Logo
Logo

प्रधानमन्त्री र अर्थमन्त्रीबीच भनाभन


12k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महतबीच भनाभन भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकमा उनीहरू बीच नेपाल विद्युत प्राधिकरणले उद्योगहरूको लाइन काटेको विषयमा भनाभन भएको हो ।

डेडिकेटेड र ट्रंकलाइनको विषयमा देखिएको विवाद समाधान नहुँदै नेपाल विद्युत प्राधिकरणले उद्योगहरूमा लाइन काटेपछि दर्जनभन्दा बढी ठूला उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै अर्थमन्त्रीले प्रधानमन्त्रीलाई समस्या सुल्झाउनुपर्ने बताइरहँदा प्रधामन्त्रीले जसरी पनि बक्यौता तिर्नुपर्ने बताएर अर्थमन्त्रीलाई हप्काएका थिए ।

नेपाल विद्युत प्राधिकरणले २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता रहेको भन्दै २३ उद्योगको बिजुली काटिसकेको अवस्थामा हामीले हस्तक्षेप गर्न मिल्दैन भन्दै प्रधानमन्त्री जिम्मेवारीबाट पन्छिन खोजेका थिए । तर, अर्थमन्त्री महतले निर्यातजन्य उद्योगहरू नै बन्द हुने अवस्था रहेको बताउदै चाँडो समस्या सुल्झाउन आग्रह गरेका थिए । प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री महतबीच मन्त्रिपरिषद बैठकमा भनाभन भएको यो दोस्रो पटक हो । यसअघि मंसिर २८ मा पनि प्रधानमन्त्री र अर्थमन्त्रीबीच भनाभन भएको थियो ।

सिमेन्ट, डन्डी र धागोजस्ता निर्यात गर्ने उद्योगहरू नै बन्द गरिएपछि अर्थमन्त्री डा. महत असन्तुष्ट बनेका छन् । अर्थमन्त्री महतले हजारौँलाई रोजगारी दिने तथा निर्यातमार्फत डलर ल्याउने उद्योग सानो विवादमा नै बन्द गर्नु गलत भएको भन्दै प्रधानममन्त्री प्रचण्डसँग असन्तुष्टी व्यक्त गरेका थिए ।

निर्यात गर्नका लागि भएका केही उद्योगलाई पनि बन्द गर्नुले संसारभर सन्देश राम्रो नजाने भन्दै तत्काल समाधान गर्न अर्थमन्त्री महतको आग्रह थियो ।

विवादको समाधान निकाल्नुपर्नेमा एकसातादेखि उद्योग बन्द गर्नुले लगानी सम्मेलनमा असर पार्ने भन्दै समाधान निकाल्न मन्त्री महतले आग्रह गरेका थिए । तर, प्रधानमन्त्री प्रचण्डले समाधान निकाल्ने भन्दा समस्या बल्झाउने काम गरिरहेको स्रोतको दाबी छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा समस्या समाधानको लागि उच्चस्तरीय समिति गठन हुने अपेक्षा उद्योगीले गरेका थिए । तर, सोमबारको बैठकमा कुनै पनि निर्णय भएको छैन ।

प्राधिकरणले बक्यौता बाँकी रहेका ६१ वटै उद्योगको बिजुली काट्ने घोषणा गरिसकेको छ। ट्रंक र डेडिकेटेड लाइनको बक्यौता नतिरेको भन्दै अघिल्लो साताको शुक्रबारबाट लाइन काट्न थालेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गएको शुक्रबार मध्यरातमा थप १४ उद्योगको लाइन काटेका थिए । यो विवाद अहिले निकै पेचिलो बन्दै गएको छ । जसले गर्दा प्रधानमन्त्री प्रचण्ड बाहिर प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई दोष थोपरेर आफू पन्छिन खोजिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्