काठमाडौं । एमालेको भ्रातृ संगठन युवा संघ र व्यवसायी दुर्गा प्रसाईं समूहले आयोजना गर्ने प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
काठमाडौंको तीन कुनेमा युवा संघ र बल्खुमा दुर्गा प्रसाईं समूहले गर्ने प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले काठमाडौं उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाएको हो । सुरक्षाका लागि नेपाल प्रहरीका डिआइजीको नेतृत्वमा जोइन्ट अप्रेसन कमान्ड सेन्टर गठन गरिएको छ भने करिब दश हजार सुरक्षाकर्मी परिचालन गरिएका छन् ।
तीन कुने र बल्खुमा हुने प्रदर्शनको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन भइसकेको र सोही प्रयोजनका लागि डिआइजीको नेतृत्वमा जेओसिसी गठन भएको उपत्यका प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता एसएसपी दिनेश मैनालीले बताए ।
उनका अनुसार सेन्टरको संयोजक काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी लालमणि आचार्यलाई तोकिएको छ । जसमा सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सेनाका सात उच्च अधिकारी रहेका छन् ।
तीन कुने र बल्खु क्षेत्रमा सेन्टरकै कमान्डमा सुरक्षाकर्मी परिचालन हुनेछन् । नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका गरि करिब सात हजार सुरक्षाकर्मी फिल्डमा खटिदैछन् ।
यसबाहेक हेडक्वाटर र उपत्यकाभित्रका तीनवटै जिल्ला मातहतका कार्यालयबाट समेत खटिने गरि करिब १० हजार सुरक्षाकर्मी परिचालित हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
त्यस्तै प्रदर्शन हुने स्थान र नारा–जुलुस हुने ठाउँमा ड्रोन क्यामेराबाट निगरानी गरिनेछ । त्यसबाहेक सडक र चोकमा जडान गरिएका सिसिक्यामेरामार्फत पनि नारा–जुलुसलाई निगरानी गरिने प्रहरीले जनाएको छ ।
कार्यक्रमस्थलमा र नारा–जुलुसमा सहभागी हुने समर्थकसँगै सादा पोसाककमा सुरक्षाकर्मी पनि खटिनेछन् । उनीहरूले प्रत्येक समर्थकको गतिविधि निगरानी गर्नेछन् । अवाञ्छित गतिविधि हुने सुइँको पाउना साथ उनीहरूलाई प्रहरीले पक्राउ गर्नेछ ।
सूचना संकलनमा राष्ट्रिय अनुसन्धान विभागका गुप्तचार पनि समर्थकसँगै खटिनेछन् । पोसाकसहित खटिएका सुरक्षाकर्मी सुरक्षाका अग्रपंक्तिमा खटिनेछन् । हतियारसहित खटिने उनीहरूले कार्यक्रममा सहभागी हुने भिभिआइपीको सुरक्षा गर्नछन् ।