Logo
Logo

मन्त्रीको हातखुट्टा बाँधियो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २० फागुन । कोरोना भाइरसका कारण नेपाल भ्रमण वर्ष स्थगित भएको छ । भ्रमण वर्ष स्थगित भएसँगै पर्यटनमन्त्री योगेश भट्टराई राम्रो काम गरेर देखाउने अवसरबाट बञ्चित भएका छन् । अब मन्त्री भट्टराईले आफू मातहतका मन्त्रालयमा भएका बेथितिहरु हटाएर चुस्त दुरुस्त बनाउने काममा लाग्नुपर्ने भएको छ ।

मन्त्री भट्टराईका सामु नेपाल वायुसेवा निगम ठूलो चुनौतीका रुपमा रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हातखुट्टा बाँधेर भट्टराईलाई पर्यटनमन्त्री बनाएपछि उनले निगमको सञ्चालकसमेत नियुक्त गर्न सकेका छैनन् । निगमको बोर्डमा महाप्रबन्धकलगायत तीन जना सञ्चालक रिक्त भएको धेरै समय बितिसकेको छ ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएर गएपछि निगम व्यवस्थापन अलपत्र छ । खरेलको राजीनामासँगै भ्रष्टाचारमा मुछिएका इञ्जिनीयरिङ विभागका निर्देशक राजेशप्रसाद श्रेष्ठले पनि राजीनामा दिएका छन् । एपियु काण्डमा मुछिएपछि श्रेष्ठले राजीनामा दिएका छन् ।

पर्यटनमन्त्री भट्टराईले निगमको महाप्रबन्धक नियुक्तिलाई प्राथमिकतामा राखे पनि प्रधानमन्त्रीसँग कुरा नमिलेका कारण उनले कसैलाई पनि महाप्रबन्धक नियुक्त गर्न सकेका छैनन् । उनलाई प्रधानमन्त्रीले ‘रबर स्ट्याम्प’ मात्र बनाएर राखेका छन् । निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषसँग दुईवटा वाइडबडी, दुईवटा न्यारोबडी जहाज खरिद गर्न लिएको ३४ अर्ब ऋणको ब्याजसमेत तिर्न सकेको छैन ।

तत्कालीन महाप्रबन्धक सुगतरत्न कंशाकार पदमा बहाल हुँदासम्म सावाँ, ब्याज तिरेको भए पनि खरेल आएपछि ब्याज तिर्न रोकेका थिए । त्यसैगरी आन्तरिक उडानका लागि ल्याइएका चिनियाँ जहाज पनि ‘ग्राउण्डेड’ छन् ।

यसैबीच कोरोना भाइरसका कारण पर्यटकहरुले धमाधम बुकिङ बन्द गरेका छन् । यसले निगमलाई ठूलो घाटामा पु¥याउने छ । कोरोना भाइरसका कारण जापानमा समेत उच्च सतर्कता अपनाइएको छ । तर, यसैबीच ओशाका उडान बन्द गरेर निगमले हिजो बिहानदेखि नारिता उडान थालेको छ । प्रधानमन्त्रीको इच्छा पूरा गर्न नारिता उडान गरिएको भए पनि यसबाट समेत निगमलाई ठूलो घाटा पर्ने त्यहाँका कर्मचारीले बताएका छन् ।

निगमको आन्तरिक व्यवस्थापनमा व्यापक सुधार नगर्ने हो भने कुनै पनि दिन निगम धरासायी बन्ने चिन्ता त्यहाँका कर्मचारीहरुको छ । तर, दुईतिहाइकोे सरकार भने कानमा तेल हालेर बसेको छ ।

प्रतिक्रिया दिनुहोस्