Logo
Logo

‘नेताहरु स्वार्थ पूरा गर्न पाए हुन्थ्यो भन्ने मनोदशामा प्रकट हुन थाले’


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १८ फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक अस्थिरतामा खेलिरहन पाए स्वार्थ पूरा हुन्थ्यो भन्ने मनोदशामा नेताहरु प्रकट हुने गरेको बताएका छन् ।
नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) स्थापनाको दोस्रो वार्षिकोत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित पुरस्कार एवं सम्मान कार्यक्रममा उनले सरकार निरन्तर राजनीतिक अस्थिरताको चक्रब्यूहमा परिरहे देशको के होला भन्दै प्रश्न गरे । ‘राजनीतिक नेतृत्वको मनोदशा कसरी सरकारमा टिक्ने, ढाल्ने भन्नेमै चलिरह्यो भने अरु एजेण्डा के हुन्छन्’ उपप्रधानमन्त्री पोखरलले भने, ‘यो अहिलेको यथार्थ हो, सञ्चार क्षेत्रले यो कुरालाई कसरी लिने, कसरी हेर्ने भन्ने विषय हो, सार्वजनिक पदमा बसेका व्यक्तिको काम गराइ पब्लिक अडिटमा बेरुजु देखिनुहुन्न ।’
उनले सञ्चार क्षेत्रले लोकतान्त्रिक मूल्यमान्यता, विधि र प्रक्रियामा रही देश र जनताको हितका लागि प्रेरित गर्ने समाचार सम्प्रेषण गर्न सुझाव दिए । नेपालीको खुशी र समृद्धि तथा स्वाभिमान जगाउन र आत्मनिर्भर बनाउन इञ्जाले खेलेको भूमिका प्रशंसनीय रहेको भन्दै उनले भने, ‘आफू जहाँ गएपनि देशप्रति सम्मान भाव राख्ने, भलो चिताउने, देशभक्तिको भावनालाई कायम राख्ने र मातृभूमिप्रति सहयोग पु¥याउन तत्पर रहने नेपालीको परम्परा रहेकाले इञ्जाले सम्मान र पुरस्कार प्रदान गर्ने राम्रो कामको थालनी गरेको छ, यसले निरन्तरता पाउनुपर्छ ।’
कार्यक्रममा मोफसलमा रही नेपाली भाषा र साहित्यका क्षेत्रमा विशिष्ट योगदान दिने वरिष्ठ साहित्यकार चूडामणि रेग्मीलाई एक हजार डलरसहितको इञ्जा स्रष्टा सम्मान प्रदान गरिएको छ । पुरस्कारका लागि उक्त रकम अमेरिकामा बस्दै आएका गीतकार अम्बिका गुरुङले उपलब्ध गराएकी हुन् ।
यस्तै, कार्यक्रममा पत्रकारद्वय मेनका ढुंगाना (अछाम) र प्रकाशसिंह (बाजुरा)लाई जनही ५ सय डलर राशिको इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सो पुरस्कारका लागि उक्त रकम अमेरिकामा रहेकी सुनिता खत्रीले सौजन्यस्वरुप उपलब्ध गराए । ढुंगानालाई छाउपडी र सिंहलाई कुपोषणसम्बन्धी खोजमूलक समाचारका लागि उक्त पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिल विधेयक सरोकारवाला पक्षसँग आवश्यक छलफल नै नगरी अघि बढाइएको भनी गुनासो गरे । नेपाल टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्टले पछिल्लो समय नेपाली पत्रकारिता क्षेत्र व्यावसायिक रुपमा अघि बढिरहेको बताए ।
पुरस्कार छनोट समितिका संयोजक तीर्थ कोइरालाले स्रष्टालाई सम्मान र समाजमा देखिएका विकृति तथा विसंगतिलाई गहिरोरुपमा चिरफार गर्ने सञ्चारकर्मीलाई प्रदान गरिएको पुरस्कारले सत्कर्म गर्नेलाई प्रेरणा मिल्ने बताए ।
इञ्जाका केन्द्रीय अध्यक्ष गुणराज लुइँटेलले विश्वभर छरिएर रहेका नेपाली पत्रकारबीच सम्पर्क र समन्वय गर्न सहज होस् भन्ने हेतुले गठन भएको इञ्जाले सेवामूलक संस्थाका रुपमा पत्रकारलाई प्रेरित गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । त्यस्तै, संस्थाका केन्द्रीय उपाध्यक्ष टंक पन्तले संस्थाले पत्रकारलाई प्रेरित गर्न सामुदायिक र साहसिक पत्रकारिता पुरस्कारको अतिरिक्त स्रष्टासम्मान कार्यक्रम गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्