Logo
Logo

स्वास्थ्य सामग्री आपूर्तिमा लुटको धन्दा


945
Shares

काठमाडौं । देशभरका सरकारी स्वास्थ्य केन्द्रहरूको सामग्री आपूर्तिमा विगतदेखि नै ठूलो आर्थिक चलखेल हुँदै आएको छ । शक्ति केन्द्रहरूको आडमा केही व्यवसायीले लुटको धन्दा चलाइरहेका छन् ।

नारायण कार्की र नवराज बस्नेत

शक्ति केन्द्रको आडमा नवराज बस्नेत र नारायण कार्की नाम गरेका व्यापारीले देशभरका स्वास्थ्य केन्द्रहरूको आपूर्तिमा रजगज गरिरहेका छन् । बस्नेत स्वास्थ्य व्यवसायी संघका अध्यक्ष समेत हुन् । बस्नेत र कार्कीले आफ्नो सप्लायर्सबाट स्वास्थ्य सामग्री खरिद गर्न दबाब दिइरहेको देशभरका स्वास्थ्य केन्द्रका प्रमुखहरूको गुनासो छ ।

स्वास्थ्य विभागका एक कर्मचारीका अनुसार बस्नेत र कार्कीले पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडा र माओवादी नेताहरूको नाममा आफूलाई टेन्डर पार्न दबाब दिने गरेका हुन् ।

आफ्नो सप्लायर्सलाई टेन्डर नपारे मुद्दा हालेर सबै खरिद प्रक्रिया नै प्रभावित पार्ने समेत उनीहरूले धम्की दिने गरेका छन् । बस्नेत र कार्की मिलेर नेशनल बायोमेडिकल सप्लायर्स कम्पनी चलाउँछन् ।
देशभरको स्वास्थ्य केन्द्रहरूको काम हत्याउन हात धोएर लागेका बस्नेत, कार्की र उनीहरूको कम्पनी नेशनल बायोमेडिकल सप्लायर्स अहिले पनि विश्व बैंकको कालोसूचीमा छ ।

खरिद प्रक्रियामा गलत काम गरेका कारण बस्नेत र उनको कम्पनी नेशनल बायोमेडिकल सप्लायर्सलाई विश्व बैंकले कालो सूचीमा राखेको छ । विश्व बैंकले नेशनल बायोमेडिकल सप्लायर्सलाई कालो सूचीमा राखेको छ ।

नेशनल बायोमेडिकल सप्लायर्स मात्र नभएर सञ्चालक बस्नेतलाई समेत विश्व बैंकले निरन्तर कालो सूचीमा राखेको छ । यसै कम्पनीका साझेदार कार्की पनि स्वास्थ्य सामग्री आपूर्तिमा गलत काम गरेका कारण प्रहरी नियन्त्रणमा परिसकेका व्यक्ति हुन् ।

बस्नेत र कार्कीले अर्को पनि सप्लायर्स कम्पनी सञ्चालन गरेका छन् । नेशनल बायोमेडिकल सप्लायर्स कालोसूचीमा परेपछि उनीहरूले नयाँ कम्पनी सञ्चालनमा ल्याएका हुन् । अहिले यसै कम्पनीमार्फत उनीहरूले धन्दा चलाइरहेका छन् ।

विश्व बैंकले कालो सूचीमा राखेपछि बस्नेत र कार्कीले जनमुक्ति हेल्थ इन्टरप्राइजेज नामक कम्पनी दर्ता गरेका छन् । यसै कम्पनीमार्फत उपकरण तथा सामग्री खरिद तथा आपूर्तिका लागि सरकारी अस्पताल र स्वास्थ्य संस्थामा दबाब दिने गरेका छन् ।

स्वास्थ्य व्यवसायी संघका अध्यक्ष समेत रहेका बस्नेत र कार्कीले प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र हेटौँडामा आर्थिक वर्ष ०७७–०७८ मा किर्ते कागजात पेस गरेर ठेक्का पारेका थिए । पछि उनीहरूमाथि कारबाही नै भएको थियो ।

बस्नेत र कार्कीको रजगज यतिमै रोकिन्न । उनीहरूले स्वास्थ्य विभागमा आपूर्ति गरेको हेमोडायलाइसिस मेसिनमा समस्या आएको थियो । भरतपुर अस्पतालको शल्य कक्ष सञ्चालनका लागि प्रयोग हुने सामान निर्मलीकरण गर्ने मेसिन सेकेन्ड ह्यान्ड भिराएका थिए । सेकेन्ड ह्यान्ड मेसिन आपूर्ति गरेको विषय अख्तियारमा पुगेपछि हतार–हतार फिर्ता गरेका थिए ।

स्वास्थ्य क्षेत्रको विभिन्न खरिद तथा आपूर्ति प्रक्रियामा बस्नेत र कार्की सम्मिलित कम्पनीको एकपछि अर्को बदमासी फेला पर्दै गएपछि स्वास्थ्य विभागले उनीहरू र संलग्न कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमनको कार्यालयमा सिफारिस समेत गरेका थियो । तर, पावरकै भरमा उनीहरू कालोसूचीबाट जोगिएका थिए ।

प्रतिक्रिया दिनुहोस्