काठमाडौं । कृषिमा आत्मनिर्भर बनाउने भन्दै समाजवादी यात्रामा छन् कृषिमन्त्री डा. बेदुराम भुसाल । किसान परिवारबाटै आएका मन्त्री भुसालले किसानको मर्का बुझ्लान भन्ने आम धारणा थियो । तर, मन्त्री भुसालकै कार्यकालमा दुग्घ उत्पादक किसान मर्नु न बाँच्नुको अवस्थामा पुगेका छन् । समयमा किसानले उत्पादन गरेको दूघको भुक्तानी नहुँदा किसानहरू निराश भएका छन् । यस्तै ताल हो भने, सिमेन्ट, छड उद्योगजस्तै डेरी पनि धरासायी हुनेछ ।
दुग्धजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भइसक्यो । त्यो मन्त्रीका कारणले होइन, किसानको मेहनतले हो । तर, मन्त्रीहरूले भाषण गर्छन्– कृषिमा हामीले छलाङ मारेका छौं । दुग्धजन्य उत्पादनमा हामी आत्मनिर्भर भइसक्यौं । अब दुग्धजन्य पदार्थ निकासी गरेर अर्बौं डलर भित्र्याउँछौं । मन्त्रीको कुरो सुनेर सबै दंग पर्छ, किसानको पीडा अर्कै छ । किसानले उत्पादन गरेको दूध बजारमा बिक्री हुन छाडेको छ । तै पनि मिल्क होलिडे भनेर गोलभेँडा सडकमा फालेझैं दूध पोख्नु परेको छैन । स्थानीय डेरी उद्योगले गरिब गाउँलेको हातमुख जोड्नकै लागि दूध खरिद गर्दै आएको छ ।
एक तथ्यांकका अनुसार नेपालमा चार प्रकारका डेरी छन् । त्यसमध्ये १०–१५ वटा ठूला डेरी उद्योग छन् । मध्यम खालका २०–२५ वटा छन् । सानो डेरी गाउँ ठाउँमा छरिएर बसेका छन् । जसको संख्या ४–५ सयभन्दा बढी होला । यी सबै खालका ठूला, साना डेरी उद्योगमा १५ अर्बभन्दा बढीको लगानी छ ।
दुग्ध उत्पादनमा ६ लाखभन्दा बढी किसान परिवार संलग्न छन् । २० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । तर, अहिले दुग्धजन्य उत्पादनको बजार २५ प्रतिशतले घटेको छ । यसको सोझो मार ठूला लगानीकर्ता र मध्यम लगानीकर्तालाई परेको छ । यी डेरी उद्योगले बैंकको ऋण समयमा तिर्न सकेका छैनन् । किसान परिवारलाई समेत भुक्तानी गर्न नसकिएको अवस्था छ ।
सबैले अर्थतन्त्र डामाडोल भयो भन्छन् । आर्थिक मन्दीका कारण दुग्धजन्य उपभोक्ता घट्यो भन्छन् । कतिपयले त लाखौं युवा बिदेसिएकोले आम उपभोक्ता घटेको बेतुकको तर्क पनि गर्छन् । दुग्धजन्य उत्पादन घट्नुको कारण र यसको दीर्घकालीन समाधान मन्त्रीले खोजेका छैनन् ।
डिडिसीसँग मात्रै ४० करोड रुपैयाँ बराबरको धुलो दूध र वटर मौज्दात छ । निजी क्षेत्रसँग ९ अर्बभन्दा बढीको धुलो दूध र वटर मौज्दात छ । यो मौज्दात चानचुने कुरा होइन । जसका कारण डेरी उद्योगहरू उठ्नै नसक्ने गरी थलिएका छन् । कतिपय डेरी उद्योगहरूले वैकल्पिक व्यवसायका विषयमा सोच्न थालेका छन् ।
उत्पादित दुग्धजन्य उत्पादन गोदाममा थन्क्याउँदा कति नोक्सान भएको छ त्यसको तथ्यांक संकलन गरेका छैनन् । दुग्धजन्य उत्पादन तेस्रो देश निर्यात गर्ने नीति सरकारले बनाउन सकेको छैन । जसका कारण दुग्ध उद्योगसँग करिब ९ अर्ब रुपैयाँ बराबरको धुलो दूध र वटर मौज्दात छ । डिडिसीसँग मात्रै ४० करोड रुपैयाँ बराबरको धुलो दूध र वटर मौज्दात छ ।
अन्य निजी क्षेत्रका डेरी उद्योगसँग ९ अर्बभन्दा बढीको दुग्ध पदार्थ मौज्दात छ । यो मौज्दात चानचुने कुरा होइन । जसका कारण डेरी उद्योगहरू उठ्नै नसक्ने गरी थलिएका छन् । कतिपय डेरी उद्योगहरूले वैकल्पिक व्यवसायका विषयमा सोच्न थालेका छन् । दुग्ध व्यवसायीहरू पलायन भएभने त्यसको सिधा असर साना किसान र तिनको परिवारमा पर्छ । गाउँगाउँ, घरघरसँग जोडिएको यो गम्भीर विषयमा समाजवादी मन्त्री भुसालले गम्भीर रुपमा सोच्नुपर्छ ।
दूध बिक्री गरेबापत पाउनुपर्ने करिब ८ अर्ब भुक्तानी किसानले पाउन सकेका छैनन् । किसानबाट उठाएको दूघ बजारमा बिक्री गर्न नसकेर उद्योगको गोदाममै थन्काएर राख्नुपरेको छ । असार १६ गतेदेखि किसानले दुध बिक्री गरेको रकम पाउन सकेका छैनन् । आफ्नै देशमा उत्पादन गर्न सकिने तरकारी, फलफूललगायतका सामग्री आयातमा अर्बौं रुपैयाँ विदेशिएको बेला डेरी उद्योगको संरक्षण गर्न सकिएन भने यसले विकराल स्थिति उत्पन्न गर्न सक्छ ।