Logo
Logo

एमालेको संकल्प यात्राको पूर्वसन्ध्यामा कोशीमा पहिचानवादीको मसाल जुलुस


13.9k
Shares

काठमाडौं । अहिले नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ जारी छ ।

यही मंसिर १४ गते बैतडीको झुलाघाटमा नेपालको राष्ट्रिय झण्डोत्तोलन गरेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले यात्राको शुभारम्भ गरेका थिए । उक्त यात्रा भोलि (मंगलबार)बाट  कोशी प्रदेश प्रवेश गर्दै छ । 

एमालेको संकल्प यात्राको पूर्वसन्ध्यामा कोशी प्रदेशका विभिन्न ठाउँमा पहिचानवादीले मसाल जुलुस निकालेका छन् । पहिचानवादीले आज तेह्रथुमको जिरिखिम्ती, लेगुवा बजार, खोटाङको हलेसीलगायतका स्थानहरूमा कोशी नाम खारेजीको माग गर्दै मसाल जुलुस निकालेका हुन् । 

कोशीमा पहिचानवादीले १० महिनादेखि निरन्तर आन्दोलन गर्दै आएका छन् । ‘प्रदेश नम्बर १ पुनः नामकरण संघर्ष समिति’ले एमालेको यात्रालाई अवरोध गर्नेगरी कार्यक्रम घोषणा गरेको छ ।

घुर्मीबाट यस प्रदेशमा सुरु हुने संकल्प एमालेको यात्रालाई अवरोधका लागि पहिचानवादीले ‘घुर्मी–चिवाभञ्ज्याङ्ग जनजागरण अभियान’ चलाइरहेको छ । जनजागरण अभियानको उद्घाटन गर्दै घुर्मी–ओखलढुङ्गा–सोलु सडकलाई ‘बलबहादुर राई’ मार्गको नामकरणसमेत गरिएको छ ।

एमालेकै अभियानलाई लक्षित गरेर संघर्ष समितिले मध्यपहाडी मार्गमा पर्ने घुर्मी च्याङ्थापु सडक २६ र २७ गते बन्दको आव्हानसमेत गरेको छ । समितिको निर्णय र स्थान जसरी तय भएको छ । त्यसले एमालेसँग आमनेसामने हुन खोजेका संकेत बुझिन्छ ।

तर, पहिचानवादी नेताहरूले भने कुनै दल विशेषविरुद्ध अभियान नभएको दाबी गरेका छन् । कोशी नामकरणको विरुद्धमा आन्दोलनलाई थप निर्णायक बनाउन पहाडी क्षेत्रका गाउँ गाउँमा अभियान थालिएको उनीहरूको दाबी छ ।

गत फागुन १७ गते एमालेका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले तत्कालीन प्रदेश–१ लाई कोशी प्रदेश नामकरण गरेपछि त्यसको भोलिपल्टबाटै पहिचानवादी आन्दोलनमा उत्रिएका थिए । 

विशेषगरि एमालेविरुद्ध पहिचान पक्षधर नेता तथा सामाजिक संघसंस्थाहरू विरोधमा उत्रिएका छन् । आन्दोलनको नेतृत्व आदिवासी जनजाति महासंघले गरिरहेको छ ।

संकल्प यात्रा सुरु हुन चार दिनअघि (मंसिर १० गते) एमाले सचिव योगेश भट्टराईमाथि पहिचानवादीले आक्रमण गरेको थियो । पार्टीको कार्यक्रमका लागि गृहजिल्ला ताप्लेजुङ पुगेका भट्टराईलाई कोशी नामकरणविरुद्ध आन्दोलन गरिरहेका पहिचानवादीले ढुंगामुढा गरेका थिए ।

एमाले सचिव भट्टराई मात्र हैन, अध्यक्ष केपी ओलीसमेत पहिचानवादीको निसानामा पर्दै आएका छन् । केही समयअघि झापा, इलामलगायतका क्षेत्रमा ओलीलाई पहिचानवादीले अवरोध गरेका थिए ।

एमालेका नेताहरूले पहिचानवादीलाई उत्तेजित बनाउने अभिव्यक्ति दिएका कारण पनि उनीहरू तारोमा पर्ने गरेका छन् । एमालेभित्र पहिचानको नाममा पार्टीविरुद्ध आक्रमण हुन थालेको बुझाइ छ । राजनीति रङ्ग दिँदै एमालेले आफ्नो पार्टीका नेताहरूमाथि मात्रै आक्रमण हुने गरेको बताएपनि अन्य दलविरुद्ध पनि पहिचानवादी यसैगरी खनिँदै आएका छन् ।

गत मंगलबार मात्रै ओखलढुङ्गा पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि पहिचानवादीले कालोझन्डा देखाएका थिए । जिल्लामा नवनिर्मित बीपी स्मृति भवन उद्घाटन तथा प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्न ओखलढुंगा पुगेका देउवासहितका नेताहरूलाई पहिचानवादीले नारा–जुलुस गर्दै कालोझन्डा देखाए ।

त्यस्तै आज भोजपुरको आमचाेकमा कोशी प्रदेश सदस्य नथा कांग्रेस नेता विनोद बान्तवा राई पनि पहिचानवादीले कालो झन्डा देखाएका छन् । 

त्यसैगरी माओवादी केन्द्रको कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई पहिचानवादीले लखेटेका थिए । पाथीभरा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा गठबन्धनको जित भएपछि खुसियाली मनाउन ताप्लेजुङ पुगेका आङ्बोलाई जाँदाजाँदै पहिचान पक्षधरले लखेटेका थिए ।

सबै दलका नेता पहिचानवादीको निसानामा पर्ने गरेका छन् । तर, सबैभन्दा बढी एमालेकै नेताहरू पर्ने गरेका छन् । यसको मुख्य कारण हो– पहिचानवादीप्रतिको नकारात्मक अभिव्यक्ति । अन्य दलले भने प्रदेशको नामकरणबारे सोच्न सकिने बताउँदै आएका छन् । सोही कारण उनीहरूप्रति पहिचानवादी अलि लचकजस्तो देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्