डाक्टरको काम नै विरामीको उपचार गर्नु हो । जुनसुकै विचार बोकेको अभियन्ता, आन्दोलनकारी होस् वा आँखा चिम्लेर राज्यले अह्राएको काम गर्ने सेना, प्रहरी होस् ! उपचारको आशाले आफ्नो अगाडि आइपरेको बिरामीको जानेसम्म उपचार गर्नु डाक्टरको धर्म नै हो ।
पूर्वाग्रहरहित भएर करुणा र प्रेमको भावले उपचार गर्नसक्नु उसको शील हो, सीप हो । देशमा आन्दोलन भइरहेका बेला डाक्टरहरू सधैँभन्दा अझ व्यस्त हुने गर्छन् । एकातिर घाइते आन्दोलनकारीको, अर्कोतिर आन्दोलनकारीले घाइते पारेका मानिसको उपचार भइरहेकै थियो काठमाडौं मोडेल अस्पतालमा । कहिलेकाहिँ त हृदयको ढुकढुकी बढाउने कुनै कथानक चलचित्रको रोमाञ्चक दृश्यमा झैँ ठूलै जोखिम उठाएर पनि उपचार गर्नु पथ्र्यो ।
सडकहरू पनि अस्तव्यस्त भएको बेला थियो । ठाउँ ठाउँमा बम पड्केको खबर आइरहेको हुन्थ्यो । समयले प्रभाव नपारेको कोही थिएन– हामीलाई नपर्ने कुरै भएन । त्यसरी काम गरिरहेको डाक्टरको परिवारसम्मै चन्दा आतंक आइपुग्दा अलि बढी दिक्क हुनु पनि स्वाभाविक थियो ।
त्यहाँमाथि सरोज व्यस्त सर्जन मात्र थिएनन्, अनेक संस्थागत जिम्मेवारीमा थिए । हामी दुवै आ–आफ्नै शैलीमा लोकतन्त्र र शान्तिको प्राप्तिका निम्ति सक्दो योगदान दिने प्रयत्नमा थियौँ । त्यो बेलातिर अझै धेरै जिम्मेवारीले थिचेको थियो ।
म नजिकबाट हेरिरहन्थेँ सरोजलाई– न खानको ठेगान छ, न सुत्नकै । काम, काम, काम…, त्यो पनि मान्छेको जीवन मरणसँग जोडिएको काम ! कहिले उनको काम देखेर, खट्न सकेकोमा गर्व लाग्थ्यो, कहिले भने रिस पनि उठ्थ्यो । बच्चाहरु अझै हुर्किन भ्याएका थिएनन्, बाउ भने घरमा समय दिनै नसक्ने । बच्चाहरु पनि बाबुसँग बस्न पाउँदैनथे । उनीहरूको गनगन पनि आमा भएर म एक्लैले सुन्नु पथ्र्यो ।
रातीराती अस्पतालबाट फोन आइरहन्थ्यो । बिरामी र बिरामीका आफन्तले आफै पनि सिधै फोन गरिरहन्थे । सुत्ने कोठामा वेडसँगै ल्याण्डलाइनको फोन जोडिएको थियो । मोबाइल फोन त अलि पछि मात्र आयो । फोन आउँदा म पनि बिउझन्थें ।
कहिले फोन आउने बितिक्कै दौडन्थे डाक्टर, कहिले लामै कुरा गरेर आफ्नो जुनियर डाक्टरहरूलाई के के बुझाइरहन्थे । फोन आइसकेपछि फेरि सुत्न मलाई गाह्रो हुन्थ्यो । अनिदो भएपछि बिरामीलाई राम्रो होस् भनी कामना गरी बस्थें ।
एकदिन गाढा रातपर्नु अगाडि एउटा फोन आयो, मैले नै उठाएँ । राती आउने फोन सरोजकै होला भन्ने थाहा पाएरै पनि मैले उठाएँ । बुढा त्यो दिन धेरै अपरेशन गरेर आएकाले बेस्सरी थाकेको कुरा मलाई थाहा थियो । उताबाट एक महिलाले हड्बडाएको स्वरमा ‘डा. सरोज धिताललाई खोजेको…’ भनिन् । मैले सरोजलाई दिएँ… उताको स्वर सुन्ने कुरा भएन ।
एकोहोरो सरोजले बोलेको मात्र सुनिरहेँ, अड्कल काटिरहेँ । बिरामी निक्कै नै जोखिमपूर्ण अवस्थामा भएको अनुमान गरेँ । ‘नआत्तिनु’, ‘ल म आएँ…’ भन्दै फोन राखिदिए । र, फेरि अर्को डाक्टरलाई पनि फोन गरे । अब म झनै स्पष्ट भएँ– बिरामी पक्कै माओवादी घाइते हुनुपर्छ भन्ने लाग्यो । मैले डाक्टरसँग केही थप प्रश्न गरिनँ । उनी तुरुन्तै कपडा फेरेर हतारमै अस्पतालतिर लागे ।
त्यतिबेला राज्यको तर्फबाट कडा उर्दी थियो ‘ट्रमा अथवा चोटपटक लागेका कुनै पनि बिरामी अस्पतालमा आउँदा राज्यलाई जानकारी दिनु ।’ तर, सरोज र उनका साथीहरूले यसको प्रतिकार नै गरेका थिए– नोटिस नै निकालेर । मेरो मन अशान्त भयो । तर, राती मैले के नै पो गर्न सक्थें र चिन्ता लिनुबाहेक !
म रात भरी सुत्न सकिनँ । बिहानीपख बल्ल सरोज फर्के, आत्तिएर सोधें– बिरामी र उनको अवस्थाका बारेमा । ‘बिस्फोटनमा परेको रहेछ !’ मलाई दुई–तीन टुक्रा कागजहरू दिएर ‘यो पढ… यसलाई राम्रोसँग राखि राख है ! …’ भने ।
बाङ्गाटिङ्गा अक्षरहरूमा– कुनै अंग्रेजीमा कुनै नेपालीमा, लेखिएको थियो– ‘तपाईं डा. धिताल हो ?… मलाई यो अवस्थाबाट बचाउन सक्नु हुन्छ ?… मैले देशको निम्ति अझै धेरै काम गर्नु छ…, म अहिले राम्रोसँग बोल्न सक्दिनँ… आँखा र कानले पनि राम्रो काम गरेको छैन… म युद्ध भूमिमा रगत बगाउन चाहन्छु, अस्पतालमा हैन …’ आदि लेखिएको थियो ।
मैले ‘यो के हो ?’ भन्ने भावमा उनलाई हेरेँ । उनी भावुक देखिन्थे । विस्तारै त्यो बिरामीको बारेमा बताए– बोल्न पनि नसकेको अवस्थामा डाक्टरको हात समातेर उनको हत्केलामा औंलाले कोरेर आफ्नो कुरा अभिव्यक्त गरेका रहेछन् ।
‘तपाई डा. धिताल हो ?’ भनी सोधिएको प्रश्नको जवाफमा ‘हो’ भनेर बोलेको कुरा उनले नसुनेकोले बिरामीकै हातमा ‘वाइ ई एस्’ तिन अंग्रेजी अक्षर औलाले कोरेर जवाफ दिएपछि अनि कागज कलम मागेर बिरामीले ती अक्षर लेखेका रहेछन् ।
ती बिरामीको बारे सुनेपछि, आफ्नो उद्देश्यमा समर्पणबारे सुनेपछि, र उनीप्रति सरोजकै पनि विशेष स्नेह देखेपछि म पनि उनलाई नै भैट्छु भनेर अस्पताल गएँ । भेटेँ पनि ।
उनको उपचार भयो । कानको, आँखाको समस्या पछिसम्म रहिरह्यो, अहिले पनि त्यस्तै छ अरे । हातका हत्केला र औंलाका हड्डीहरु फुटेका थिए रे । त्यो पनि अझै बाङ्गो टिङ्गो नै छ अरे ।
केही मानसिक आघात पनि पर्यो होला– निकै पछिसम्म पनि सरोज उनको कुरा गरिरहन्थे । केही वर्ष पछि एउटा संस्मरण लेखेका थिए सरोजले– ‘वाइ–ई–एस्’क भन्ने शीर्षकमा ।
त्यो लेख पढेपछि ती बिरामीप्रति सरोजको स्नेहबारे अझै थाहा पाएँ । उनी अझै पनि सरोजलाई ‘दाइ’ नै भन्छन् । सरोज उनीलाई भाइकै रूपमा व्यवहार गर्छन् ।
समाज रूपान्तरणका निम्ति मान्छेको प्रयत्नका विभिन्न सवालमा उनीहरूका बीच वादविवाद हुने गर्छ भन्ने कुरा पनि मलाई थाहा छ । तर, सोँचाईमा जति ठूलो भिन्नता भए पनि मानिस बीचको मैत्री र स्नेह यति गहिरो पनि हुन सक्दोरहेछ भन्ने कुराले भविष्यका बारेमा आशा पनि पलाउँछ मलाई ।
जीवनको उत्तराद्र्धमा पुगिसकेका छौँ हामी । अब हाम्रो निम्ति सबभन्दा महत्वपूर्ण काम त आफै क्लेशमुक्त हुने प्रयत्न गर्दै, जो सकेको राम्रो काम गर्ने हो ।
मानवीय प्रयत्नका सीमा हुन्छन् भन्ने कुरा उमेर र अनुभवले सिकाउँदै छन् । कुनै पनि प्रयत्न शतप्रतिशत सम्पन्न हुनसक्दैन रहेनछ ।
किशोरावस्थादेखिका हाम्रा सबै सपना पूरा भएका छैनन्– यो पनि स्वाभाविक रहेछ । तर, उज्यालोतर्फको यात्रालाई भने निरन्तरता दिने हाम्रो प्रयत्न भने पछिसम्म रहिरहनेछ । र, यो यात्रामा उज्यालो देखाउने बत्ती करुणा र मैत्री नै हुनेछ ।