काठमाडौं । केही समय अघि भारतीय बजारमा नेपालबाट गएको करोडौं मूल्य बराबरको लागुऔषध बरामद भयो, जुन रुपन्देहीको नाका हुँदै गएको थियो । सो लागुऔषध कबाडीका सामान बोक्ने ट्रकमा राखेर लगिएको थियो । अहिले रुपन्देहीका नाकाबाट ठूलो मात्रामा कबाडीका सामान भारत जान्छ । जुन अन्य सरसामान तस्करीका लागि पनि सजिलो भएको छ ।
सशस्त्र प्रहरीको डन्डास्थित बिओपी र रुपन्देही गणको मिलेमतोमा तस्करी भइरहेको यो एउटा उदाहरण हो । बिओपी डण्डामा डिएसपी किशोर श्रेष्ठ गएपछि अबैध सामान बरामद शून्य भएको छ ।
यसअघि दैनिक सामान बरामद हुने नाकामा अहिले एक हप्ता त के महिनायता नै कुनै पनि अबैध सामान बरामद भएको छैन । ती नाकामा बरु अहिले तस्करी धन्दाका लागि घुमुवा परिचालन गरिएका छन् । ‘गणबाटै घुुमुुवा आउने गरेका छन्’, रुपन्देही गणका एक सिनियर अधिकृतले भने ।
बिओपी र २७ नम्बर गण रुपन्देहीका गणपति दिपक थापाले घुमुवा खटाएको श्रोत बताउंछ । ५ नम्बर प्रदेशका बाहिनिपति डिआइजी अभि खत्रीको प्रत्यक्ष संरक्षणमा घुमुवा परिचालन भएका हुन् । अहिले बाहिनीपति, गणपतिलाई मासिक बुझाउनुपर्ने एक बिओपी कमान्डरले बताए ।
रुपन्देहीबाट डिएसपी श्रेष्ठ र एसपी थापाको मिलेमतोमा भएको तस्करीले सीमा नाघेको छ । यसअघि डण्डामा बसेर व्यापक तस्करी गराएका डिएसपी कृष्ण अर्यालको जस्तै तस्करी अहिले पनि भइरहेको श्रोतको दाबी छ ।
रुपन्देही मात्र होइन नबलपरासीको भुजहवा, महेशपुर नाकाबाट पनि ठूलो मात्रामा तस्करी भएको बताइन्छ । सिद्धार्थ नगरपालिका, शुद्धोधन गाउँपालिका, ओमसतिया, सियारी लगायतका स्थानहरूमा चोरी तस्करी बढ्दो छ ।
नेपाल र भारतको सीमा क्षेत्रमा पर्ने रुपन्देहीको दक्षिणी इलाकामा चोरी तस्करी झन् बढेको भन्दै व्यापारीहरूले सशस्त्र प्रहरी कार्यालयमा उजुुरी गरे पनि डिआइजी र एसपीको ध्यान जान सकेको छैन ।
नवलपरासीस्थित सशस्त्र प्रहरीका एसपी धिरेन्द्र न्यौपानेले ती नाकाबाट व्यापक तस्करी गराएको बताइन्छ । उनको विषयमा सशस्त्र मूूख्यालयमा पटक पटक उजुरी परेपनि प्रवक्ता राजेन्द्र खड्काले ढाकछोप गर्ने गरेका छन् । ‘प्रवक्ताको काम समाचार दिने होइन, तस्करीमा आएका उजुरीलाई मिलाउने भएको छ’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो ।
स्रोतका अनुसार नवलपरासीबाट साइकलबाट होइन अहिले ट्रकमा दिउंसै तस्करी मौलाएको स्रोतको दाबी छ । ती नाकाबाट केराउ, मरिच, चल्ला, छड, सिमेन्ट लगायतको तस्करी हुने गरेको छ । तेस्रो मुलुकबाट आएका मरिच र छोगडा तथा मदिराजन्य सामाग्रीहरू भारततर्फ तस्करी हुुने गरेको छ ।