Logo
Logo

सरुवा हुन लागेका डिआइजी गाँजा काण्डमा मुछिए


44k
Shares

काठमाडौं । कोशी प्रदेशमा कार्यरत रहेका डिआइजी राजेशनाथ बाँस्तोलालाई पूर्व क्षेत्रको गाँजालाई व्यवस्थित गरेर सीमा कटाउन दिएको आरोप लागेको छ । पूर्वका जिल्लाहरुबाट तस्करहरुले संकलन गरेर विराटनगर ल्याएको गाँजालाई सीमा कटाउन दिएको मात्र होइन, त्यसबापत २ करोड ३० लाख उठाएको समेत आरोप लागेको छ । एसएसपीमै निमित्त भएर कोशी प्रदेशको कमाण्ड सम्हाल्न गएका डिआइजी बास्तोलाले ११ महिना कमाण्ड सम्हालि सकेका छन् ।

आफूलाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको नजिक रहेको बताउदै कोशी प्रदेशमा पुगेका डिआइजी बाँस्तोलाले रानी भन्सारबाट सेटिङ गरेर गाजा भारततर्फ पठाइदिने गरेको खुलेको छ । पूर्वका पाँचथर, तेह्रथुम, झापा, मोरङ र सुनसरीबाट संकलित गाँजालाई एकमुष्ट रुपमै रानी भन्सार कटाइदिने उनको जिम्मेवारी रहेको स्रोतले जनाएको छ ।

आफ्नो क्षमताले भन्दा पनि बाबु हरिनाथ बाँस्तोला नेपाली कांग्रेसको सांसद र तत्कालीन कांग्रेस नेता खुमबहादुर खड्काको जोडबलमा प्रहरी निरिक्षकमा भर्ना भएका डिआइजी बाँस्तोलाले अहिले पूर्व क्षेत्रलाई आर्थिक उपार्जनको मूख्य थलो बनाएका छन् ।

उनको विषयमा गृहमन्त्रालयमा उजुरी परेको भएपनि प्रचण्डका ज्वाई जीवन आचार्यलाई मिलाएर कारबाही वा छानबिन गर्न रोकेको स्रोतले बताएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई रक्षामन्त्री र प्रचण्डका ज्वाई जीवन आचार्य दुवैको दबाब परेपछि उनको बारेमा छानबिन गर्नसमेत रोकिएको छ । भूटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्रीलाई समेत जेल पठाएको भन्दै बाहिर चर्चा कमाएका गृहमन्त्री श्रेष्ठ एक जना डिआइजीले गरेको अपारदर्शी आर्थिक उपार्जनको मूकदर्शक बन्न पुगेका छन् ।

यसअघि पनि उनको सम्बन्धमा सुनसरी र मोरङको सीमाना रहेको स्थानमा जुवाडेलाई सुरक्षा प्रदान गरेको उजुरी गृह र प्रहरी प्रधानकार्यालय दुवैमा परेको थियो । त्यो विषयमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र गृहमन्त्री श्रेष्ठ दुवै मौन बसेका थिए । अहिले पनि गाँजा तस्करसँग मिलेर भारततर्फ गाँजा तस्करी गर्न दिएवापत करोडौं रुपैया लिएको उजुरीको विषयमा पनि उनीहरू मौन रहेका छन् ।

गृहमन्त्रालयले केही समय अघि नै डिआइजीको सरुवा गर्न खोज्दा उनकै कारण केही समय रोकिएको स्रोतको दाबी छ । उनीलगायत मधेश प्रदेशका डिआइजी जनक भट्टराइले पनि हुण्डी कारोबारीलाई प्रश्रय दिएको गुनासो प्रहरी प्रधानकार्यालयमा पुगेको छ । भट्टराई पनि कांग्रेस नेताहरुको सोर्समा एसएसपीमै निमित्त भएर डिआइजीमा मधेश प्रदेशमा पदस्थापन हुने अर्का शक्तिका पात्र हुन् ।

प्रतिक्रिया दिनुहोस्