Logo
Logo

उद्योग वाणिज्य महासंघमा अर्को प्यानल


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १२ फागुन । नेपाल उद्योग वाणिज्य महासंघको भावी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल र किशोर प्रधान मैदानमा उत्रिएका छन् । महासंघका भावी अध्यक्ष शेखर गोल्छाले ढकाल र प्रधानबीच सहमतिको प्रयास नगर्दा यो स्थिति आएको हो । गोल्छाले आफैँसँग वरिष्ठ उपाध्यक्षमा पराजित प्रधानलाई समर्थन जनाएपछि सर्वसम्मत नेतृत्व चयनको वातावरण खल्बलिएको हो । गोल्छा गत फागुन १ गते विराटनगर पुगेर प्रधानको उम्मेदवारी घोषणासभामा उपस्थित भएपछि महासंघभित्र गोल्छाको आलोचना हुँदै आएको छ ।

महासंघको विधान मस्यौदा समितिका संयोजक तथा पूर्वअध्यक्ष चण्डीराज ढकालले विधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित अध्यक्षको व्यवस्था गर्ने प्रस्ताव ल्याएपछि गोल्छा ढकालसँग आक्रोशित बनेका थिए । तर, ढकालले ल्याएको उक्त प्रस्तावविरुद्ध महासंघका सात जना पूर्वअध्यक्ष र वर्तमान कार्यसमिति उभिएपछि उक्त प्रस्ताव तुहिएको थियो । त्यसैको रिस फेर्न गोल्छा प्रधान गुटमा लागेको आरोप छ । प्रधानले फागुन १ गते आफ्नो उम्मेदवारी घोषणापछि ढकाल समूह पनि आफ्नो टिमको उम्मेदवारी घोषणाको तयारीमा जुटेको छ ।

दृष्टिलाई प्राप्त समाचार अनुसार चन्द्र ढकालको प्यानलमा वस्तुगतबाट उमेशलाल श्रेष्ठ, एशोसिएटबाट दिनेश श्रेष्ठ, अखिल चापागाईं, ज्योत्सना श्रेष्ठ र गोपाल खनालमध्ये एक र जिल्ला नगरबाट गुणनिधि तिवारीलाई उपाध्यक्षमा प्रतिस्पर्धा गराइँदैछ भने, प्रदेशको अध्यक्षमा एक नम्बरबाट नरेन्द्र खड्का, भीम घिमिरे र अविनाश बोहरामध्ये एक, दुई नम्बर प्रदेशबाट वीरगन्ज उद्योग वाणिज्य संघले सिफारिस गरेका उम्मेदवार, तीन नम्बरबाट श्रीकृष्ण श्रेष्ठ (काभ्रे) र अरुण सुमार्गी हेटौँडामध्ये एक, चार नम्बर प्रदेशबाट सञ्जीव कोइराला (पोखरा), पाँच नम्बर प्रदेशबाट सुरेन्द्र श्रेष्ठ बुटवल र कृष्ण श्रेष्ठ अर्घाखाँचीमध्ये एक, छ नम्बर प्रदेशबाट निरक केसी र पद्म शाहमध्ये एक र सात नम्बर प्रदेशबाट शंकर बोगटीलाई उम्मेदवार बनाउनेबारे छलफल भइरहेको छ ।

महासंघलाई गुटबन्दीको राजनीतिबाट अलग गर्ने उद्देश्य लिएर वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष बनाउने भनिए पनि महासंघ गुटमुक्त हुन सकेन । त्यसमा सबैभन्दा ठूलो कमजोरी वरिष्ठ उपाध्यक्षको रहेको छ । जुन व्यक्ति वरिष्ठ उपाध्यक्ष भए पनि उसले सबैलाई समेटेर जान सकेको भए गुटबन्दी अन्त्य हुने थियो । तर दुर्भाग्य, जो वरिष्ठ उपाध्यक्ष बन्यो उसैले गुटबन्दी गर्ने हुँदा महासंघभित्र गुटबन्दी कहिले निको नहुने रोगको रुपमा बल्झिएको छ । महासंघको आगामी चैत २९ गते काठमाडौंमा हुने साधारणसभाबाट नयाँ नेतृत्व चयन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्