काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग र औषधि ब्यवस्था विभागलाई एकापसमा गाभ्ने प्रस्ताव अलपत्र परेको छ । दुबै निकायको कार्यप्रकृति उस्तै उस्तै भएपछि सरकारले खर्च कटौती गर्न २ बर्षदेखि दुबै कार्यालय एकापसमा गाभ्न बजेट मार्फत् नै ब्यवस्था गर्दैआएको छ । गत आर्थिक बर्ष २०७९–०८० र ०८०–०८१ को बजेट वक्तब्यमा दुबै कार्यालय गाभ्ने प्रस्ताव ल्याइएको हो ।
कृषि, पशुपंछी र स्वास्थ्य मन्त्रालयको सहमतिबेगर अर्थमन्त्रालयले जबर्जस्ती उक्त प्रस्तावमा बजेटमा लेखे पनि कार्यान्वयन हुन सकेको छैन । सरोकारवाला मन्त्रालयले चासो नराख्दा उक्त कार्यक्रम अलपत्र हुन पुगेको हो । कार्यालय कटौतीका बारेमा दुबै विभाग र मन्त्रालयलाई समेत स्पष्ट जानकारी अहिलेसम्म छैन ।
उता, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भद्रगोलले सीमा नाघ्दै गएको छ । कर्मचारीहरुमा गुटबन्दी यति झांगिएको छ कि राजनीतिक दललाई नै माथ गर्ने किसिमको देखिन्छ । आफ्नै विभाग र नेतृत्वबिरुद्ध एकथरी कर्मचारी उजुरी गर्न तल्लीन भएर लागेका छन् । विभागमा उजुुरी शाखा छैन, कसैले विभागका कर्मचारीको कामकारबाहीका बारेमा महानिर्देशकसमक्ष गुनासो गर्ने ब्यवस्था भए पनि छुट्टै शाखा छैन । तर विभागका उपमहानिर्देशक सोमकान्त रिजाल र बरिष्ठ खाद्य अधिकृत भीम पुलामीले अघोषित रुपमा उजुरी शाखाले गर्ने जस्तै काम गरिरहेका छन् ।
बिभागभित्र आफूलाई मन नपर्ने कर्मचारीका बिरुद्ध कृषि तथा पशुपंछी मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र लगायतका निकायमा मौखिक तथा लिखित उजुरी दिने गरेको स्रोतले बताएको छ ।
कृषि मन्त्रालय स्रोतका अनुसार १२ बर्षदेखि विभाग परिसरमै बिताएका पुलामीकै उक्साहटमा लागेर उपमहानिर्देशक रिजाल पनि लागेका छन् । करिब २ बर्षअघि खुल्ला प्रतिस्पर्धाबाटै सहसचिवमा नाम निकालेका रिजालको पहिलो पदस्थापना नै उपमहानिर्देशकका रुपमा विभागमा भएको हो । कार्यालयमा काम गरेको अनुभव भए पनि रिजाल कम उमेरमै उपमहानिर्देशकको जिम्मेवारीमा पुगेका कारण कर्मचारीहरुबीच समन्वय गर्ने, विभागभित्रको कार्ययोजनालाई कार्यान्वयन गर्ने क्षमता भने अति कमजोर रहेको छ । हरेक इस्युमा पुलामीकै सल्लाहमा रिजाल चल्ने गरेको आरोप छ ।
पुलामीले विभागभित्रका बिरुद्ध उजुरी हाल्ने, माथिल्लो निकायमा अनावश्यक उजुरी गर्ने, आफूलाई खुसी नपार्ने उद्योगीहरुका गलत रिपोर्टिङ गर्ने गरेका छन् । पुलामीले आफ्नो कार्यकक्षमा नबसी अधिकांश समय रिजालकोमा बस्ने र बाँकी समय उजुरीबाजुरमै बिताउने गरेका छन् ।
हरेक बर्ष हुने सरुवामा पुलामीलाई काठमाडौं बाहिरका कार्यालयमा पठाउन खोजिए पनि उनी शक्तिकेन्द्रको आडमा टिकिरहेका छन् । अहिले उनी रिजाललाई महानिर्देशक बनाउन साम दाम दण्डभेद अंगिकार गरेर लागेका छन् । पुलामीकै उक्साहटमा बढुवा भएको २ बर्ष पनि नपुगेका रिजाल महानिर्देशक बन्न जुँगामा ताउ लाउन थालेका छन् ।
मन्त्रालयमा संजीवकुमार कर्ण महानिर्देशक खानकै लागि सचिव बढुवा हापेर बस्नुका साथै प्रदेश सचिव हुन समेत इन्कार गर्दैआएका छन् । अहिले रिजाल, कर्ण र पुलामीसमेतको दिनचर्या विभागको नेतृत्व र कर्मचारीबिरुद्ध मन्त्रीको सचिवालयदेखि सचिवसम्मलाई कुरा लाउने र उजुरबाजुरमा बित्ने गरेको छ ।
विभागका प्रयोगशाला प्रमुख रहेका सहसचिव शैलेशकुमार झा रिजाल र पुलामीहरुको उजुरीबाजुर, षडयन्त्र र अत्याचार झेल्न नसकेर कामै नभएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको परमाणविक पदार्थ ब्यवस्थापन महाशाखामा सरुवा मागेरै गएका छन् ।
विज्ञान प्रविधि मन्त्रालयको परमाणविक पदार्थ ब्यवस्थापन महाशाखा भन्दा विभागको प्रयोगशालाको सेवा आकर्षक मानिन्छ । झा आफ्नो विश्वबाबु पुडासैनी सचिवमा बढुवा भएपछि परमाणविक पदार्थ ब्यवस्थापन महाशाखा रिक्त थियो । उक्त महाशाखामा कार्य गरेका पुडासैनी, रामआधार साह, राजेन्द्र खनाल सचिवमा बढुवा भइसकेका छन् । यीमध्ये खनालले अवकाश पाइसकेका छन् ।