इश्वी सन् २०२३ सदाका लागि बिदा भएर सन् २०२४ हाम्रो सामुन्ने आइपुगेको छ । यतिबेला एकातिर सन् २०२३ मा के भयो भन्ने मूल्यांकन जारी छ भने अर्कोतिर सन् २०२४ मा के होला भन्ने आँकलन गरिदैछ । हुन त नेपालमा अझै पनि यस्तो मूल्यांकन विक्रम संवत्को बेला गर्ने सनाततन छ । यद्यपि, बढ्दो विश्वभूमण्डलीयकरणको युगमा इश्वी संवत्मा पनि यस्तो मूल्याङ्कन गरिराख्दा खासै फरक नपर्ला ।
सन् २०२३ को सुरूमा नेपालमा जुन विधि र प्रकियाबाट सरकार बनेको थियो, त्यो हेर्दा नेपाल अस्थिर राजनीतिको डरलाग्दो सुरूङमा पस्ला कि भन्ने भय थियो । तर, सन्तोषको कुरा त्यस्तो भएन । अनुमानबिपरित प्रचण्ड सरकारले एक वर्षे कार्यकाल पूरा गर्यो ।
हो, यो एक वर्षमा जनताको अपेक्षाअनुसार सरकारले काम गर्न सकेन तर सरकार गिराउने र बनाउने तेलकासा यस बिचमा चलेको भए यति पनि हुने थिएन । अर्थात्, मुलुक थप राजनीतिक अस्थिरतातिर धकेलिदा देशबासीले अहिले पाए जति शान्ति र चयन पनि पाउँने थिएनन् ।
वर्ष २०२३ मा देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुबै कोणबाट अरू खराब हुनबाट जोगियो, उपलब्धि यति नै हो । घिस्रिएरै भए पनि देश अगाडि बढिरहेकै छ । यद्यपि, यस बिचमा यसलाई पछाडि फर्काउन अनेक किसिम र कलेबरका प्रयास नभएका हैनन् ।
राजनीतिको कुरा गर्दा, वर्षको सुरूमा नयाँहरूको जुन फूर्ति थियो, त्यसमा ब्रेक लाग्न १२ महिना पनि लागेन । त्यतिबेला उदाएका तीन राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीमा चिसो पानी खनिइसकेको छ । हिजो यी दल र यिनका नेतालाई मुक्तिदाता ठान्ने आधा जति धरातलीय यथार्थमा फर्किसकेका छन् । वास्तवमा जसलाई मुक्तिदाता ठानिएको थियो, उनीहरू सामान्य नेता पनि थिएनन् । उनीहरू खासमा छिट्टै तात्ने र सेलाउने प्रकृतिमा रमाएर निराशा, कुण्ठा र हतासामा बाँचिरहेका ‘नो भोट’का चुनाव चिन्ह थिए ।
नयाँ निक्कै मात्रामा साइजमा त आए । तर पुराना अझै पनि सच्चिने मुडमा देखिएनन् । जेका लागि २०७९ को आमचुनावमा दण्डित भएका थिए, अझै पनि उनीहरू तिनै गल्ती दोहोर्याइरहेका छन् । फेरि पनि जनताको मन र मत जित्ने काम गरिरहेका छैनन् । तर, यस बीचमा नयाँ पनि छिट्टै पुरानाजस्तै भएर सबै मुला संखमुलकै रहेछन् भन्ने दृष्टान्त दिए । यसले नयाँप्रतिको आकर्षण र विश्वास स्खलित भएको छ ।
अर्थतन्त्रको कुरा गर्दा नेपाल श्रीलंका नै भयो भन्ने खालको ठूलो त्रास थियो, तलव भत्ता पनि खुवाउने अवस्था छैन भन्ने खालका मिडिया ट्रायल भएका थिए । तर, यो एक वर्षले त्यस्तो तन्नम अवस्था नरहेको देखायो ।
रेमिट्यान्स अर्थतन्त्रबाट गुज्रिरहेको नेपालको वास्तविकता त्यस्तो थिएन र हैन पनि । नेपाली कामदार बाहिर गैरहेकै छन्, पैसा पठाइरहेकै छन् । नेपाललाई अनुदान आएकै छ, ऋण पत्याइएकै छ । यसैबीच अमेरिकी डलरको अनुपातमा नेपाली मुद्रा अवमूल्यन पनि भएको छ । यस्तो अवस्थामा नेपालको अर्थतन्त्र खस्किए पनि तन्नम नै हुने अवस्था थिएन । नभन्दै तन्नम भएन पनि ।
सुशासनको कोणबाट हेर्दा नेपाल अरू खस्कियो । जस्ले जति सक्छ, लुट्नुपर्छ भन्ने एक किसिमको सामाजिक मान्यता बन्यो । कसैले मिलाएर लुटे, देखिएन । कसैले मिलाउन नजानेर जबर्जस्ती लुटे । यसरी लुट्नेमध्ये नगण्य ‘अभागीहरू’ कारबाहीको दायरामा आए । त्यहाँ पुगेर पनि पैसा हुनेहरू सेटिङ मिलाएर उम्के । अपवादका रूपमा नहुनेहरू कारबाहीका भागिदार भएका छन् ।
भ्रष्टाचार नेपालको राष्ट्रिय चरित्र बनेको छ । कुनै पनि सार्वजनिक पद वा जिम्मेवारीमा रहेको व्यक्तिले तदअनुसार आचरण नगर्नु भ्रष्टाचार हो । नेपालमा यस्तो गर्ने को छैन भन्दा पनि को छ भनेर खोज्नुपर्ने स्थिति छ । जब देश थेसिसले हैन, एन्टी थेसिसले पनि चल्नुपर्ने हुन्छ, त्यस्तो देशको मूल्य, मान्यता, आदर्श केही नै बाँकि हुदैन । अहिले नेपाल त्यही रसातलतिर धकेलिदै छ ।
हुन त नेपालमा आदर्शको कुरा गर्नेको अभाव पनि छैन, छन् त्यस्तो कुरा गर्नेहरु पनि । तर, जसले अवसर पाएको छ, त्यो पाउने बित्तिकै उसले कित्ता परिवर्तन गरेर लुटेकै छ । त्यस्तो देख्दा लाग्छ, जो लुट्न पाइरहेका छैनन्, उनीहरू लुट्ने औकात बनाउन लागिरहेका छन्, जसले औकात बनाए उनीहरू लुटिरहेका छन् । केही त होलान्, साँच्चै नै आदर्शवादी पनि तर उनीहरू निम्छरा छन् ।
समाजको कुरा गर्दा नेपाली समाज अरू बिथोलिएको छ । पूर्वीय मूल्य, मान्यतामाथि डोजर चलाइएको छ । पश्चिमी मान्यताको महिमामण्डन जारी छ । तर, त्यो मान्यता अंगाल्नका लागि चाहिने सोच र कोणको जोहो भैसकेको छैन, स्रोत र साधन व्यवस्था गर्ने त धेरै टाढाको कुरा भयो । जस्ले गर्दा नेपाली समाज न हाँसको चाल न बकुल्लाको चालको अवस्थामा छ ।
नेपाली युवाहरू विदेशिने क्रम चुलिएको छ । मिडिया हुन् वा विचार निर्माता, सबैले एउटै एजेण्डा सेटिङ गरेर भाष्य बनाइरहेका छन् कि नेपालमा केही नै हुँदैन । एक दशकयता रोपिन थालेको बन्सो अहिले फैलिएर नेपाली समाज आक्रान्त बनेको छ । जसले जहाँ जाने हैसियत बनाउँछ, ऊ त्यतातिर लागेको छ । विकसित देशतिर जाने हैसियत बनाएका उतै बस्ने अतिरिक्त हैसियत बनाउँन लागिपरेका छन् ।
त्यो हैसियत नभएर खाडी मुलुक, मलेसिया, इजरेललगायतका देशमा जानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्र घिसारिरहेका छन् । त्यसबापत यी लाठेहरूका जीवनसाथी र परिवारमा देखिएको सामाजिक विचलन अनुमानबाहिर पुगेको छ । यद्यपि, त्यसलाई सकेसम्म छोप्ने प्रयास जारी छ ।
नेपालीहरूको संख्यामात्र बाहिरिएको छैन, समस्याको संख्या पनि बाहिरिएको छ । एक किसिमले भन्ने हो भने नेपाल मिनी नेपाल भएर बाहिरिएको छ । नेपालमा जे जस्ता समस्या छन्, ती सबै समस्या नेपाली डायस्पोरामा हुबहु दोहोरिएका छन् । रूसी सेनामा भर्ती भएर नेपाली मरेका छन्, इजेरल–हमास युद्धमा नेपाली मारिएका छन्, बन्धक बनेका छन् । यी समस्याहरूको सम्बोधन नेपाली बुता बाहिरको छ ।
यही वर्ष विदेशी नागरिकता लिइसकेका नेपालीका लागि गैरआवासीय नेपाली नागरिकताको कानूनी व्यवस्था गरियो । यसबाट वंशजको नागरिकताको निरन्तरता चाहने पक्ष खुशी नभए पनि आफ्नो जन्मभूमीसँग आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध मात्र राख्न चाहनेले राहत महसुस गरेका छन् ।
केहीले नेपाल पुगेरै यस्तो नागरिकता लिए पनि उनीहरूले झन्झटिलो प्रक्रिया ब्यहोर्नु परेको दुखेसो गरेका छन् । विदेशी नियोगबाट दिने कुराको त कुनै चाँजोपाँजो मिल्न नै सकेको छैन । यसका लागि संगठित आवाज उठाउनुपर्ने गैरआवासीय नेपाली संघ विभाजित भएको छ । यसका अगुवाहरू गैरआवासीय नेपाली अभियानलाई आआफ्नो प्राइभेट लिमिटेड कम्पनी बनाउन उद्दत छन् ।
तस्करी नेपालको घाउ भएको छ । लागूपदार्थ र सुनमात्र हैन, अब त संस्थागत रूपमै मानवतस्करी पनि सुरू भएको छ । यसको नाङ्गो नाँच यसै वर्ष देखियो । त्रिभुवन विमानस्थलमा मात्र फल्ने सुन यो वर्ष जतासुकै फल्यो । केजीमा फल्थ्यो, यो वर्ष त क्विन्टलमै फल्यो । पहिला पहिला अरूतिरबाट आउँथ्यो लागूपदार्थ, यस वर्षदेखि त अमेरिकाबाटै सिधै प्रवेश गर्न थाल्यो । सबैभन्दा घिनलाग्दो दृश्य त सिंगै राज्य लागेर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खेलको पर्दाफास भयो । यसले नेपालमा सबैखाले तस्करीको संरक्षण यो वा त्यो रूपमा राजनीतिक दल, तिनका नेता र अन्ततः राज्य संयन्त्रबाटै भैरहेको देखियो ।
प्राकृतिक प्रकोप पनि नेपालको स्थायी दुःख हुँदैगएको छ । यस वर्ष पनि पश्चिम नेपालले भूकम्प सामना गर्नुपर्यो । ठूलो जनधनको क्षति भयो । यस्ता प्रकोपहरूको सही सम्बोधन गर्ने हैसियत राज्यले अझै पनि बनाउन नसकेको देखियो । बाढी, पहिरो, आगलागी, सडक दुर्घटनाजस्ता परिघटनामाथि पनि राज्यले यो वर्ष पनि मनग्गै पौठेजोरी खेल्नुपर्यो । समग्रमा भन्दा राज्यको डेलिभरी सिष्टम, हैसियत पटक्कै बढेको देखिएन ।
सन् २०२३ मोटामोटी रूपमा यसरी नै बित्यो । अब २०२४ को कुरा गर्दा, यो परिस्थितिमा आनका तान फरक हुने देखिदैन । २०७९ मा पाँच वर्षका लागि आवधिक चुनाव भएकाले आउने वर्ष पनि देश त्यही जनादेशले चल्ने हो । कुनै पनि किसिमको राजनीतिक दुर्घटना नभए अर्को वर्षको अन्तसम्म पनि प्रचण्ड नै प्रधानमन्त्री हुने हुन् ।
सम्भवतः वर्ष २०२४ उनको जीवनकै प्रधानमन्त्रीको अन्तिम वर्ष हुनेछ । उनको जति जति क्षमता हो, गरिसके । अब उनले गर्ने भनेको बढीमा यही ल्याङल्याङ हो । अब उनले राम्रो गर्नेभन्दा पनि नराम्रो नै गर्ने सम्भावना छ । किनकि, अव उनी यो वर्ष आफ्ना सबैको थप दुनो सोझ्याउन लाग्नेछन् । किनकि, पछिल्लो समय प्रचण्डमा जुन किसिमको पारिवारिक मोह देखिएको छ, त्यो लाजमर्दो नै छ । जति नै आलोचना गरे पनि उनी सच्याउनेभन्दा अरू थप्नेतिर गैरहेका छन् ।
ओलीको प्रधानमन्त्री हुने बेचैनी अरू बढ्ने छ । सत्ताबिना पानी बिनाको माछो सरह भएका उनी सत्तारूढ गठबन्धन भत्काएर केही समय भए पनि प्रधानमन्त्री हुन साम, दाम, दण्ड, भेद सबै लगाउनेछन् । तर, अहिलेसम्मको स्थिति देख्दा ओलीको पक्षमा पासा पल्टिने सम्भावना देखिदैन ।
उनी नेपाली राजनीतिमा अरू राजनीतिक दलको विश्वास गुमाइसकेका नेता हुन् । उनीसँग सहकार्य गर्न सामान्यतः कोही पनि तयार हँुदैन । यद्यपि, ओली तीन नेताको सिण्डिकेट बनाएर केही न केही सौदाबाजी भने गरिरहेकै हुनेछन् ।
कांग्रेसभित्रको अन्तरपार्टी गुटगत राजनीति अरू भिरतिर जानेछ । देउवा सुने पनि नसुनेझै गरी पेल्दै जानेछन् । उनलाई बढीमा अरू दुई वर्ष कटाएर अन्तिम दुई वर्षका लागि प्रधानमन्त्री हुनु छ । त्यही बिचमा पत्नी आरजु देउवाका लागि राजनीतिक चाँजोपाँजो पनि मिलाउनु छ । उनी यिनै दुई एजेण्डालाई अर्जुनदृष्टि बनाएर थप शक्ति केन्द्रीकृत गर्न लाग्नेछन् । उनको यो क्रियामा अर्को पक्षले प्रतिक्रिया जनाउँदा कांग्रेस थप विभाजित र कमजोर हुनेछ ।
वर्ष २०२४ राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेका लागि थप सकसपूर्ण हुने छ । सत्तासँग सौदाबाजी गरेर दोहोरो राहदानीको मुद्दा सरकारीस्तरमा मुल्तबीमा राख्न सफल भए पनि रवि कुनै पनि बेला मुद्दा ब्युतेर जेल जानुपर्ने हुनसक्छ । अनेकखाले पर्दा हालेको जीवन बाँचिरहेका रवि अरू नांगिदै जादा रास्वपा थप स्खलित हुनेछ । यो अवस्थामा रास्वपा भनेकै रवि हो भन्ने र ऊ मात्र हैन भन्ने बिचमा चिरा पर्न थाल्ने छ ।
बाँकी राजनीतिक दल र स्वतन्त्रसँग देशको राजनीतिलाई प्रभाव पार्ने हैसियत छैन । यद्यपि ज्ञानेन्द्रको जीवनकालसम्म राजावादी हुँ भन्नेले यो वर्ष पनि अलिअलि हल्ला गर्न छोड्दैनन् ।
प्रस्तुत राजनीतिक पृष्ठभूमीले नै देशको दिशा र दशा तय गर्ने हो । यस्तो स्थितिमा अन्ततः राज्य असफल हुने दिशातिर अगाडि बढ्ने सम्भावना रहन्छ । यसरी हेर्दा नेपाल र नेपालीका लागि वर्ष २०२४ खासै सुदिनको वर्ष होलाजस्तो छैन ।
तर, पनि एउटा प्रिय कामनाचाहिँ गर्नैपर्छ, त्यो के हो भने परिस्थितिले नाटकीय मोड लिओस्, नेपाल समृद्ध र नेपाली सुखी हुने बाटोतिर मोडियोस् । घरदेशमा समृद्धि छायो र सुखका दिन आए भने स्वभावतः परदेशमा बस्ने नेपालीले पनि सत्यम्, शिवम्, सुन्दरमको अनुभूति गर्न पाउनेछन् ।