हाम्रो विवाह यसै पनि धेरैको विवाहभन्दा भिन्न थियो । संगठनभित्र त ठिकै थियो तर, त्यो बेला बाहिर समाजमा भने अन्तरजातीय विवाह गर्नु भनेको ठूलो अपराध जस्तै हुन्थ्यो । हाम्रो भूमिगत विवाहका कारण सबैभन्दा दुःखी सरोजको बुवाआमा हुनुलाई बुझ्न सकिन्छ ।
अहिले ससुरा बुवाले यो धर्ती छोड्नु भएको दुईदशक भन्दा बढि भैसक्यो । यस्तै जाडो महिनामा, जनवरीको सुरुमै जानुभएको थियो । हरेक वर्षको हिउँदमा धेरै सम्झना हुन्छ बुवाको । बुवाको मप्रतिको दृष्टि शुरुमा जस्तो भएपनि पछि गएर त आत्मीय साथीसँगको जस्तो सम्बन्ध हुनपुग्यो । ‘समयको दुरी जति बढ्दै जान्छ त्यतिनै प्रियजनहरुको बिछोडको सम्झना धमिलो हुँदै जान्छ’ भन्ने भनाई सुनेकी थिएँ । तर, त्यस्तो भएको छैन । जति समय बित्दै गइरहेको छ, बुवालाई म उत्तिकै सम्झिन्छु । अन्तमा सबैले सम्झने कुरा त मित्रता र स्नेह नै रहेछ ।
६ वर्ष घरमा एउटै छानामुनि बस्नुपर्दा सामाजिक परम्परा र रितिरिवाजका अनेक अप्ठ्यारा भोग्नु नपरेको हैन । तर, त्यो बसाईले एक अर्काका व्यवहार र विचार चिन्ने मौका पनि मिल्यो । विभिन्न परीक्षाका घडीहरु पनि पार हुँदै गए । सबै कुरा त सधैं सम्झिइन्न, सम्झेर साध्य पनि हुँदैन । तर धेरै क्षण यस्ता हुन्छन्, जो बिर्सनै सकिँदैन ।
एउटै घरमा भएपनि म बुवासंग अलि टाढै बस्न चाहन्थें । घरको निम्ति म यसै पनि बाहिरकी थिएँ, विजातीय थिएँ । तर, समयले भेदभाव नगर्ने रहेछ । यो त मान्छेको दृष्टिको मात्र कुरा रहेछ । एकपल्ट जाडोको समयमा बुवा हिटर ताप्दै हुनुहुन्थ्यो । स्वीचअफ गर्न बिर्सिनु भएछ । अचानक कोठामा आगो लाग्यो । थाहा पाएपछि सबै मिलेर पानी खन्याउन थालियो । ठूलो आगो त निभ्यो । तर, ओछ्यान र तकिया भने भित्रभित्रै अझै बलिरहेको थियो । कोठामा सरासर पसेर ओछ्यानका डसना, तकिया, सबै बाथरुममा लगेर फ्याकी दिएँ । धाराको पानीले आगो निभाउन थालेको बुवाले हेरिरहनु भएको थियो । त्यसरी मैले आफै कोठाभित्र गएर बुवाको सामान चलाएको पहिलोपाली नै थियो । मलाई लाग्छ, यसपछि बुवा फेरिनुभयो । बोलीले तत्काल केही व्यक्त नगरेपनि मनले भने मलाई टाढाकी देख्न छोड्नु भयो ।
अर्को एकदिन म विश्वभाषा क्याम्पसमा पढाउन जाने तयारीमा थिएँ । बाथरुममा टाउको नुहाउन भनी भिजाएकी मात्र थिएँ, बाहिरबाट मेरी देउरानी बहिनीले ढोका ढक्ढकाइन् । “लौ न, बुवालाई के भयो !” भनी आत्तिएको स्वर थियो ।
मैले हत्तारमै रुमालले कपाल बेरें र बुवाको कोठामा गएँ । बुवाको सेतो धोती सबै रक्ताम्य भएको देखेँ । नाकबाट ह्वाल–ह्वाल्ती रगत बगिरहेको थियो । हत्तारमै अस्पतालमा सरोजलाई फोन गरें । तुरुन्तै अस्पतालमा लिएर आउन भने सरोजले । देउरानीको सानो बच्चा थियो त्यो बेला । म आफैले नै लिएर जानु प¥यो । धन्न घरमा एउटा पाहूना केटा आएको बेला थियो । उनैलाई ट्याक्सी लिन पठाएँ र बुवालाई अस्पताल लगेँ । त्यो बेला काठमाण्डू मोडेल अस्पताल बागबजारमा थियो । अस्पताल पुगेपछि मेरो मन हलुका भयो । सरोजलाई जिम्मा दिएर एकछिन् पछि म काममा गएँ ।
बुवालाई छिट्टै राम्रो पनि भएछ । म क्याम्पसको काम सकेपछि फेरि अस्पताल पुगेर हेर्दा त मान्छे नै अर्को जस्तो देखिनु भएको थियो । बुवा ‘स्वयम् पाकी’ हुनुहुन्थ्यो– आफैँ पकाएर खाने । बिहान पूजा गरेर खाना पकाउने बेला सेतो धोती फेर्नु पथ्र्यो । अरुबेला घरमै बस्दा पनि चट्ट सफा कपडामा टोपी लगाएर बस्नुपथ्र्यो । अस्पताल जानु अघि हतारमा पनि मैले बुवाको दराजबाट एकजोर सफा लुगा र उहाँले लगाउने गरेको टोपी झोलामा बोकेकी थिएँ– कसैको अनुमति बिना नै ।
औषधि उपचारले नाकबाट रगत आउन बन्द भएपछि, औषधिले उहाँ एकछिन निदाउनु पनि भएछ । बिउँझदा मलाई खोज्नु भएछ । नर्सहरुले लुगा पनि फेरिदिएछन् । घरबाट लगेको कपडा फेर्न पाउँदा छक्क पनि पर्नु भएछ र खुसी पनि हुनु भएछ । क्याम्पसबाट म सरासर अस्पतालमा पुग्दा बुवा मसंग धेरै नै खुसी भएर आशीर्वाद दिन थाल्नु भयो हाँस्दै ।
यस्तै अनेक घटनाहरुले मलाई बुवाको नजिक पु¥याए । अहिले फर्केर हेर्दा त्यो बेला कठीन जस्ता लाग्ने सबै क्षणहरु मेरा निम्ति परीक्षाका घडी रहेछन् भन्ने लाग्छ । हामी डेरामै हुँदा पनि यस्ता परीक्षाका घडीहरु आए ।
घर छोडेर डेरामा जाँदा बुवा कत्ति पनि खुसी हुनुहुन्न थियो । ‘तिमीहरुले घर नछोड्नु’ भनेर सिधै भनिरहनुहुन्थ्यो । बुवा वृद्ध हुँदै गएको बेला सबै सन्तानहरु नजिक भएको चाहनु स्वाभाविक थियो । यो कुरा बुझ्दा बुझ्दै पनि डेरा सर्नु पर्ने अवस्था तयार भैसकेको थियो मेरो निम्ति । बुवालाई हामी टाढिएको महसुस नहोस् भनेर घर नजिकैको डेरामा सरेका थियौं – ५,७ मिनेटको दुरीमा ।
एकपल्ट सरोजको जन्मदिनको अवसरमा बुवालाई एउटा शिरडी बाबाको सानो मूर्ति उपहार लगिदिएकी थिएँ । त्यो हेरेर बुवा भावुक हुनु भयो र “तिमीसँग कुरा गर्नु छ, बस !” भनेर नजिकैको सोफा देखाउनु भयो । म बसें । बुवाले आँखाभरी आँसु पार्दै– ‘तिमी जहाँ पुगे पनि मेरो निम्ति जल चढाउन नबिर्सिनु …” भन्नु भयो । मैले कहिल्यै सोचेकी थिइन – विजातीय बुहारीप्रतिको भेदभावका रेखाहरु यसरी आफै मेटिन्छन् भनेर । मेरो आँखा पनि भरियो । सारा जग नै फनफनी घुमे जस्तो भयो । त्यहाँ धेरैबेर बस्नै नसकेर उठेर फर्किएँ ।
पछि हात्तीगौँडाको सानो घरमा सरेपछि भौतिक दुरी त केही बढ्यो, तर हृदयको दुरी भने हराउन थाल्यो र सामिप्य बढ्यो । नयाँ ठाउँमा बस्न थालेको धेरै भएको थिएन । कस्तो घर किनेछन् यिनीहरुले भनी हेर्न आउनु भयो । सानो घर देख्दा बुवाको मन त्यति प्रशन्न भएन । तै पनि आशीर्वाद त पाएँ ।
साठी वर्ष पुगेपछि मान्छेको सोच बदलिन गाह्रो हुन्छ भन्ने भनाइ छ । तर, त्यस्तो पनि होईन रहेछ ! बुवाको मप्रतिको दृष्टिमा आएको परिवर्तनले मलाई नयाँ सत्यको अनुभव गरायो । हरेक दिन जस्तो फोनमा लामो लामो कुरा हुन्थ्यो ।
तर, ८९ वर्षको उमेरमा उहाँको मस्तिष्क आघात भएर एक महिनाभन्दा बढी अस्पतालमा राख्नु प¥यो । अन्तमा उहाँ जानु भयो । जानुभन्दा एकदिन अघि उहाँलाई आफ्नै रगत दिन पायौँ– सरोज र मैले ।
बुवाका आशीर्वचनहरू मेरो हृदयमा अझै ताजा छन्, सधैँ रहिरहनेछन् …।