Logo
Logo

भारतमा बन्धक बनाइएका दुई नेपाली युवतीको उद्धार


- दृष्टि न्युज/संवाददाता

0
Shares

परासी, ९ फागुन । करिब ६ महिनादेखि भारतमा बन्धक बनाई राखिएका दुई नेपाली युवतीको गएराति उद्धार गरिएको छ । पश्चिम नवलपरासीस्थित सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको टोलीले माइती नेपाल र भारतीय प्रहरीको सहयोगमा भारतको महाराजगञ्ज जिल्लाको कटरी रोड कम्ताबजारबाट उनीहरुलाई सकुशल उद्धार गरेको हो ।
आफ्ना छोरीलाई बन्धक बनाई राखिएकाले उद्धार गरिदिनु भन्ने युवतीकी आमाको उजुरीका आधारमा उनीहरुलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको र घटनाको थप अनुसन्धान पनि चलिरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । उनले भने, ‘युवती लैजाने राई थरकी महिला र अन्य संलग्नहरुको खोजी भइरहेको छ ।’
उद्धार गरिएका युवती नवलपरासीको बर्दघाटका एकै घरका दिदीबहिनी हुन् । एक महिलाले पसलमा राम्रो काम लगाइदिने भन्दै प्रलोभनमा पारी भारत लगेको तर त्यहाँ कोठामा बन्धक बनाई शारीरिक, मानसिक तथा आर्थिक यातना दिने, अर्केष्ट्रामा नाच्न लगाउने र घरमा आउनसमेत नदिएपछि उनीहरुले घरमा खबर गरेको युवतीकी आमाले बताए । रासस

प्रतिक्रिया दिनुहोस्