काठमाडौं । हवाई सेवामा सुरक्षा प्रमुख शर्त हो । यसमा कुनै पनि सम्झौता हुन सक्दैन । हवाई यात्रालाई सबैभन्दा सुरक्षित यात्रा मानिन्छ । तर, नेपाल वायु सेवा निगमको सुरक्षा प्रणाली नै कमजोर भएको कारण आइकाओले नेपालको जहाज युरोपका देशमा उडाउन प्रतिबन्ध लगाएको छ । यो गम्भीर विषयलाई लिएर नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निगमको अडिट सुरु गरेको छ । आइकाओको प्रतिवेदनमा उल्लेखित त्रुटिहरू नसच्याएमा क्यानले नेपाल वायुसेवा निगमको एओसी स्थागित गर्न सक्छ ।
निगम स्रोतका अनुसार निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफ्ना ‘आउरे बाउरे’ इन्जिनिर पोषक ज्ञवाली र धिरेन्द्र रौनियारलाई बोकेर केही समय अगाडि ब्रसेल्सस्थित आइकाओको हेडक्वार्टर पुगेका थिए । त्यहाँ अधिकारी, ज्ञवाली र रौनियारले निगमको ‘सेफ्टी’ सम्बन्धी ‘प्रिजेन्टेशन’ दिएका थिए । ज्ञवाली निगमका क्वालिटी हेर्ने विभागका प्रमुख हुन् भने रौनियार ‘सेफ्टी’ विभागका प्रमुख हुन् ।
स्रोतका अनुसार उनीहरूले कमजोर ‘प्रिजेन्टेशन’ दिएकै कारण आइकाओले आफ्नो प्रतिवेदनको ७९ र ८० बुँदामा असन्तोष जाहेर गरेको छ । सेफ्टी र क्वालिटी हेर्ने ज्ञवाली र रौनियार निकम्मा र अयोग्य कर्मचारी हुन् भन्ने प्रतिवेदनको आशयबाट बुझिन्छ । निगमको सन्दर्भमा इयूको सेफ्टी अडिट कमिटीले निगमको वर्तमान संगठन संरचना, कार्यपद्धति, आर्थिक एवं प्राविधिक क्षमता, जनशक्ति एवं सेवा प्रवाह गुणस्तर, सोको अभिलेखीकरणलगायत समग्र संस्थागत संरचनामा आमूल परिवर्तन गर्नु संस्थागत सुदृढीकरण अत्यावश्यक रहेको औँल्याएको छ ।
यस्तै, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ), इयूलगायत अन्तर्राष्ट्रिय निकायले सेवाप्रदायक र नियामक एउटै निकाय हुँदा हवाई सुरक्षामा खेलाँची भइरहेको औँल्याउँदै क्यानलाई टुक्र्याएर नियामक र व्यवस्थापक छुट्टाछुट्टै निकाय बनाउन सुझाव दिँदै आएको छ ।
जुलाई २०१२ मा आइकाओले नेपाली वायुसेवाको उडान सुरक्षामा जोखिम बढेको भन्दै सुरक्षा चासोको लिस्टमा राखेको थियो । आइकाओको त्यही अडिटलाई आधार बनाएर इयूले पनि नेपाली वायुसेवालाई कालोसूचीमा राखेको छ । यसबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको बेइज्जत भएको छ भने निगमले वर्षौंदेखि युरोपको बजार गुमाएको छ । नेपाल घुम्न आउने पर्यटक अन्य कम्पनीका जहाजबाट यात्रा गर्नुपर्दा महँगो भाडा तिर्न बाध्य छन् । सिधै निगमको जहाज युरोप उड्न पाएको भए पर्यटन क्षेत्र पनि फस्टाउने थियो ।
निगमको वायुसेवा युरोपको कालोसूचीमा पर्नु देशकै लागि लज्जाको विषय हो । राष्ट्रको प्रतिष्ठासँग जोडिएको नेपाल वायुसेवा निगमको व्यवस्थापन सुधार्ने सरकारको कुनै नीति छैन ।
जुन सरकार आए पनि निगमलाई कामधेनु गाई बनाइरहेका छन् । अहिले पनि निगमको आर्थिक अवस्था कमजोर छ । तर, कमिशन खानकै लागि तीनवटा ट्वीनअटर जहाज खरिद गर्ने तयारी गर्दै छ । टेण्डरमै ट्वीनअटर कम्पनीसँग सेटिङ गरिएको देखिएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले निगमसँग स्पष्टिकरण सोधेको छ ।
निगमको सञ्चालक समितिको माइन्युटमै मन्त्री सुदन किरातीको निर्देशनबाट उक्त जहाज खरिद गर्न लागिएको लेखिएबाट यसमा मन्त्रीको प्रत्यक्ष संलग्नता स्पष्ट हुन्छ । तर, सुशासनको भाषण गरेर नथाक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मौन छन् ।
निगम स्रोतका अनुसार तीनवटा कम्पनीले जहाजका लागि टेण्डर भरेका छन् । तर स्पेकमै ट्वीनअटर जहाजको पाटर््स मिल्ने प्रावधान राखेपछि अन्य कम्पनीले सहभागिताको लागि मात्रै टेण्डर भरेका छन् । ट्वीनअटरका क्षेत्रीय निर्देशक योर्गेश गर्ग पटक–पटक नेपाल आएर कार्यकारी अध्यष अधिकारीसँग भेटेकाले पनि ‘सेटिङ’ प्रमाणित हुन्छ ।