चिन्ता त्यसको गरिन्छ, जसले आफ्नोपन दिएको हुन्छ । चासो त्यसको रहन्छ, जसलाई नजिक ठानिन्छ । गुनासो त्योसँग गरिन्छ, जसले आशा देखाएको हुन्छ । आलोचना त्यसको गरिन्छ, जोसँग अपेक्षा राखिएको हुन्छ ।
जसले यो समाजलाई बदल्ने भाषण गर्छन् । आफूलाई संसारको उत्कृष्ट दिमाग भएका नेता ठान्छन् । खासगरी, माक्र्सवादी समाजवाद विचारधारालाई आफ्नो वैचारिक रोडम्याप भन्छन् । आमुल परिवर्तनका निम्ति कम्युनिष्ट बनेका हौं भन्छन् । यस्ता वेहद कथनी सुनाउनेहरूका करणी हेर्ने हो भने माक्र्सवादी विचारसँग अधिकांश नेपाली कम्युनिष्टरूको गोरू बेचेको साइनोसम्म मिल्दैन ।
खैर, आँखै अगाडि छरपष्ट घिनलाग्दा प्रवृत्तिलाई नजरअन्दाज गर्दै अझैँपनि नेपाली कम्युनिष्ट आन्दोलन सही दिशामा लैजानुपर्छ भनेर चिन्ता गर्नेहरू पनि छन् । सच्चिने कि सक्किने ? भन्ने गम्भीर प्रश्नसामु उभिएका मूलधारका कम्युनिष्ट पार्टीका आचरण र विचार बीचको मिलन खोज्नु मुर्खता जस्तै बनेको छ ।
समाज बदलिन समाज बुझ्ने हुनुपर्छ । जब समाज बुझ्ने हुन्छ, तब न समाज बदलिन्छ । समाजलाई बुझ्ने गरी आफ्ना विचार र सिद्धान्त सुनाउन छोडेर उल्टै नेताहरू समाजसँग सद्भावी बन्ने नाममा गेरूबस्त्रमा बेरिन पुग्छन् । अनि कसरी समाज बदलिन्छ ? बरू उल्टै यथास्थितिवादी समाजले प्रगतिशील भनिएका नेतालाई नै बदल्दो रहेछ । ठीक आज नेपालको कम्युनिष्ट आन्दोलनमा यही प्रवृत्ति देखा परेको छ ।
एकाध वर्ष पहिले असली कम्युनिष्ट भन्नेहरू आज हेर्दाहेर्दै नवधनाड्यमा रूपान्तरण भएका छन् । दलाल, विचौलिया, घुसखोर बनेका छन् । तर, उनीहरूले आफूलाई आज पनि कम्युनिष्ट नै भन्छन् । योभन्दा वैचारिक स्खलन र पतित अर्को के कुरा हुन सक्छ ?
अहिलेका कम्युनिष्टहरूले देश र जनताको चिन्ता गर्न छोडेका छन् । आजका कम्युनिष्टहरूसँग बलिदानको भावना छैन । त्याग र समर्पणको कुनै गुञ्जायस छैन । इमान्दारिता छैन । बरू उल्टै जनताले चिन्ता गर्नुपर्ने अवस्थामा कम्युनिष्टहरू आइपुगेका छन् । पहिलेका कम्युनिष्टहरू जनताको चिन्ता गर्थे । अहिलेका जनताले कम्युनिष्टहरूको चिन्ता गर्नुपर्ने अवस्था छ । योभन्दा अर्को दुःखको कुरा के हुन सक्छ ?
राजतन्त्र र नेपाली कांग्रेसले नेपालमा कम्युनिष्ट फष्टाउन दिनु हुँदैन भनेर प्रतिबन्ध लगाएको इतिहास साक्षी छ । त्यो संकटको घडीमा पनि जोगिएर आएको कम्युनिष्ट आन्दोलन आज लोकतन्त्र, गणतन्त्र र संघीय व्यवस्थामा किन रक्षात्मक मोडमा पुग्यो ? सोच्ने बेला भएको छ । नेपालको कम्युनिष्ट आन्दोलन बंगालको यात्रामा छ भन्नेमा सायदै दुईमत नहोला । आशावादको पक्षधरहरूले नेपालको कम्युनिष्ट आन्दोलन कसका कारण सकिदैछ भनेर खोजी गर्नुपर्ने अवस्था आएको छ ।
एकतामा बल हुन्छ भन्ने बलको सिद्धान्त मान्छन् । अतः गतिको नियमलाई स्वीकार गर्छन् । कागजमा विश्वमै प्रयोग नभएका सुन्दर अक्षर र विराट शब्दवाणी समेटेर आफूलाई दुनियाँकै असल र मेधावी कम्युनिष्ट किटान गर्छन् ।
तर, व्यवहारमा नेपाली कम्युष्टिहरू छिन्नभिन्न छन् । वैचारिक रूपमै पनि कोही माक्र्सवादी छन् । कोही माओवादी छन् । कोही जबजवाला छन् । जो जहाँ भएपनि कागजमा लेखिएका कुरा कसैका पनि कमजोर छैनन् ।
उदाहरणका लागि २०७८ पुसमा सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक दस्ताबेजमा सांस्कृतिक रूपान्तरणको प्रश्न क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको अनिवार्य सर्त भएको उल्लेख गरेका थिए ।
यस्ता क्रान्तिकारी कथनी नातिनीको विहेको लागि गोकर्ण रिसोर्टसम्म पुग्दा लत्याएको देखिन्छ । क्रान्तिकारी सांस्कृतिक र सामाजिक रूपान्तरण प्रचण्डको दस्ताबेजमा भएर के काम ? अर्कातर्फ समाजवादी नेताहरू छोरीको विवाहका निम्ति हायात पुगेका छन् ।
भएभरका शब्दहरू संगालेर कागज तयार पार्ने । तर, व्यवहारमा उतार्न नसक्दा माओवादी अस्तित्वको रक्षा मोडमा छ । प्रचण्डको राजनीतिक प्रतिवेदनको बुँदा नं. ७ मा भनिएको छ, ‘पार्टीका नेता कार्यकर्ताको दैनिक आचरण, सम्पर्क, सम्बन्ध, जीवनपद्धति, लवाइखुवाई, यौनजीवन, आर्थिक र पारिवारिकसम्बन्ध, विज्ञानको ज्ञान, वर्गचेतना, श्रम उत्पादन, अध्ययन, अनुसन्धान, नेता, कार्यकर्ता र जनताका बीचको सम्बन्ध, वैयक्तिक सामूहिक र सार्वजनिक जीवन आदिका रूपमा पार्टी सांस्कृतिक स्तर र पहिचान पनि व्यक्त भइरहेको हुन्छ ।’
माक्र्सवाद विचार भनेको निजी सम्पत्तिको अन्त्य हो । राष्ट्रिय पुँजीको निर्माण हो । तर, हाम्रा कम्युनिष्ट पार्टीका नेताहरूका सन्तानका विवाह मात्रै हेर्ने हो भने लाजले मुख लुकाएर बस्ने खालको छ ।
अनि वर्गविहीन समाजको कल्पना गर्ने कम्युनिष्ट पार्टीका तहै तहको पार्टी कमिटीले मालिक र दास जन्माइरहेको छ । जो कुरा नेतृत्वले देखेर पनि नदेखेझैं गरिरहेको छ ।
सद्भावी कम्युनिष्ट
नेपालका कम्युनिष्ट विग्रेका भनेकै सद्भावी बन्ने नाममा हो । सद्भावी बन्न, लोकरिज्याइँ र प्रख्यातिका निम्ति जे सुकै गर्नेहरू छन् । चुनावदेखि चुनावसम्मका लागि राजनीति गर्ने तरिका छ ।
भोटका लागि नोटका बिटा बाढ्ने सामथ्र्य सर्वहारा कम्युनिष्टका नेतासँग हुने आठौं आश्चार्य बनेका छन् । कम्युनिष्ट विचारसँग गोरू बेचेको साइनो नमिल्ने बनिसकेकाहरू नै पार्टीको अगाडि पछाडि कम्युनिष्ट जोड्नैपर्ने बताउछन् । कम्युनिष्ट विचारप्रति यतिसारो माया हो भने आफ्ना प्रवृत्तिलाई सुधार गर्न किन नसकेका ?
अर्कोकुरा, शक्तिपिठमा पुगेर सद्भावी बन्ने नाममा माक्र्सवाद लेनिनवादलाई घाममा सुकाउने पनि यिनीहरू नै हुन् । माक्र्स, लेनिन र माओको विचार सुनाएर आफूलाई नास्तिक भन्छन् । तर, सद्भावी बन्ने नाममा कोही रामनाम जप्छन् त कोही भारत र नेपालका धर्मपिठमा गेरुवस्त्रमा बेरिन्छन् । यो सब वैचारिक स्खलन हो । सिद्धान्तप्रतिको धोका हो ।
लोकतन्त्रका मान्यता, समाजवादका मान्यता र समतामूलक समाज निर्माणका कार्यभारलाई लत्याउदै निष्ठाबाट च्युत देखिएको अवस्था छ । कर्मकाण्डी र सद्भावी प्रवृत्तिले चुनावमा भोट मात्रै हो । विचारलाई त कुरूप बनाउने बाहेक अर्को फाइदा गर्दैन । लाजलाई पनि माथखाने गरी ढोङ्को के कुरा गर्नू ।
अन्त्यमा, माथि भनिएझैँ नेपाली कम्युनिष्टहरूले बोकेका विचार साह्रै गरूङ्गा छन् । नेपाली कम्युनिष्टहरूसँग वैचारिक भारी थेक्न सक्ने सामथ्र्य छैन । कोही खानसम्म नपाएर लुरे छन् । कोही लुटेर मोटाएका भुँडे छन् । यिनीहरूको विचार सन्तुलन न त शरीर मिल्छ, न प्रवृत्ति । विचारले कम्युनिष्ट भए पनि आचरण र व्यवहारले यिनीहरू दक्षिणपन्थी, अवसरवादी, यथास्थितिवादी हुन् ।
असली कम्युनिष्ट हुनु र देखिनुबीचको बिरोधाभाषमा बाँच्नु व्यर्थ हुन्छ । सुन्दर नारा जपेर गरिबी, अशिक्षा, अन्धकार, बेरोजगारीको अन्त्य, क्षेत्रीय, वर्गीय, लैङ्गीक उत्पीडनहरूको अन्त्य गर्दै समतामूलक समाज निर्माण गर्ने अभिभारा बोकेकाहरूले सर्वहार वर्गलाई देखाएर चलिरहेको राजनीतिक धन्दा बन्द हुनुपर्छ ।
रूपान्तरण र पुस्तान्तरण आजको आवश्यकता हो । यसले नै नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईँमा लैजान सक्छ । अन्यथा पालो प्रथा कायम राख्ने पशुपति आर्याघाट नपुगेसम्म पार्टी सत्ता र राज्य सत्तामा म, अनि मेरै मान्छे भन्न थालियो भने भिरमा जाने गाईलाई राम राम बाहेक अरू केही भन्न सकिन्न ।