Logo
Logo

सिआईबीको छानबिनमा न्यायाधीश


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २० फागुन । बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा हालेको करिब एक महिना भएको छ । आयोगले केही व्यक्तिलाई मुद्दा दायर नगरेको भन्दै आलोचना अझै रोकिएको छैन ।

खासगरी नेता विष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वाेच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई जग्गा फिर्ता गर्ने सर्तमा मुद्दा नचलाएकोमा आलोचना भएको हो । उनै दुई जनाको हकमा निर्णय गर्न नसक्दा आयोगले एक महिना अनुसन्धानपछि फाइल थन्काएर राख्यो । अन्ततः दुई जनालाई जोगाउन खोज्दा अख्तियारको राम्रो काम पनि छायाँमा प¥यो ।

तर, अख्तियारले मुद्दा नचलाउँदैमा उनीहरु जोगिएका भने छैनन् । केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले समेत उनीहरुमाथि अनुसन्धान गरिरहेको छ ।

स्रोतका अनुसार सिआईबीले पौडेल र रेग्मी दुवैमाथि मुद्दा चलाउने तयारी गरेको छ । रेग्मीमाथि मुद्दा चलेमा उनी निलम्बनमा पर्नेछन् । त्यसकारण अख्तियारमा जस्तै शक्तिकेन्द्रले रेग्मीलाई मुद्दा नचलाउन प्रहरीमा समेत दबाब दिन थालेको छ ।

सिआईबीले करिब एकवर्षदेखि सो प्रकरणको अनुसन्धान गरिरहेको छ । हाल मुद्दा दायरको लागि फाइल बनाउने काम भइरहेको छ । अख्तियारले उन्मुक्ति दिएका व्यक्तिहरुलाई पनि सिआईबीले मुद्दा चलाउने तयारी गरेको छ । जसमा पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाहदेखि पूर्व सिडिओ गेहनाथ भण्डारीसम्म छन् । थप नेताहरुको समेत यसमा संलग्नता देखिएको छ । जसकारण प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीका लागि समेत यो अनुसन्धान ठूलो चुनौती बन्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्