काठमाडौं । मोरङ प्रहरीको मिलेमतोमा कपडा अबैध चोरी पैठारी र हुुण्डीको कारोबारी मौलाएको छ । राजश्व अनुसन्धान विभागले केही समय अघि मोरङका एक गोदाममा छापामारी करोडौंको कपडा बरामद गरेपछि तस्करी मौलाएको पुष्टि भएको हो ।
राजश्व अनुसन्धान विभाग पुल्चोकबाट खटिएको टोलीले मातहतको इटहरी कार्यालयमार्फत राजश्व छली गरेको आशंका गर्दै विराटनगर महानगरपालिका वडा ११ मा रहेको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा छापा मारेको हो ।
वर्षौंदेखि कपडाको कारोबार गर्ने सप्लायर्सको गोदाममा भन्सारबाट आयात परिमाण भन्दा बढी मालवस्तु आयात गरी स्टोर गरिएको भन्ने सूचनाका आधारमा उक्त सप्लायर्समा छापा मारिएको राजश्वका अधिकारीहरूको भनाई छ । राजश्वले गत साता सबै गोदामहरू सिल गरी भारतबाट आयात गरि राखिएका सटिङ्गसुटिङका महंगा कपडासहित विभिन्न थरीका अन्य कपडाहरू गोदाममा भएकाले गोदाम सिल गरेको थियो ।
मोरङलगायतका कोशी प्रदेशका सीमा नाकाबाट नेपाल प्रहरीको मिलेमतोमा तस्करहरूले व्यापक मात्रामा तस्करीका सामान वारपार गर्न थालेका छन् । यसबाट दैनिक करोडौंको राजश्व छली त भएकै छ, सीमा सुरक्षामा पनि गम्भीर चुनौती देखा पर्न थालेको छ ।
मोरङबाट अहिले हुण्डी, सट्टेबाजी, जुवा, सुनचाँदी तथा कपडा, खाद्यान्न, रक्सी र गिट्टी बालुवा लगायतको तस्करी फस्टाएको बताइएको छ । कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुखहरूले खटाएका घुमुवासँगको सेटिङमा तस्करहरूले राजश्व छली गरेको स्रोतले जनाएको छ ।
तस्करहरूसँग राम्रो सेटिङ मिलाउन सक्ने खुवी भएकै कारण नेपाल प्रहरीको कोशी प्रदेश कार्यालयले हालै गरेको जुनियर प्रहरीको सरुवामा पनि सोही अनुसारको सेटिङ मिलाइएको थियो । सुगमबाट सुगम र तराई÷मधेशबाट तराई÷मधेशमै अधिकांश प्रहरी कर्मचारीहरूको सरुवा गरिएको थियो ।
तस्करसँग सेटिङ मिलाएका कारण वरिष्ठ सई राजेन्द्र कटवालको कोशी प्रदेश प्रहरी कार्यालयबाट मोरङमै रहेको उच्च अदालतका न्यायाधीश सुरक्षा गार्डमा सरुवा गरि मोरङ जिल्लाको घुमुवाको रुपमा परिचालन गरिएको छ । सई कटवालले प्रदेश प्रहरी कार्यालयका डीआईजी राजेशनाथ बाँस्तोला र मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेल दुवैको घुमुवाको रुपमा कामकाज गरिरहेका छन् ।
उनले आफू मातहत सहायक हबल्दार गणेश श्रेष्ठ, सहायक हबल्दार राजकुमार र सुलभ चौधरी, प्रज रघु यादव तथा असई रुपेश सिंह र उनकै भाई सन्दीप सिंहको कोर टीम बनाएर परिचालन गर्ने गरेका छन् ।
मोरङ प्रहरीका हरेक युनिटमा जिल्लाबाट खटिएका घुमुवाहरुको संयोजन गर्ने र रकम कलम असुल्ने जिम्मा भने कटवालले सहायक हबल्दार गणेश श्रेष्ठलाई दिएको छ । विराटनगर पनि देशकै ठूलो औद्योगिक र व्यापारिक नगरी भएकाले यहाँबाट हुण्डी, सुनचाँदी लगायतको ठूलो तस्करी हुने गरेको छ । पछिल्लो समय चीन लगायत दुबई, हङकङ जस्ता देशहरूबाट सुनचाँदीको अवैध कारोबार फस्टाएको अवस्थामा आईपीएल क्रिकेट, फुटबल लगायतका खेल हुँदा विराटनगरमा सट्टेबाजीको कारोबारमा पनि फैलिएको छ ।
मोबाइल वा कम्प्यूटरमार्फत खेलको सौदाबाजी हुने भएपनि प्रहरीसँगको सेटिङ बिना जोखिम हुने हुनाले यस्ता सट्टेबाजहरुले वरिष्ठ सई कटवालमार्फत लाखौंमा सेटिङ मिलाएर निर्वाध गेम खेलाएको यसमा एसपी पोखरेलको मात्र हैन डिआइजी बाँस्तोलाको पनि संलग्नता रहेको स्रोतको दाबी छ ।
विराटनगरका नामुद सट्टेबाज हुन हंसु जैनलाई पनि प्रहरीले नै संरक्षण गरेको स्रोतले जनाएको छ । यिनले अतिथि सदनमा बसेर धन्दाको संयोजन गर्ने गरेका छन् । यस्तै ठूलो हुण्डीवाला हुन घोगा पुल घर हुने राजेश साह, अख्तर अन्सारी र गणेश ।
यिनीहरुले हुण्डीका साथै सट्टेबाजीमा पनि ठूलो लगानी गर्ने गरेको दावी स्रोतको छ । त्यस्तै तिनपैनीका डारे भनिने र विनोद साह तथा रानी भन्सार नाका बस्ने राजेश खण्डेवाल पनि हुण्डी र सट्टेबाजीका प्रमुख पात्र रहेका छन् । उनीहरुलाई पनि एसपी आफैले संरक्षण गरेको जिल्ला प्रहरी कार्यालयका एक कर्मचारीले बताए ।