काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत र व्यावहारिक सहजता भए अर्थतन्त्र सुधार हुन समय नलाग्ने बताएका छन् ।
कोहलपुर उद्योग वाणिज्य संघको दशौँ वार्षिक साधारण सभा तथा २५औँ दिवस कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले अर्थतन्त्र सुधारका लागि सरकारसँग आफूहरूले निरन्तर पहल गरेको बताए ।
उनले भने, ‘पछिल्लो पटक उद्योग व्यवसायका क्षेत्रमा विविध समस्या छन् । साना ठूला सबै तहका उद्योग व्यवसायका लागि विविध खालका चुनौती छन् । उद्योग व्यवसाय गर्ने वातावरण बनाउन हामीले सरकारलाई पनि बारम्बार आग्रह गर्दै आएका छौँ, विज्ञ लगाएर सुझाव तयार गरी वुझाएका पनि छौँ । ती कुराहरू कार्यान्वयन हुनुपर्यो ।’
उनले पछिल्लो समय ट्रंक तथा डेडिकेटेड लाइनको महसुल विवादले पनि उद्योगीहरू समस्यामा परेको बताए । उनले भने, ‘उद्योगहरूको डेडिकेटेड र ट्रंक लाइनको पुरानो विवाद समाधान नहुँदै लाइन काटिएको छ । यसले औद्योगिक वातावरण बिगार्छ । यसको समाधानका तत्काल एक उच्चस्तरीय आयोग वा संयन्त्रको माग गरेका छौँ । यो समस्या कुनै एक निकायले समाधान गर्न सक्दैन ।’
उनले जी क्षेत्र सम्मिलित आयोग बनाई त्यसबाट समाधान निकाल्नुपर्ने बताए । उनले भने, ‘यसरी काटिएको लाइन जोडन र थप नकाट्न म आग्रह गर्दछु । यसले रोजगारी र राजश्वमा असर गरेको छ । मन्दीमा रहेको अर्थतन्त्रलाई थप प्रभावित बनाएको छ ।’
मुलुकभरिकै व्यापार व्यवसायलाई मुलुकको समग्र अर्थतन्त्रले प्रभावित पारेको अध्यक्ष ढकालले बताए । उनले भने, ‘मुलुकमा भविष्य नदेखेर युवा पलायन भइरहेका छन् । रेमिटेन्स त आएको छ तर उपभोग बढेको छैन । हामीले यो समस्या हुँदैछ भनेर शुरुमै सरकारको ध्यानाकर्षण गराएका थियौ । तर समाधानमा ध्यान पुगेन ।’