काठमाडौं । निजामती सेवा नियमावलीमा कर्मचारीको सरुवा गर्नका लागि २ वर्ष अवधि पुगेको हुनुपर्ने लगायतका प्रावधान छन् । ती प्रावधान कार्यान्वयन गर्नुपर्ने दायित्व मन्त्रालयको प्रशासनिक नेतृत्व अर्थात् सचिवको हो । तर, नियम पालना गर्नुपर्ने भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दबाडी आफैंले नियम मिचेका छन् ।
सचिव दवाडीले लामो समय काम गरेका नापी र मालपोतका करोडौंपति उपसचिवहरूलाई पहिला तर्साउन सरुवा गर्ने र लेनदेन मिलेपछि पुनः बदर गर्ने गरेका केही उदाहरण दृष्टिलाई प्राप्त भएका छन् । उनले सप्तरी, भक्तपुर, धनुषा र ललितपुर नापीको सरुवामा एक तीरले चार शिकार गरी एक करोड लाभ लिएको आरोप छ ।
सचिव दवाडीले तीन महिनाअघि गएको असोजमा मालपोत र नापी कार्यालयका प्रमुखहरूको सरुवा गरेका थिए । जसमा नापी कार्यालय सप्तरीका प्रमुख शत्रुधनप्रसाद यादवलाई दमक नापी कार्यालयमा सरुवा गरिएको थियो । सचिव दवाडीले सरुवा गरेको तीन महिनामै यादवलाई पुनः सप्तरी नापीकै प्रमुखमा फर्काएका छन् । प्रमुख नापी अधिकृत यादव दोहो¥याएर दुई कार्यकाल नापी कार्यालय सप्तरीमा बसेकाले उनको दमकमा सरुवा भएको थियो ।
सप्तरी नापीको ५ वर्ष प्रमुख भएका यादवलाई दमक पठाइएको थियो । सप्तरीमा धनुषा नापी कार्यालयका प्रमुख सुमनकिशोर मिश्रलाई सरुवा गरिएको थियो । मिश्र सप्तरीमा हाजिर भएर काम गर्न थालिसकेका थिए ।
शत्रुघनप्रसाद यादव दमकमा हाजिर नै भएनन् । तीन महिनासम्म हाजिर नगरी अनुशासनहीन क्रियाकलाप गरेका यादवले सचिव दवाडीलाई प्रभावमा पारी पुनः सप्तरीमै आउन सफल भएका छन् ।
मन्त्रालयले खटाएको ठाउँमा २१ दिनभित्र रमाना बुझी हाजिर हुन नजाने प्रमुख नापी अधिकृत यादवलाई विभागीय कारबाही गर्नुपर्नेमा सचिव दवाडीले ससम्मान पुरानै ठाउँमा फर्काएका छन् । आर्थिक लाभ लिएर उनले अनुशासनहीन कर्मचारीलाई पुरस्कृत गरेका छन् । रमाना बुझी सरुवा भएको कार्यालयमा हाजिर भइसकेका कार्यालय प्रमुखलाई तीन महिनामै पहिला कार्यरत कार्यालयमै फर्काउनु आर्थिक चलखेलकै कारण भएकोमा दुईमत नरहेको भूमिव्यवस्था मन्त्रालयका अधिकारी बताउँछन् ।
प्रमुख नापी अधिकृत यादवले ५ वर्ष सप्तरी नापीको प्रमुख हुँदा कार्यालय सहयोगी रश्मी कर्ण र बिचौलिया बिनोद साहलाई कार्यालय प्रमुखको कार्यक्षमा राखी दलाली गराई घुस असुल्ने गरेका थिए । त्यसरी असुली गरिएको रकम बुझाएर उनी तीन महिनामै सप्तरीमा फर्किन सफल भएका छन् ।
धनुषाबाट रमाना लिई नापी कार्यालय सप्तरीमा हाजिर भएका प्रमुख नापी अधिकृत सुमनकिशोर मिश्रलाई सचिव दवाडीले तीन महिनामै नापी विभागमा काज गरेका छन् । उनी सोझा भएको र आर्थिक चलखेल नजान्ने भएकाले बुझाउन नसक्दा हाजिर भएको २० दिनमै विभागमा थन्किन पुगेका छन् ।
नापी विभाग दरवन्दी रही डिजिटल नापी कार्यालय बनेपामा रहेका प्रमुख नापी अधिकृत सुरेश जोशीको सरुवा नापी कार्यालय कोहलपुर भएकोमा हाजिर हुन नगई उनलाई सचिव दवाडीले नापी कार्यालय धनुषामा काजमा खटाएका छन् ।
सुदूरपश्चिम घर भएका जोशी कोहलपुरमा सरुवा भएको तीन महिनामै धनुषामा सचिवलाई प्रभावमा पारेरै गएका हुन् । धनुषामा नापी प्रमुख भइसकेका जोशीलाई सबै सेटिङको सञ्जाल जानकारी भएको र जानकी मन्दिर, बेला गुठी लगायतका नाममा रहेका जग्गा महन्थसँग मिलेर दर्ता गरी करोडौं खानेमा जोशी पनि मुछिएका थिए ।
जोशी यस्ता उपसचिव हुन् जो ललितपुर, कलंकी जस्ता आकर्षक नापी कार्यालयमा कार्यरत रहेका र अकूत सम्पत्ति कमाउने उपसचिवमा पर्दछन् । उनी पनि खटाएको ठाउँ कोहलपुरमा नजाने अनुशासनहीन कर्मचारी भए पनि पुरस्कृत भएका छन् ।
धनुषामा सरुवा भएका ललितपुर नापीका प्रमुख उमेशकुमार साहको मुद्दा उच्च अदालत पाटनमा हेर्दाहेर्दैमा छ । उनले धनुषामा सरुवा गर्ने निर्णयविरुद्ध रिट दायर गरेका थिए । अदालतले सरुवा बदर गर्ने निर्णय नगर्दै धनुषामा जोशीलाई सरुवा गरी सचिव दवाडीले उमेशकुमार साहसँग पनि लाभ लिएको आरोप छ ।
त्यसो त ललितपुर नापी कार्यालयबाट गएको असोजमा धनुषा नापी कार्यालयको प्रमुखमा सरुवा भएका उमेशकुमार साहले सचिवकै आडमा अदालतमा रिट हाली अन्तरिम आदेशका आधारमा कामकाज गरिरहेका छन् । २ वर्ष नपुगे पनि सरकारी जग्गा दर्ता गरेको, सेवाग्राहीलाई सास्ती दिएको, अनियमितता गरेको र अख्तियारमा उजुरी परेपछि उनलाई ललितपुरबाट सरुवा गरिएको थियो ।
२ वर्ष नपुगी सरुवा गर्दा सामान्य प्रशासन मन्त्रालयबाट सहमति लिनुपर्नेमा सचिव दवाडीले नै चासो नराखेपछि उनले अदालतमा रिट हालेर पुनः ललितपुरमै कामकाज गरिरहेका छन् । उनको मुद्दा हेर्दाहेर्दैमा छ ।
ललितपुर नापी कार्यालयमा सरुवा भएका प्रमुख नापी अधिकृत रमेश ज्ञवालीले भूमि प्रशिक्षण केन्द्र धुलिखेलबाट रमाना बुझे पनि हाजिर हुन नपाई अलपत्र परेका छन् । उमेशकुमार साह भने ललितपुरका सरकारी जग्गा दर्तादेखि सेवाग्राहीलाई सास्ती दिएर घुस असुलीमा तल्लीन छन् ।
त्यसो त एक मारवाडी ब्यापारीको प्रभावमा परी भक्तपुर नापी कार्यालयका प्रमुख रामप्रसाद सापकोटालाई सरुवा गरी प्रदीपकुमार सापकोटालाई लगिएको छ । स्मार्ट सिटीको जग्गामा कित्ताकाट गर्न कानुनतः रोकिएको छ । रामकुमारले स्मार्टसिटीको पचासौं रोपनी जग्गाको कित्ताकाट गर्न नमानेपछि उनलाई मारवाडी ब्यापारीमार्फत् आधा करोड नै खुवाएपछि सरुवा गरी सचिव दवाडीले प्रदीपकुमारलाई लगेर फाष्टट्रयाकमा काम फत्ते गराइदिएका छन् ।
त्यसैगरी, कास्की मालपोतका प्रमुख रामचन्द्र अधिकारीलाई बागलुङ सरुवा गरेको एक सातामै पुनः कास्कीमै ल्याइएको छ । जसमा सुजन लामा नाम गरेका एक जग्गा कारोबारीले २० लाख सचिव दवाडीका नाममा मन्त्रालयका नायबसुब्बालाई बुझाएको स्रोत बताउँछ ।
यी सबै सरुवाको सेटिङ मिलाउने काम भने भूमिव्यवस्था मन्त्रालयका नायबसुब्बा (स्टोरकिपर) युवराज गिरीले गरेका हुन् । भूमिव्यवस्था मन्त्री रन्जिता श्रेष्ठका निजी सचिव बसन्तराज पुरी र स्टोरकिपर गिरी नाताले दाजुभाइ हुन् । यी सबै सरुवामा कलेक्सन गर्ने नासु गिरी मन्त्री श्रेष्ठका पनि निकट हुन् ।
सचिवले मन्त्रीका निकट तिनै नासुमार्फत् सेटिङमा सरुवा गरेको मन्त्रालय स्रोत बताउँछ । नायबसुब्बा गिरी सहरी विकास मन्त्रालयमा ९ वर्ष स्टोरकिपर हुँदा पनि सेटिङ गर्न माहिर खेलाडी थिए । रामकुमारी झाँक्री सहरी विकास मन्त्री हुँदा उनी पीए नै भएर मन्त्रालय नै चलाएका थिए । सीता गुरुङ मन्त्री भएपछि उनको सेटिङको विषय सार्वजनिक भएपछि उनी भूमिव्यवस्था मन्त्रालयमा सरुवा भएका थिए ।