देशको अवस्थाबारे सायदै नागरिक अन्जान छन् । प्रविधिको विकास र सञ्चारको पहुँचले आममानिसलाई राज्यका गतिविधिसँग नजिक बनाएको छ । देशमा हरेक दिन के भयो ? के हुँदैछ ? राज्यसत्तामा बसेकाहरूले के गर्दैछन् ? ति कुरामा जनता जानकार छन् ।
घरमा रेडियो, टिभि र मोबाईल पुगेको कारण जनता सूचनाको यथेष्ट जानकारी छ । यतिबेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार छ । प्रचण्ड प्रधानमन्त्री बनेको करिब एक वर्ष पुग्न लाग्यो ।
प्रचण्ड प्रधानमन्त्री भइसकेपछि स्वयं उनी आफैले इतिहासबाट पाठ सिकेको र यो आफ्नो अन्तिम इनिङका रुपमा चौका–छक्का प्रहार गर्ने बताएका थिए । म चेतिसकेँ भनेर बोलेका पनि थिए । अब मुलुकमा राम्रो काम गरेर आफूप्रति र माओवादी केन्द्रप्रति जनविश्वास बढाउने भनेर भाषण सुनाएका थिए ।
राम्रो गर्छु भनेर प्रचण्डले अनेक पटक भाषण गरेको सुन्दा त्यो बेला नै शंका लागेको थियो, काम गर्नेले भाषण गर्दैनन् । अर्कातर्फ प्रचण्डले प्रधानमन्त्री बन्न हद नाघेर दौडधुप गरेका थिए । तत्कालीन गठबन्धन भत्काएर माधव नेपालहरूलाई समेत पत्तो नहुने गरी केपी ओलीसँग मिलेर प्रधानमन्त्री बने । तर, ओलीसँग सुरक्षित नहुनेदेखेपछि पुनः प्रचण्ड माधव-देउवाको कित्तामा फर्केका थिए ।
दिउँसोको संकेत बिहानीले गर्छ भनेझैं प्रचण्डको सत्तारोहण अस्वभाविक र अतिरिक्त महत्वाकांक्षी थियो । जम्मा ३२ सिटे माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री बनेपछि आफूलाई सफल राजनीतिज्ञ सम्झिनु प्रचण्डको भुल थियो ।
प्रधानमन्त्री बन्नु नै जीवनको सबैभन्दा ठूलो प्राप्ति सम्झिएका प्रचण्डले जसरी भएपनि प्रधानमन्त्री बन्ने र सानो दलले पनि सरकार चलाउन सक्छ भन्ने खालको सन्देश दिए । प्रधानमन्त्री भएपछिका दिनगन्ति नै प्रचण्डका प्रगतिका दिन भए ।
मुलुकले खासै काचुली फेर्न सकेन । जो प्रचण्ड आफैले फेर्न चाहेको देशको काचुली कता छुट्यो छुट्यो । अर्कातर्फ प्रचण्डले प्रत्येक दिन मुलुको वर्तमान व्यतिथिको अन्त्य, भ्रष्टाचारी, दुराचारी, घुसखोरी, दलाल, विचौलिया, सुनतस्करहरूलाई दण्डित गर्ने भाषण भने छुटाएका छैनन् ।
मुलुक आर्थिक रूपमा गम्भीर संकट झेलिरहेका रिर्पोटहरू सुनिदैछन् । आर्थिक संकटको अन्त्य र सुशासनको प्रत्याभूतिका निम्ति मुलुकबासीका नाममा ठोस् कार्यक्रमसहित सम्बोधन गरेर नयाँ आशावाद सञ्चार गर्नुपर्नेमा प्रत्येक दिनका उधेक लाग्दा भाषणको रटानमा व्यस्त छन् ।
प्रधानमन्त्री बन्न प्रचण्डले जे जस्तो बाटो अँगालेका थिए, ति पासाका बारेमा जनतालाई खासै वास्ता थिएन । देउवा, ओली र प्रचण्डलाई सत्ता चाहिएको थियो र छ । तर, जनतालाई चाहिएको राज्यको सेवा हो ।
जनता घुस नदिएर काम होस् भन्ने चाहान्छन् । आरामले काम बनोस्, समयमै काम होस्, पारदर्शी, छिटो, छरितो काम होस् भन्ने चाहान्छन् । राज्यका सार्वजनिक संस्थानहरूबाट प्रवाह हुने सेवा पारदर्शी होस् भन्ने चाहान्छन् ।
देशमै रोजगारीको सिर्जना र उत्पादनका साधनहरूको बजारीकरण होस् भन्नेबाहेक जनताको अर्को चाहाना देखिदैन । यि सवालहरू राज्यको मूल दायित्वभित्रका सवालहरू पनि हुन् ।
यिनै सवालहरूलाई लिएर प्रचण्डले जुन तवरले भाषण गरेका थिए, त्यसअनुरूपका कामगर्न सकेनन् । यहिनेर प्रचण्ड नमजाले चुके । माथि भनिए जस्तै जनतालाई सत्ताप्रति थप घृणित बनाउने अवस्था सिर्जना गर्ने काम स्वयं प्रचण्डको सचिवालय र दलबाट भए । आफ्ना र परायाका आधारमा अनुसन्धानका फाइलहरूको खोजि भए । हुँदाहुँदा प्रचण्डका राजनीतिक सल्लाहकारले राजीनामासमेत दिने अवस्था आयो ।
शरणार्थी प्रकरणमा सरकारले जसरी जनतामा विश्वास जगाएको थियो, त्यसलाई जोगाउन मात्र सकेको भए अहिले प्रचण्डको हाइहाइ भनेको सुन्न पाइन्थ्यो । बिडम्बना, क्रिकेट मैदान पुगेका युवा विद्यार्थीहरूले प्रचण्डकै सामु मुर्दावाद भनेर नारा लगाए ।
कांग्रेस, एकीकृत समाजवादी र जसपा पार्टीका नेता–कार्यकर्ता प्रचण्डप्रति खासै नकारात्मक छन् जस्तो लाग्दैन । मतलव प्रचण्डलाई असहयोग गर्ने खालका देखिदैनन् ।
प्रचण्डको इच्छाशक्ति, दृढसंकल्प, ठोस् दृष्टिकोण नभएकै कारण भ्रष्टाचारका फाइलहरू खुल्न सकेनन् । खुलेका पनि समय बित्दै जादा थन्किदै गए । प्रहरीले पक्राउ गरेका ठूला माछा पुनः राजनीतिको समुन्द्रमा तैरिन थाले । अदालतका आदेशलाई मातदिनेगरी मन्त्रीपरिषदबाट निर्णय भए । रिगल-रेशमहरूलाई सत्ता जोगाउने हतियार बनाउने काम भए ।
भनिन्छ, कम्युनिष्टहरू दुनियाँकै सबैभन्दा राम्रा मान्छे हुन् । तर, नेपालका कम्युनिष्ट भन्नेहरू किन यतिसारो बिग्रेका ? सत्ता, सम्पत्ति र सत्ताका लागि किन मरिहत्ते गर्छन् ? यि सवालहरूमाथि गम्भीर विमर्श गर्ने बेला भएको छ ।
मान्छे बेच्ने, जग्गा बेच्ने, बालुवा बेच्ने, नदी, खोला बेच्ने, आफ्ना दाजुभाई, दिदीबहिनी बेच्ने तर, आफूलाई कम्युनिष्ट भन्न नछोड्ने कस्ता कम्युनिष्ट ? कति स्वार्थी कम्युनिष्ट ? सच्चिन नसक्ने पनि कम्युनिष्ट हुन्छन् ? चेतेँ भन्ने तर, गर्दा अर्कै गर्ने ? विचार र व्यवहारबीचको तादात्म्यता मिलान गर्न पर्दैन ?
प्रचण्ड पहिलो पटक प्रधानमन्त्री बनेका होइनन् । तेस्रो पटक प्रधानमन्त्री बनेको बेला काम गर्ने वातावरण स्वयं आफैले सिर्जना गर्नसक्नु पथ्र्यो । राजनीति, भूराजनीति, राज्य संयन्त्र, हाम्रो स्थितिका बारेमा पहिलो र दोस्रो पटक प्रचण्डले थाहा पाएनन् रे । थाहा नपाउन पाइन्छ । तर, देशको कार्याकारीले पटकपटक थाहा नपाउने छुट हुँदैन ।
सुशानका नारा एकातिर, प्रचण्डको पारा अर्कोतिर हुँदा देशले सहि दिशा लिन सकिरहेको छैन । प्रचण्डसँगै उनको पार्टीका नेता कार्यकर्ताहरू अलिकति पनि पारदर्शी र इमान्दार हुने हो भने अझैं समय घर्किएको छैन ।
सुन तस्करी, एनसेल काण्ड, अन्य पूराना काण्डमा प्रचण्डले आफूलाई सुशासनको पक्षमा छु भनेर पुष्टि गर्ने ठाउँ छ । आफ्नो र अर्काको नभनेर कानूनका आँखाबाट दोषीलाई कारबाही र निर्दोषलाई न्याय दिन सकेको खण्डमा नयाँ आशावादको त्यान्द्रो बाँकी रहन्छ ।