काठमाडौं । इनर्जी ड्रिंक रेडबुलको उत्पादन नेपालमै सुरु हुने भएको छ । व्यावसायिक घराना खेतान समूहको स्वामित्वमा रहेको सरस बेभरेजले पूर्वी नवलरासीको अमरापुरीमा रेडबुलको कारखाना सञ्चालनमा ल्याएको हो ।
अर्थमन्त्री डा. प्रकाश शरणमहतले मंगलबार कारखानाको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै महतले नेपालको अर्थतन्त्रले लय समात्दै गरेको दाबी गरे । उनले भने, ‘अर्थतन्त्र बाहिर प्रचार गरिएजस्तो नकारात्मक छैन । सबै पक्ष सकारात्मक हुँदै छ ।’
अमरापुरी फ्याक्ट्रीले पहिलो चरणमा आन्तरिक बजारको लागि २५० एमएल क्यानमा रेडबुल उत्पादन गर्ने जनाइएको छ । रेडबुलको स्थानीय रुपमा नेपालमै उत्पादन ब्रान्डको यात्रामा एउटा महत्वपूर्ण कोसेढुंगाको रुपमा रहेको कम्पनीले जनाएको छ ।
करिब १० विघा क्षेत्रफलमा फैलिएको कारखानाबाट दैनिक करिब १५ हजार कार्टुन रेडबुल उत्पादन हुने कम्पनीले जनाएको छ । पूर्वी नवलपरासीस्थित रेडबुल फ्याक्ट्रीमा जर्मन र स्वीस टेक्नोलोजी, स्वचालित उत्पादन प्रविधि, उत्कृष्ट वातावरणीय र सुरक्षा मापदण्ड रहेको कम्पनीको दाबी छ ।
प्रतिष्ठित ब्राण्ड रेडबुल उत्पादन गर्ने नेपाल विश्वको चौथो मुलुक बनेको छ । यसअघि थाइल्याण्ड, भियतनाम र चीनमा रेडबुल कारखाना खुलिसकेको छ ।
रेडबुल थाइल्याण्ड व्यावसायिक घराना योविध्या परिवारको स्वामित्वमा रहेको छ । रेडबुल इनर्जी ड्रिंक नेपालमा पहिलो पटक सन् २०१० मा आयात गरेर बिक्री गरिएको थियो ।