काठमाडौं । गृह मन्त्रालयमा रहदाँ विवादित बनेका र शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै तानिएका सहसचिवहरु मन्त्रालयबाट बाहिरिएका छन् ।
गृहबाट बाहिरिनेमा तीन बहालवाला प्रमुख जिल्ला अधिकारी नै छन् । आफ्ना कर्तुत लुकाउन ७ सहसचिव प्रदेश सचिव र अन्य मन्त्रालयमा सरुवा भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा आइतबार मन्त्रिपरिषद्ले ७१ सहसचिव सरुवा गरेको छ । त्यसमा अधिकांश आफ्नो कर्तुत लुकाएर मन्त्रालय परिवर्तन गर्नेहरु परेका छन् ।
केही समय अघि बाँकेमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै मन्त्रालयमा तानिएका विपिन आचार्य मन्त्रालय छोडेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् । हिन्दु र मुश्लिमबीच विवाद हुँदा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै तानिएका आचार्यले गृह मन्त्रालय छोडेका हुन् ।
गृहबाट हुमकला पाण्डे, शिवराम पोखरेल, रमेश न्यौपाने, मदन कोइराला, दीपककुमार पहाडी, छविलाल रिजाल र आचार्य मन्त्रालय छोडेका हुन् । पाण्डे सुनसरी, पोखरेल झापा, रिजाल तनहुँमा प्रमुख जिल्ला अधिकारी थिए ।
पाण्डे माओवादीको आडमा गुल्मी, भक्तपुर, काभ्रे र सुनसरीमा प्रमुख जिल्ला अधिकारी बनेकी व्यक्ति हुन् । उनले मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाको प्रमुखको जिम्मेवारी पनि सम्हालेकी थिइन् । मन्त्रालयमा यो महाशाखा कमाउ महाशाखाका रुपमा परिचित छ ।
पोखरेल लामो समय मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख भएर काम गरेका थिए । गृह मन्त्रालयलगायत मुलुकमभरका गृहमातहतका कार्यालयको व्यवस्थापनको जिम्मा हुने यो महाशाखामा बसेर कागज मिलाइ लुटेको आरोप पोखरेलमाथि लागेको थियो । ओलीको सिफारिसमा झापामा प्रमुख जिल्ला अधिकारी बनेका पोखरेल काभ्रेमा पनि प्रमुख जिल्ला अधिकारी भएर बसेका थिए ।
छविलाल रिजाल वर्तमान सरकारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको आडमा झापा, सुर्खेतलगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारी भएका थिए । तर उनले जुन जिल्लामा बस्दा पनि सबैलाई मिलाउन खोज्दा कुनै कानुन अनुरुपका निर्णय गर्न नसकेको आरोप लाग्ने गर्छ ।
त्यस्तै गृहमा काण्ड परेर मन्त्रालयमा तानिएपछि अन्यत्र सरुवा मिलाएका दुई सहसचिव पनि पुनः सरुवामा परेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री हुँदा राष्ट्रिय परिचय पत्रको सर्भर विदेशी कम्पनीलाई सुम्पने गरी ठेक्का दिएर फसाएका सहसचिव तिर्थराज भट्टराई बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयको सचिवबाट गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयको सचिवमा सरुवा भएका छन् ।
उनी लामिछानेलाई विवादित बनाउने ठेक्काको प्रवन्ध मिलाउने बेलामा राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको महानिर्देशक थिए । लामिछानेलाई फसाउने गरी हतार हतारमा विदेशी कम्पनीलाई सर्भर सुम्पने ठेक्का लागाएपछि उनी मोरङको प्रमुख जिल्ला अधिकारी बनेका थिए । यो काण्ड बाहिरिएपछि मोरङबाट तानेर मन्त्रालयमा जगेडामा राखिएका भट्टराई सेटिङ मिलाएर बागमती प्रदेशको श्रम मन्त्रालयमा पुगेका थिए ।
गृह मन्त्रालयमा सरुवा भएर आउनुपूर्व लामो समय भुमिसुधार मन्त्रालयमा रहेका सहसचिव सुशील वैद्य लालिता निवास प्रकरणमा तानिएपछि दाङको प्रमुख जिल्ला अधिकारीबाट गृह मन्त्रालयमा तानिएको थियो । त्यसपछि उनलाई सामान्य प्रशासन मन्त्रालयले जगेडामा राखेको थियो ।
अहिले उनी पनि माओवादीको सेटिङमा त्यो मुद्दाको टुंगो नलाग्दै सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव भएर गएका छन् । उनी दाङभन्दा अगाडि लमजुङको प्रमुख जिल्ला अधिकारी बनेका थिए ।
त्यस्तै पछिल्लो समय केपी शर्मा ओली प्रधानमन्त्री हुँदा काठमाडौँको प्रमुख जिल्ला अधिकारी रहेका कालिप्रसाद पराजुली सत्य निरुपण तथा मेलमिलाप आयोगबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएका छन् ।
ओलीको सरकार सर्वोच्चको आदेशमा गएपछि पराजुलीले काठमाडौँको प्रमुख जिल्ला अधिकारीको हैसियतमा एमालेबाट फुटेर बनेको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई चन्द्रागिरीमा कार्यक्रम गर्न नदिएर विवादमा तानिएका थिए ।