एजेन्सी । जापानको इसिकावा प्रान्तमा सोमबार गएको शक्तिशाली भूकम्प तथा त्यसपछिका परकम्पका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।
सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पले इसिकावाको बाजिमा सहरमा व्यापक संरचनात्मक क्षति तथा आगलागी भएको छ ।
भग्नावशेष र भत्किएका सडकका कारण खोजी र उद्धार कार्यमा असहजता कायमै छ । अहिलेसम्म क्षतिको यकिन विवरण आउन सकेको छैन ।
भूकम्प प्रभावित क्षेत्र नोटो प्रायद्वीपमा बुधबार बिहान ५.४ र मंगलबार साँझ पनि ४.६ म्याग्निच्युडका दुई ठूला परकम्प गएका छन् । जापान मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम्पीय तीव्रता स्केल सात रहेको र जमिनमा उभिन कठिन भएको थियो ।
स्थानीय सञ्चारमाध्यममा आएका विवरणअनुसार इसिकावाका अधिकारीहरूले सरकारलाई विपत् तथा राहतका लागि ‘सेल्फ डिफेन्स फोर्स’का कर्मचारी पठाउन आग्रह गरेका छन् ।
भूकम्पका कारण स्थल यातायातको पहुँच टुटेका क्षेत्रहरूमा आपूर्तिहरू पुर्याउन हेलिकोप्टर प्रयोग गर्ने तयारी गरेको सशस्त्र बलहरूले जनाएका छन् ।
क्षतिको रिपोर्टसँगै प्रभावित क्षेत्रमा मानिस भत्किएका घरमा फसेको तथा उद्धारको पर्खाइमा रहेको धेरै घटना आइरहेको नगरपालिका अधिकारीहरूले जनाएका छन् ।
जेएमएले भूकम्पपछि जापानी समुद्रमा राखिएका सुनामीसम्बन्धी सूचनाहरू हटाएको छ । यद्यपि, मौसम अधिकारीहरूले अर्को दुई–तीन दिनसम्म शक्तिशाली परकम्प आउन सक्ने चेतावनी दिएका छन् ।