सानो छँदा सबैले पाउने साझा आशीर्वाद– धेरै पढेर ठूलो मान्छे बन्नु । पाउनेहरूको मात्रै होइन, दिनेहरूको पनि साझा आशीर्वाद हो, यो । त्यसैले सबैको सपना साझा बन्यो– धेरै पढ्ने, ठूलो मान्छे बन्ने ।
सन्तानलाई ठूलो मान्छे बनाउन सबैले स्कुल पठाउँछन् । क्याम्पस पढाउँछन् । तर, कति पढेपछि ठूलो मान्छे बन्छन् ? त्यो थाहा भएन । शिक्षित भने पक्कै हुन्छन् । स्नातक पास गरेपछि हामी शिक्षित ठान्छौँ । र, दीक्षित हुन्छौँ । वर्षेनि हजारौं शिक्षित बन्छन् । र, दीक्षित हुन्छन् ।
तामझामका साथ हुन्छ, दीक्षान्त समारोह । कालो टोपी, कालो गाउन र पहेँलो स्कार्पm लगाइदिएर दीक्षित गरिन्छ । त्यसमा गर्व हामी गर्छौँ । दुनियाँलाई देखाउँछौँ । दीक्षित हुनेहरू टोपी आकाशतिर उडाएर खुशी साट्छन् ।
पुस २ गते दशरथ रङ्गशालामा त्रिभुवन विश्वविद्यालयले ४९औँ दीक्षान्त समारोह आयोजना गर्यो । तामझाममा साथ आयोजित समारोहमा ७३ हजार ७ सय ४९ विद्यार्थी दीक्षित भए । भौतिकरूपमा १२ हजार ४ सय १५ विद्यार्थी सहभागी थिए ।
पढ्नका लागि विदेश जान्छु भन्ने त बहानामात्रै हो । चाहना त राम्रो रोजगारी र अर्थआर्जन हो । शिक्षा गरिखाने हुनुपर्ने हो । तर, हाम्रो शिक्षा उडिजाने मात्रै भएको छ । त्यसैले त हरेक विद्यार्थी विदेश उड्न आतुर छन् ।
उक्त समारोहले विश्व कीर्तिमान कायम गरेको भन्दै प्रचार गरियो । ‘अफिसियल वल्र्ड रेकड्र्स’ संस्थाले प्रमाणपत्र पनि दियो । तर, उक्त संस्थाको आधिकारिकतामै प्रश्न उठेको छ । यसअघि त्यो संस्थाको नाम र काम कसैलाई थाहा दिएन । यस्तो संस्थाको पछाडि प्राज्ञिक संस्था नै लाग्नु लज्जास्पद छ ।
त्रिविको स्थिति कस्तो छ भन्ने ‘टाइम्स हायर एजुकेसन’ले गरेको सर्वेक्षणबाट पनि थाहा हुन्छ । टाइम्स हायर एजुकेसनको प्रतिवेदनअनुसार त्रिविको वरीयतामा १२ सयदेखि १५ सयको सूचीमा झरेको छ । यसअघि आठ सयदेखि एक हजारभित्र अटाउने गथ्र्यो ।
विद्यार्थीलाई देशको शिक्षामा भरोसा छैन । हाम्रो विश्वविद्यालयमा पढाइ कम, राजनीति बढी हुन्छ । अध्यापक, कर्मचारी र विद्यार्थी सबै राजनीतिमा मस्त हुन्छन् । नियमित पठनपाठन हुँदैन । परीक्षाफल समयमै प्रकाशन हुँदैन । भरोसा पनि कसरी गर्नु ? त्यसैले दीक्षान्त समारोहमा सहभागी धेरैले अबको योजना विदेश गएर पढ्ने सुनाए ।
पढ्नका लागि विदेश जान्छु भन्ने त एउटा बहानामात्रै हो । चाहना त राम्रो रोजगारी र अर्थआर्जन हो । शिक्षा गरिखाने हुनुपर्ने हो । तर, हाम्रो शिक्षा उडिजाने मात्रै भएको छ । त्यसैले त हरेक विद्यार्थी विदेश उड्न आतुर छन् । अध्ययनकै लागि हरेक दिन करिब आठ सय विद्यार्थी विदेश उड्छन् । यसले हाम्रो शिक्षाको हबिगत स्पष्ट पार्छ ।
हाम्रो शिक्षाले गरिखाने होइन, मागिखाने जनशक्ति उत्पादन गरिरहेको छ । यही कारण हो देशमा रोजगारी समस्या विकराल भएको । देशमा युवा रोजगारीका लागि भौतारिरहेका छन् । रोजगारीको खोजीमा झण्डै ६० लाखको हाराहारीमा नेपाली युवा विदेश पुगेका छन् । उनीहरूको पठाएको रेमिट्यान्सले धानेको छ, अर्थतन्त्र ।
दशरथ रङ्गशालामा दीक्षित भएको देखेर खुशी भएको मन विमानस्थलको भीड देख्दा आहत हुन्छ । दीक्षान्त समारोह जस्तो भीड विमानस्थलमा दिनहुँ लाग्छ । हाम्रो शिक्षा गरिखाउ भन्ने होइन, विदेश उडिजाउ भन्ने खालको छ । चोक र गल्लीहरू विदेश उडाउने विज्ञापनले भरिएका छन् । आकर्षक शैलीमा देखिन्छन् ‘एजुकेसन कन्सल्टेन्सी’का बोर्डहरू ।
साँच्चै हाम्रो उत्तम र अन्तिम विकल्प विदेश पलायन नै हो ? बेरोजगारी उत्पादन गर्ने हाम्रो शिक्षा कस्तो ? कहाँ चुक्यौँ हामी ? आफ्नै माटोमा कहिले भविष्य हुर्काउने ? जापान र कोरियाको खेतीले कतिन्जेल धान्ने ? अमेरिका र अस्ट्रेलियामा गरेको दुःखले कतिको भविष्य चम्काउने ? कतार र साउदीमा बगाएको पसिनाको धाराले कहिलेसम्म प्यास मेट्ने ?
उच्च शिक्षाको गन्तव्य किन विदेश बन्छ ? हाम्रो शिक्षालय र उच्च शिक्षाले विश्वबजारमा प्रतिस्पर्धा गर्न किन सक्दैन ? लाखौँ ऋण काढेर पढ्न जाने कि कमाउन ? साहुको ब्याज घटाउने कि ज्ञान बढाउने ? हाम्रो शिक्षाले गरिखाने बनाउन किन सकेन ? श्रम र सीपका कुरा पाठ्यक्रममा किन राख्न सकेनौँ ? गरिखाने शिक्षा दिन नसक्नुको जिम्मा कसले लिने ?
हाम्रो शिक्षाको हविगत– परीक्षामा कति अंक आयो ? कति कक्षा पास भयो ? तर, के पढ्ने ? केका लागि पढ्ने ? किन पढ्ने ? पढेर के हुन्छ ? पढिसकेपछि के गर्न सकिन्छ ? यो विषयमा किन ध्यान जान सकेन ?
दूध कहाँबाट आँउछ भन्दा डेरीबाट भन्ने भइसके विद्यार्थी ! गाई भैँसीबारे जानकारी छैन । सैद्धान्तिक ज्ञानले मात्रै पुग्दैन, व्यवहारिक ज्ञान चाहिन्छ । शिक्षाले व्यवहारमा परिवर्तन ल्याउनुपर्छ । माछा किनेर खुवाउने होइन, माछा मार्न सिकाउने हुनुपर्छ । दैनिक जीवनमा काम लाग्ने हुनुपर्छ । कुनै व्यक्तिको प्रमाणपत्रको प्राप्ताङ्कभन्दा पनि उसको बानी व्यवहार, चालचलन र चरित्रका आधारमा गुणस्तरीय शिक्षा परिभाषित हुनुपर्छ ।
विदेश यात्राको प्रक्रिया र प्रायोजन फरक होला । तर, मूल उद्देश्य भनेको रोजगारी र अर्थआर्जन नै हो । पढेलेखेका पनि विदेश । अरु युवा पनि विदेश ।
देश बनाउने ठेक्का लिने राजनीतिक दल सत्ता केन्द्रित भए । उनीहरू कार्यकर्ता बनाउनमा व्यस्त छन् । देश र जनताको चिन्ता गर्ने उनीहरुलाई फुर्सद छैन । हरेक युवालाई रेमिट्यान्स देख्छन् । अनि कसरी रोकिन्छ विदेश जानेको लर्को ? नेपालको शिक्षालाई विश्वसनीय कसले बनाउने ? स्वदेशमै रहनेलाई रोजगारी कसले दिने ?
हुन त देशमै विभिन्न पेसा तथा व्यवसाय गरी आत्मनिर्भर भएर बाँच्ने आधार पनि छन् । तर, हामी सकारात्मक हुन सकेका छैनौँ । आफ्नै देशभित्र अलिकति पनि दुःख, धैर्य र लगनशील हुन जानेनौँ ।
युवाशक्ति पलायनले मुलुकको विकासमा प्रत्यक्ष असर परिरहेको छ । देशको आर्थिक समृद्धि चाहने हो भने राज्यले युवाशक्तिलाई नेपालमै अवसर दिएर पलायनबाट रोक्न सक्नुपर्छ । शिक्षालाई गरिखाने बनाउनुपर्छ ।
शिक्षा जीवनको मेरुदण्ड हो । शिक्षा ठीक भयो भने सबै ठीक हुन्छ । व्यक्ति, परिवार, समाज र राष्ट्र ठीक हुन्छ । शिक्षा ठीक भएन भने केही ठीक हुँदैन । शिक्षा बिग्रियो भने सबथोक बिग्रन्छ । शिक्षा सुध्रियो भने सबथोक सुध्रिन्छ ।
शिक्षा सारा समस्या हो र, समाधान पनि । शिक्षाकै कारण हामी विश्व समुदायमा पछि परिरहेका छौँ । शिक्षा भनेको प्रमाणपत्र होइन । सोच, बुद्धि, विवेक, नैतिकता, इमानदारिता इत्यादि हो । देशलाई समृद्धिको यात्रामा अघि बढाउन राज्यले गरिखाने शिक्षातिर ध्यान दिनैपर्छ । शिक्षाले अहिलेसम्म अँगाल्न नसकेको पाटोलाई उजागार गर्नुपर्छ । यसतर्फ सरोकारवाला सबैको ध्यान जान जरुरी छ ।