Logo
Logo

आज ‘ग्याल्बो ल्होसार’, नेकपा अध्यक्ष दाहालद्वारा शुभकामना


- दृष्टि न्युज/संवाददाता

0
Shares

File Photo

काठमाडौं, १२ फागुन । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने साँस्कृतिक पर्व ‘ग्याल्पो ल्होसार’ आज विविध कार्यक्रम आयोजनासहित मनाइँदैछ ।
सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले ‘ग्याल्बो ल्होसार’ पर्वले आपसी भ्रातृत्व, मित्रता, सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गर्दै देशलाई आर्थिक समृद्धिमा लैजान सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।
सो पर्वका उपलक्ष्यमा आज सोमबार शुभकामना सन्देश जारी गर्दै उनले नेपाली समाज बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले भरिएकाले अनेक जातीय समुदायसँगको सामिप्यता र सम्मानजनक सामाजिक सद्भाव नेपाली समाजको विशेषता भएको जनाएका छन् ।
‘देशको यही विविधताभित्रको एकता नै नेपाल र नेपालीको मौलिक पहिचान हो । यस पर्वका अवसरमा सम्पूर्ण नेपाली जनसमुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछु’ सन्देशमा भनिएको छ ।
नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४७औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । आज बराह वर्ष पूरा भई सोमबारदेखि मुसा वर्ष शुरु हुने शेर्पा जातिको संस्कृतिका सम्बन्धमा खोज गरिरहेका टीका शेर्पाले राससलाई जानकारी दिए ।
ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ“ राजा उदे गुंग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो । समयक्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता शेर्पाले सुनाए ।
विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । १५ पुसमा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्