काठमाडौं, २० फागुन । आजभन्दा २० वर्ष अगाडि अर्थात् २०५६ सालमा रविभक्त श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदमा प्रदीपकुमार श्रेष्ठलाई सर्वसम्मत बन्ने बाटो खोलेका थिए । महासंघको इतिहासमा यो एउटा स्वर्ण अक्षरले लेखिने घटना भए पनि त्यसयता रविभक्त श्रेष्ठले गरेको त्यागलाई कसैले निरन्तरता दिन आवश्यक ठानेनन् । महासंघलाई गुट उपगुटबाट मुक्त गर्दै एउटा सशक्त संगठनको रुपमा स्थापित गर्न त्यतिबेला सहमतीय संस्कृतिको सुरुवात गरिएको थियो । किनभने, २०५२ सालमा पद्म ज्योति र विनोद चौधरीबीचको अस्वस्थ प्रतिस्पर्धाले महासंघ कमजोर मात्र भएन, विनोद चौधरीले महासंघ फोडेर सीएनआई भन्ने अर्को संस्था नै खोले ।
यस घटनाबाट पाठ सिकेर महासंघको नेतृत्वलाई सर्वसम्मत बनाउने धेरै प्रयास भए पनि प्रदीपजंग पाण्डेमाथि भएको पूर्वाग्रहले महासंघ पुनः गुट उपगुटमा विभाजन हुन पुग्यो । त्यस्तो अवस्थामा पनि महासंघलाई जोगाउन पूर्वअध्यक्षहरुको ठूलो भूमिका रह्यो । र, अस्वस्थ प्रतिस्पर्धाबाट महासंघलाई जोगाउन वरिष्ठ उपाध्यक्षलाई नै अध्यक्ष बनाउन विधान संशोधन गरियो । तर, पनि महासंघ गुटको रोगबाट मुक्त हुन सकेन । आगामी चैत २९ गते शेखर गोल्छाको अध्यक्षतामा महासंघको नयाँ नेतृत्व चयन हुँदैछ । वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान मैदानमा उत्रिएका छन् । ढकालको उम्मेदवारी घोषणासभामा पूर्वअध्यक्ष सुरज वैद्य, भवानी राणा र चण्डी ढकाल उपस्थित थिए भने, प्रधानको घोषणासभामा शेखर गोल्छा र पूर्वअध्यक्ष विनोदबहादुर श्रेष्ठ उपस्थित थिए । ढकाल र प्रधानले आ–आफ्नो टिम घोषणा पनि गरेका छन् । यस घटनाले महासंघमा फेरि अस्वस्थ प्रतिस्पर्धा दोहोरिने र महासंघलाई कमजोर बनाउने कुराप्रति पूर्वअध्यक्षहरु चिन्तित छन् ।
पूर्वअध्यक्ष रविभक्त श्रेष्ठ अहिले पनि सहमतिको प्रयासमा लाग्नुपर्ने बताउँछन् । यस विषयमा सबै पूर्वअध्यक्षहरु एक ठाउँ उभिनुपर्ने धारणा श्रेष्ठको रहेको छ । अहिले पूर्वअध्यक्षहरु नै विभाजित भएको अवस्थामा सहमतिको सम्भावना न्यून देखिन्छ । तर पनि श्रेष्ठको नेतृत्वमा पूर्वअध्यक्षहरुले गर्ने प्रयासले महासंघलाई नैतिकबल भने प्रदान गर्नेछ ।
महासंघभित्र बेला–बेला देखिने विवादमा पूर्वअध्यक्षहरुको प्रयास निर्णायक बन्ने गरेको छ । यसपटक पनि शेखर गोल्छालाई अध्यक्ष बन्नबाट रोक्न विधान संशोधनको अन्तिम तयारी भएको थियो । तर, एक कार्यकालपछि नैे विधान संशोधन गर्न नहुने अडानमा पूर्वअध्यक्षहरु उभिएकै कारण वरिष्ठ उपाध्यक्ष गोल्छाको अध्यक्ष बन्ने ढोका खुलेको हो । नभए, गोल्छा अहिले अध्यक्षको उम्मेदवार बन्नुपर्ने अवस्था आउने थियो र, गोल्छाले वरिष्ठ उपाध्यक्षमा समर्थन जनाएका किशोर प्रधानसँग अध्यक्षमा प्रतिस्पर्धा गर्नुपर्ने स्थिति सिर्जना हुने थियो । तीन वर्ष अगाडि साधारणसभामा पनि वरिष्ठ उपाध्यक्षका लागि गोल्छा र प्रधानबीच प्रतिस्पर्धा भएको थियो ।