यतिबेला हामी १०औँ महाधिवेशन गर्ने बिन्दुमा उभिरहेका छौँ । १०औँ महाधिवेशन किन भनिरहेका छौँ भने, २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको उत्तराधिकारी हामी हौँ । नेपाल कम्युनिष्ट पार्टीको इतिहासमा विभिन्न बेलामा यस्ता समयहरू आएका छन्, जतिखेर हामीले नयाँ क्रान्तिकारी धारलाई अङगाल्दै विद्यमान पार्टीबाट विद्रोह गरेर नयाँ पार्टी बनाउनुपरेको थियो । हामीले आफ्नै जीवनकालमा गरेको जस्तो विद्रोह हामीभन्दा पुराना पिँढीका नेताले पनि गर्नुभएको थियो, इतिहास साक्षी छ ।
००६ सालमा कम्युनिष्ट पार्टी स्थापना गर्ने संस्थापक नेता कमरेड पुष्पलालले तत्कालीन समयको नेकपाबाट विद्रोह गर्नुपरेको थियो । तत्कालीन पार्टीको २०१९ सालमा तेस्रो महाधिवेशनबाट निर्वाचित महासचिव तुल्सीलाल अमात्य हुनुहुन्थ्यो । तर, त्यो पार्टीबाट कमरेड पुष्पलाल अलग हुनुभयो र नेपाल कम्युनिष्ट पार्टीकै नाममा उहाँले अर्को पार्टी गठन गर्नुभयो । त्यसलाई नेपाल कम्युनिष्ट पार्टीको निरन्तरता प्रदान गर्नुभयो र तेस्रो सम्मेलन गर्नुभयो ।
कमरेड मनमोहन अधिकारीले पनि तेस्रो महाधिवेशनपछि अर्को समूह खडा गर्नुभयो । त्यसपछि निर्माण गरिएको पार्टीलाई संचालन गर्दै उहाँ अगाडि बढ्नुभयो ।
२०३१ सालमा नेकपाको चौथो महाधिवेशन कमरेड मोहनविक्रम सिंहको नेतृत्वमा सम्पन्न भयो । र, तत्कालीन समयको नेपाली राजनीतिमा त्यो पार्टीलाई चौथो महाधिवेशन समूह भनेर चिनिएको थियो । त्यो पार्टीभित्र पनि फेरि विद्रोह भयो र नेकपा माओवादी पार्टी बन्यो । त्यसले जनयुद्धको बाटो समात्यो । यो सबै समयक्रमभित्र एउटा राम्रो पक्ष के रह्यो भने, कम्युनिष्ट पार्टी र आन्दोलनमा जुटेका नेता–कार्यकर्ताहरूले कम्युनिष्ट आन्दोलनमै आफुलाई लगाइरहे । माक्र्सवाद–लेनिनवादको झण्डा फहराइरहे । र, जनताको माझमा कम्युनिष्ट पार्टीलाई लोकप्रिय बनाउन अनेकौँ संघर्षमा जुटे ।
यो वास्तविकतालाई कतिपयले स्वीकार गर्दैनन् । नेपालको कम्युनिष्ट पार्टीभित्र अनेक धारहरू, अनेक समूहहरू विद्यमान छन् । विचारमा भिन्नताको बाबजुद उनीहरू कम्युनिष्ट पार्टीकै यो वा त्यो घटक हुन् भनेर मान्दैनन् । तर, हामीले जब पार्टी निर्माण गर्न थाल्यौँ, त्यसपछि हामीले भन्न थाल्यौँ, एउट वर्गको पनि एकभन्दा बढी राजनीतिक दलहरू सँगै हुनसक्छन् । बुर्जुवा वर्गको पार्टी एकभन्दा बढी हुँदा पनि उनीहरूले त्यसलाई स्वीकार गर्न सक्छन भने, सर्वहारा वर्गको प्रतिनिधित्व गर्दै एकभन्दा बढी पार्टी बन्दा त्यसलाई कम्युनिष्ट पार्टी मान्दैनौँ भन्नु मनोगत सोच र संकीर्णताबाहेक अरु केही हुँदैन ।
निरन्तरको यात्रा
हामीले जब जनताको बहुदलीय जनवादलाई अगाडि सार्ने काम गयौँ । त्यस भन्दा अगाडि पहिलादेखिनै हामीले अरुको पनि अस्तित्व स्विकार्दै र त्यस समूहलाई कम्युनिस्ट पार्टीकै अर्को घटकको रुपमा मान्यता दिन थाल्यौँ । हामीलाई अरु उग्रवामपन्थी सोच राखेका कम्युनिस्ट पार्टीका नेताहरूले निम्न पुँजीपतिहरूको पार्टी भन्ने गर्दथे । उनीहरूमा हामीलाई कम्युनिष्ट पार्टीको रुपमा स्वीकार गर्ने हृदयको विशालता थिएन । अझै पनि कतिपयमा त्यही प्रवृत्ति विद्यमान छ । हामी ती सबैबाट अलग छौँ ।
हामी वास्तविकतालाई स्वीकार गर्दछौँ । यसको आधारमा अरुलाई पनि प्रभावित गर्ने कोसिस गर्दछौँ । विचारमा सहमत गराउने कोसिस गर्दछौँ । र, विचारमा रुपान्तरित भएर सँगसँगै जाने कुरामा सहमत भइसकेपछि एकतावद्ध गर्दै पनि अगाडि बढ्छौँ । उहिल्यैदेखि अनेक समूहमा विभाजित घटकहरूलाई मिलाउँदै, एकतावद्ध गर्दै, हामीले अगाडि सारेको धारलाई सशक्त बनाउदै अगाडि बढ्यौँ । त्यो काम एक दिनको यात्राबाट सम्भव थिएन ।
पुराना कुरा सम्झौँ, ०३२ सालमा जब हामीले को–अर्डिनेशन केन्द्र बनाएका थियौँ, त्यहाँ हामी कति संख्यामा थियौँ ? नेपालको कम्युनिष्ट आन्दोलनमा रहेका अरु घटकहरूको हैसियत कति थियो ? उनीहरूको संगठनको सञ्जाल कति थियो ? त्यो सबै हेर्ने हो भने, हामीभन्दा ठूलो थियो । लामो समयसम्म हामी लागिरह्यौँ । जुटिरह्यौँ । संगठनलाई क्रियाशील बनाइरह्यौँ । त्यसपछि हामीले प्रतिक्रियावादको विरुद्धमा, राजतन्त्रको विरुद्धमा, पञ्चायती तानाशाहीको विरुद्धमा संघर्षको अग्रपंक्तिमा उभिएर महत्वपूर्ण भूमिका खेल्दै गयौँ ।
हाम्रो भूमिकाको कारणले राष्ट्रिय राजनीतिमा हाम्रो छुट्टै पहिचान स्थापित भयो । अरुलाई पनि हामीले समेट्दै थियौँ । त्यही क्रममा ०४७ सालमा तत्कालीन नेकपा (माले) र नेकपा (माक्र्सवादि) समूहको बीचमा एकता भएर नेकपा (एमाले) हामीले बनायौँ । एकतापछि त्यसको उचाई अझै माथि उठ्यो । त्यसले राष्ट्रिय राजनीतिमा तरंग पैदा गर्यो र त्यसको भूमिका प्रभावकारी हुँदै पनि गयो ।
फलस्वरुप ०४८ सालको निर्वाचनमा हामीले जनताको विश्वास जित्यौँ र निर्वाचनको माध्यमबाट कम्युनिष्ट पार्टीले आफ्नो हैसियत स्थापित गर्न सक्दछ भन्ने देखायौँ ।
विश्व कम्युनिष्ट आन्दोलनमा बुर्जुवा वर्गलाई चुनौती दिँदै निर्वाचनको माध्यमबाट कम्युनिष्ट पार्टीले ठूलो हैसियत प्राप्त गरेको उदाहरण थोरै मात्रै होला । हामीले अवसरलाई प्रयोग गर्यौं । संसदमा महत्वपूर्ण भूमिका खेल्दै गयौँ । राष्ट्रिय राजनीतिका प्रत्येक विषयबस्तुहरूमा हाम्रा धारणाहरू प्रष्ट रुपमा राख्यौँ । जनताको माझमा पुग्यौँ । सदनमा आवाज बुलन्द गर्यौं ।
ऐतिहासिक उपलब्धि
पार्टीलाई नयाँ उचाइमा पुर्याएर ०५१ सालको निर्वाचनमा संसदको सबैभन्दा ठूलो दलको रुपमा उभ्याउन सफल भयौँ । नेपालको राजनीतिमा कम्युनिष्ट पार्टीले यस्तो दुईटा अवसर प्राप्त गरेको छ । एउटा ०५१ सालमा सबैभन्दा ठूलो पार्टी बन्ने अवसर । दोस्रो, ०७४ सालको निर्वाचनमा झण्डै दुई तिहाई बहुमत प्राप्त गर्यौं । कम्युनिष्ट आन्दोलनमा त्यो ऐतिहासिक उपलब्धि थियो । ०५१ सालमा हामीले बनाएको सरकारले बेग्लै तरंग पैदा गर्यो ।
०५१ सालमा हामीले गरेका कामको फेहरिस्त बिर्सनुहुँदैन । इतिहासमा पहिलो पटक नेपाली जनताले कम्युनिष्टहरूलाई दुई तिहाई मत दिएका थिए । त्यसको सदुपयोग गरेको भए आज देश र जनताले ठूलो उपलब्धि पाउने थिए । जुन अवसरबाट हामी बञ्चित भयौँ । एकजना व्यक्तिको सनकले कम्युनिष्ट आन्दोलन नै छिन्नभिन्न हुने अवस्थामा पुग्यो ।
हाम्रा केही साथीहरूलाई के लाग्छ भने, पुराना कुरा गरेर हुँदैन । माओ के भन्नुहुन्छ–पुराना चीजमा उभिएर अगाडि बढ । भर्खरै सकिएको चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन समारोहमा महासचिव सीले दिनुभएको भाषण पढ्नुस्, हजारौँ वर्षको चीनको इतिहासको उहाँले चर्चा गर्दै गौरवबोध गर्नुपर्छ भन्नुभयो । गौरवबोध गर्दै अगाडि बढ्नुभयो भने मनोबल उच्च हुन्छ ।
नयाँ चुनौती पनि देख्न सक्नुपर्छ । नयाँ सम्भावना पनि देख्न सक्नुपर्छ । नयाँ कीर्तिमान कायम गर्न सकिन्छ । चुनौतीको सामना गर्ने आँट गर्नुपर्छ र मात्र हामी नयाँ कीर्तिमान कायम गर्न सक्छौँ । पहिलेका भन्दा नयाँ नयाँ उदाहरण प्रस्तुत गर्दै जनताको बीचमा जानुपर्छ र आफ्नो पार्टीको गौरवलाई माथि उठाउनुपर्छ ।
अवश्य पनि हामीले पुराना पुस्ताले खेलेका भूमिकाको सम्मान गर्नुपर्छ । पुराना पुस्ताले इतिहासमा खेलेको भूमिका र गरेका योगदानको कदर गर्नुपर्छ । इतिहासको यो चुनौतीपूर्ण मोडमा हामी सहज ढंगले चुनौतीको सामना गर्दै अघि बढ्न खोजिराखेका छौँ ।
नवौँ महाधिवेशनपश्चात पनि हामी एकतावद्ध भएर अगाडि बढ्न खोजिरहेका थियौँ । हामीले धेरै प्रयास गर्यौं । तर, हामी कतिपयले बिर्सिदा रहेछौँ । सम्झनास्वरुप कतिपय पुराना दस्तावेजहरू पनि छाप्नुपर्नेरहेछ । नवौँ महाधिवेशनपछि हामीले कसरी विषयबस्तु उठायौँ ? त्यसप्रति नेतृत्वको दृष्टिकोण कस्तो रह्यो ? त्यसबाट हामी कसरी आजको बिन्दुमा आइपुग्यौँ ? जुन बिन्दुमा तत्कालीन पार्टी नेतृत्व हामीलाई निष्काशन गर्ने तहमा पुग्यो ।
जनमत र अवसरको दुरुपयोग
०७७ पुस ५ गते संसद विघटन गर्ने मात्रै होइन, पुस ६ गतेको दिनमा केन्द्रीय कमिटीको संख्या कहाँबाट कहाँ पुर्याएर, मन नपरेका सबैलाई पाखा लगाएर, पार्टी कब्जा गर्ने प्रवृत्ति देखाएर आफुखुसी दक्षिणपन्थी प्रवृत्तिका नीतिहरू लिने काम भयो । राष्ट्रिय हितमाथि कुठाराघात गर्ने नीतिहरू अबलम्बन गरियो । हामीले यस्तो गर्न पाइँदैन भन्यौँ । तपाईँलाई ठीक लागेको छ भने कमिटीमा उपरोक्त कुराहरू ल्याउनुस्, बहस गरौँ भन्दै गयौँ ।
यी यावत् सन्दर्भमा संविधान बचाउनका लागि, कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारको रक्षा गर्नका लागि, पार्टीभित्र देखापरेको अधिनायकवादी प्रवृत्तिलाई परास्त गर्नका लागि, कम्युनिष्ट पार्टीलाई लोकप्रिय बनाएर लैजानका लागि, छरिएर रहेका कम्युनिष्टहरूलाई एकतावद्ध गर्दै अगाडि बढ्नका लागि हामीले विद्रोह गर्नुपर्यो । विद्रोह एकदम जायज थियो । विद्रोहले सफलता हासिल गर्यो । असंवैधानिक रुपमा विघठित गरिएको प्रतिनिधि सभा पुनस्र्थार्पित भयो । संविधान जोगियो । संसदले पूर्ण कार्यकाल काम गर्न सक्यो ।
फेरि गम्भीर बन्ने बेला आयो
आज फेरि संविधानमाथि आक्रमण भइरहेको सन्दर्भमा हामी गम्भीर बन्नुपर्ने भएको छ । अहिले प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेका छन् । विभिन्न देश विदेशका शक्तिले नेपालभित्र षडयन्त्रका तानाबाना बुनिरहेका छन् ।
अहिले नेपालको राजनीति कुन अवस्थाबाट गुज्रिँदैछ ? अहिले हाम्रो देशमा स्वाधिनता, स्वतन्त्रतामाथि कुनै आघात पुग्ने काम भइरहेको छ कि छैन ? देशीविदेशी शक्तिहरुको भूमिका कस्तो छ ? देशका प्रतिक्रियावादी, प्रतिगामी शक्तिहरुले के गरिरहेका छन ? यी सबै कुराहरूको बारेमा हामीहरू व्यापक छलफल गर्नुपर्छ । र, कसरी हुनसक्छ नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाउने, बचाउने, लोकप्रिय बनाउने काममा लाग्नुपर्छ । त्यसमा हामी गम्भीर भएर सोचौँ । यस कुरामा नेकपा माओवादी, जनता समाजवादी, नेकपा विप्लव समूह पनि सहमत छन् ।
यस कुरामा समाजवादी मोर्चाका सबै घटक (माओवादी, जनता समाजवादी, नेकपा विप्लव समूह) हामीलाई चिन्ता छ, हामीलाई मात्रै होइन, चिन्ता अरुलाई पनि छ । अरुलाई चिन्ता हुनुपर्छ भन्ने हुटहुटी हामीमा थियो ।
हामीले पटकपटक भन्ने गरेका थियौँ कि छलफल गरौँ । जनतामा जुन निराशा छ, राजनीतिप्रति वितृष्णा छ, पाटीहरूप्रति असन्तोष छ । यसका कारणहरू खोजौँ । र, सुधारका लागि के के गर्न सकिन्छ ? सुधार गर्नतर्फ लागौँ । त्यसका लागि हाम्रो पार्टीले पहल गर्दै आइरहेको छ । त्यसो हुनाले देशको समस्याको ठिक पहिचान, देशका सामु रहेको चुनौतीको सही पहिचान पहिला गर्न सक्नुपर्दछ । जसले समस्याको पहिचान गर्न सक्दैन, त्यसले समाधान दिन सक्दैन । यसका निम्ति यथार्थको धरातलमा टेकेर चल्नुपर्छ । तथ्यबाट मात्रै सत्यमा पुग्न सकिन्छ ।
माओत्सेतुङले वारम्बार भन्नुभएको छ–मनोगत विश्लेषण गरेर हुँदैन । अहिले संविधानको पक्षमा भएका शक्तिलाई गोलबन्द गर्नुपर्ने छ । राष्ट्रियताको पक्षमा भएका शक्तिहरूलाई एकतावद्ध गर्नुपर्ने छ । सुशासनको पक्षमा भएका शक्तिहरूलाई मिलाएर लानुपर्ने आवश्यकता छ । समाजमा रहेका विकृति र विसंगतिका विरुद्धमा लड्न चाहनेहरूलाई मिलाएर लानुपर्छ । जसलाई जति मात्रामा मिलाउन सकिन्छ मिलाउदै जानुपर्छ ।
जबज हाम्रो पेटेन्ट राइट हो
हामीले पार्टीलाई भिन्न ढंगले अगाडि बढाउन चाहिरहेका छौँ । जिम्मेवार पार्टीको रुपमा, जनताको सेवक पार्टीको रुपमा, देशभक्त पार्टीको रुपमा, क्रान्तिकारी रुपान्तरण गर्ने पार्टीको रुपमा, जनतासँग नङ र मासुको सम्बन्ध भएको पार्टीको रुपमा अगाडि बढाउन चाहन्छौँ । जनताबाट टाढियौ भने जनताले तिमीलाई अस्वीकार गर्छन । जनताको माझमा जाऊ, जनताको विश्वास जित र जनतालाई चुन्ने जुन अधिकार छ, चुनिनका लागि पनि आवधिक निर्वाचनको प्रक्रियामा सामेल होऊ । यो विचार विश्व कम्युनिष्ट आन्दोलनमा कुन पार्टीले अगाडि सारेको थियो ? हामीले नै सारेका थियौँ, कमरेड मदन भण्डारीको अगुवाईमा हाम्रो पार्टीले अगाडि सारेको थियो–जनताको बहुदलीय जनवाद । यो हाम्रो पेटेन्ट राइट भएको चीज हो । यसलाई छोड्न, त्याग्न हामी सक्दैनौँ ।
उहिले जनवादी क्रान्ति सम्पन्न भइसकेपछि माओत्सेतुङ विचारधाराको औचित्य सकियो पनि भन्न सकिन्छ । त्यो भन्दा अत्यन्तै निकृष्ट कुरा के हुन्थ्यो त्यो बेला ? तर, उनीहरू गौरवबोध गर्छन । यसअर्थमा हामीले पनि आजसम्म प्राप्त उपलब्धिहरूप्रति गौरवबोध गर्नुपर्छ । र, त्यतिकैमा चित्त बुझाएर बस्ने होइन । हाम्रा बीचमा रहेका अनेक चुनौतीहरूको सामना गर्दै अगाडि बढ्नका लागि बलियो पार्टी बनाउनुपर्छ । सिद्धान्तमा प्रष्ट पार्टी बनाउनुपर्छ । विचार र नीतिमा प्रष्ट पार्टी बनाउनुपर्छ । त्यसक्रममा हामी निरन्तर क्रान्तिकारी अभ्यासमा जुटेका छौँ । अगाडि बढेका छौँ ।
हाम्रो पार्टीको हैसियत कमजोर छैन
अहिले हाम्रो पार्टी नेपालको राजनीतिमा अवश्य पनि पहिलो नम्बरको अवस्थामा छैन । तर, हाम्रो पार्टीको हैसियत कमजोर पनि छैन । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १० सिट जित्नु साधारण कुरा होइन । चुनौतीको बीचमा हामीले चुनाव जितेका छौँ । सात वटै प्रदेशमा हाम्रो उपस्थिति छ । ७७ वटै जिल्लामा हाम्रो संगठन छ । पार्टी कहिले ठूलो हुन्छ, कहिले सानो हुन्छ । कहिले सोचेजस्तो उपलब्धि प्राप्त हुन्छ, कहिले हुँदैन । कहिले यो लहरले प्रभाव पार्छ, कहिले अर्को लहरले प्रभाव पार्छ भन्दै समयमा त्यस्ता कुराप्रति सचेत हुन सक्यौँ भने नोक्सानी कम हुन्छ । समयमा वुद्धि पुर्याएनौँ भने अलि बढ्ता धक्का खान पुग्छौँ ।
त्यसकारण विगतमा हामीबाट के–के कमजोरी भयो ? त्यसको पनि हामीले समीक्षा गर्नुपर्छ । र, हामीसँग जनताले धेरै आशा गरेर बसेका छन् । त्यो आशालाई साकार पार्नका लागि जनताको माझमा जानुपर्छ । तपाईँ हामी अगाडि नबढे अरु कोही बढेर केही हुनेवाला छैन, आँट भएकाले नै काम गर्छन । विगतमा पनि आँट हामीमा थियो, हामीले गर्यौं । एउटाले आँट गर्नुपर्ने रहेछ । मोर्चामा पनि अगुवा भूमिका खेल्नेको आवश्यकता पर्छ । ०४६ सालमा पनि वाममोर्चा बनेको थियो ।
०६२ सालमा पनि सातदलीय मोर्चा थियो । के हामीले त्यो सातदलीय मोर्चाको मुख हेरेर बस्यौँ ? बसेनौँ । हामीभन्दा ठूलो शक्तिले के गर्छ भनेर उनीहरूको बाटो पख्यौँ ? पर्खेनौँ । एक्लै अगाडि बढ्यौँ । सिंगो देशमा आन्दोलनको लहर सिर्जना गर्यौं । उनीहरूलाई पनि आन्दोलनको मैदानमा आउन बाध्य बनायौँ । तै पनि उनीहरू खुट्टा कमाउदै थिए । हामी अडानमा दृढताका साथ उभियौँ । यी हाम्रा विगतप्रति गौरवबोध गर्नुपर्छ । हिम्मत गर्नुपर्छ । हुन त, नेतामध्ये पनि हिम्मत नभएका पनि थिए ।
निराशा पैदा गर्नेहरू पनि थिए । पार लाग्दैन भन्दै थिए । राजतन्त्र ढाल्न सकिदैन भन्दै थिए । राजतन्त्र ढाल्ने कुरा भनेको अबस्तुवादी, असम्भव कुरा हो भन्दै थिए । बयलगाढा चढेर अमेरिका पुग्नु र राजतन्त्रको विरुद्धमा संघर्ष गर्नु उस्तै उस्तै हो भन्दै थिए । यही कानले सुनेको होइन र ? यही आँखाले पढेको होइन र ? त्यसकारण नबिर्सिनुहोस्, इतिहास साक्षी छ । त्यसकारण आज हाम्रो पार्टीप्रति धेरैको आशा छ ।
(यही पुस ११, १२ र १३ गते ललितपुरमा बसेको केन्द्रीय कमिटीको सातौँ बैठकमा अध्यक्ष माधवकुमार नेपालले गर्नुभएको सम्बोधनको सम्पादित अंश ।)