा २०४६ सालको जनआन्दोलन अगाडि कम्युनिष्ट नेताहरुमा देश र जनताप्रति जुन प्रतिबद्धता थियो, ०४६ सालको राजनीतिक परिवर्तनपछि ती नेताहरुमा आएको वैचारिक विचलनले देश असफलतातिर उन्मुख हुने हो कि भन्ने चिन्ता छ ।
नेपालमा बहुदलीय व्यवस्थाको पुनःस्थापनादेखि गणतन्त्रको यात्रासम्ममा कम्युनिष्ट पार्टीहरुले निर्णायक भूमिका खेलेका छन् । तर, व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन हुन सकेन ।
राजनीतिलाई मिशन बनाएर पत्रकारिताको यात्रा सुरु गरेको ‘दृष्टि’ सुशासनप्रति प्रतिबद्ध छ । संघीय लोकतान्त्रिक गणतन्त्रको माध्यमबाट नेपाल र नेपाली जनताको समृद्धिका लागि दृष्टि हरपल समर्पित छ । भ्रष्टाचार र कुशासनका विरुद्ध दृष्टिले चौबीसै घण्टा खबरदारी गरिरहने छ । मात्र खाँचो छ, पाठकको माया र विश्वासको ।
चीनमा माओले केका लागि क्रान्ति गरेका थिए भन्ने कुरा आजको समृद्ध चीनले उदाहरण बनेर विश्वलाई देखाइदिएको छ । तिनै माओको राजनीतिबाट प्रभावित भएर कम्युनिष्ट बनेका हाम्रा नेताहरुले भने देशलाई बर्बादीतर्फ उन्मुख गर्दै लगेका छन् । के ठिक हो, के बेठिक हो भन्नेसम्म छुट्याउन नसक्ने अवस्थामा कम्युनिष्ट नेताहरु पुगेका छन् । हुँदाहुँदा संसद् विघटन ठिक थियो भन्नेसम्मको प्रतिगामी सोचमा कम्युनिष्ट नेताहरु पुगेका छन् ।
वास्तवमा, देशको यो दुर्दशा, राजनीतिक अस्थिरता र आजको निराश वातावरणको कारण भनेकै पुस ५ को संसद् विघटन हो । नेपालको इतिहासमै कम्युनिष्ट पार्टीले दुईतिहाइ मत पाएको उदाहरण थिएन ।
२०१५ सालमा नेपाली कांग्रेसले दुईतिहाइ मत पायो । त्यसलाई राजा महेन्द्रले पुस १ गते विघटन गरिदिए । २०७४ सालमा नेपाल कम्युनिष्ट पार्टीले दुईतिहाइ मत पायो । त्यसलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरिदिए । यो घटना नै नेपाल र नेपालीका लागि दुर्भाग्य बन्यो ।
पत्रकारिताको धर्म कालोलाई कालो, सेतोलाई सेतो भन्ने हो । आम जनताका लागि सञ्चारमाध्यम जीवनको एउटा अंग बनेको छ । दिनरात सञ्चारमाध्यमले जनतालाई सुसूचित गरिरहने तर, शासक वर्गले ती कुरालाई आत्मसात नगर्दा नेताहरुप्रति आम जनताको आक्रोश बढेको छ ।
आफूले गरेको गल्ती आफैँले सच्याउनुपर्नेमा उल्टै व्यवस्था विरोधीहरुमाथि दोष थोपरिरहेका छन् । सच्चिनुपर्ने आफू हो, कमजोरी आफैँभित्र छ । तर, नेताहरुू आफ्नो आङको भैँसी नदेखेर अरुको आङको जुम्रा कोट्याइरहेका छन् ।
नेपालमा जे जति ठूला भ्रष्टाचार र काण्डहरु छन्, त्यसमा नेताहरु नजोडिएको कुनै एउटा काण्डहरु छैनन् । भ्रष्टाचार सुशासनको बाधक हो । भ्रष्टाचारले शासक वर्गमात्रै होइन, व्यवस्था पनि धरासायी पार्न सक्छ । त्यसैले सच्चिनुपर्ने नेता र शासक वर्ग हुन्, जसलाई जनताले निर्वाचित गरेर पठाएका हुन्छन् । तिनै नेता र शासक बिग्रिएपछि जनता विद्रोहमा उठ्नु अस्वभाविक होइन ।
अन्तमा, राजनीतिलाई मिशन बनाएर पत्रकारिताको यात्रा सुरु गरेको ‘दृष्टि’ सुशासनप्रति प्रतिबद्ध छ । संघीय लोकतान्त्रिक गणतन्त्रको माध्यमबाट नेपाल र नेपाली जनताको समृद्धिका लागि दृष्टि हरपल समर्पित छ । भ्रष्टाचार र कुशासनका विरुद्ध दृष्टिले चौबीसै घण्टा खबरदारी गरिरहने छ । मात्र खाँचो छ, पाठकको माया र विश्वासको ।
सम्पूर्ण पाठकवर्गमा हार्दिक शुभकामना !