Logo
Logo

बन्धक रिहा गर्ने सर्तमा आक्रमण रोक्न इजरायल सहमत


504
Shares

काठमाडौं । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच चार दिन आक्रमण रोक्ने सहमति भएको छ । हमासले पहिलो चरणमा बन्धक बनाएका ५० जनालाई रिहा गर्ने र इजरायलले आक्रमण रोक्ने सहमति भएको हो ।

हमासले चार दिनभित्र बन्धक बनाइएका महिला तथा बालबालिकासहित ५० जनालाई रिहा गर्ने र इजरायलले आक्रमण रोक्ने सहमति भएको इजरायलको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयले भनेको छ, ‘इजरायल सरकार सबै बन्धकहरुलाई घर फर्काउनका लागि प्रतिबद्ध छ । यो उद्देश्य पूरा गर्नका लागि पहिलो चरणको रुपरेखालाई आज सरकारले मन्जुरी दिएको छ । यसअनुसार ५० बन्धक (महिला र बच्चासमेत)चार दिनभित्र रिहा हुनेछन् । यसक्रममा लडाइ रोकिने छ ।’

बुधबार बिहानसम्म चलेको लामो बैठकपछि इजरायलको मन्त्रिपरिषद्ले सो सम्झौतालाई अनुमोदन गरेको बीबीसीले जनाएको छ । बन्धक बनाइएकाहरुलाई रिहा गरिसकेपछि भने हमासलाई सफाया गर्ने सैन्य अभियान फेरि सुरु हुने इजरायलले जनाएको छ ।

सोमबारदेखि नै इजरायल सरकार र हमास युद्धविरामका लागि सहमति नजिक रहेका समाचारहरु सार्वजनिक भएका थिए ।युद्धविराम र बन्दी रिहाइ सम्बन्धी प्रस्ताव इजरायलको मन्त्रिपरिषदबाट पारित भएपछि हमासको कब्जामा रहेका करिब दुई सय जनाको रिहाइ प्रक्रिया सुरु हुने बताइएको छ ।

यसैअन्तर्गत पहिलो चरणमा हमासको नियन्त्रणमा रहेका ५० जना रिहा हुनेछन् । नेपाली युवक विपिन जोशी पनि हमासको नियन्त्रणमा रहेको इजरायल सरकारले जनाएको छ । तर उनको अवस्था थाहा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्