Logo
Logo

हमासका कमाण्डरसहित दर्जनौँ लडाकू मारिएको इजरायलको दाबी


819
Shares

एजेन्सी । इजरायली हवाई आक्रमणबाट गाजामा हमासका दर्जनौँ लडाकू मारिएको इजरायलले दाबी गरेको छ ।

दक्षिणी गाजाशहर खान युनिसमा इजरायली लडाकू विमानले हमासको सैन्य परिसरमा आक्रमण गर्दा ७ हमास लडाकूको मृत्यु भएको इजरायली रक्षा बलले शुक्रबार जनाएको छ ।

मारिएकामध्ये अक्टोबर ७ मा गाजा क्षेत्रका समुदायहरूमा इजरायलीहरूको नरसंहारमा भाग लिएका भनिएका हमासको बौद्धिक नुखबा बलका कमाण्डर पनि रहेको बताइएको छ ।

इजरायली सेनाले खान युनिसमा रहेको एके–४७ राइफल र आरपीजी लञ्चर जफत गरी हतियार भण्डारण केन्द्र ध्वस्त पारेको छ । सेनाले भनेको छ, ‘मध्य गाजा शहर मघाजीमा इजरायली स्थल सेनाले नुखबा फोर्स कमान्डरसहित करिब २० जना ‘आतङ्ककारी’लाई मारेको छ ।’

मगाजीको मध्य भागमा इजरायली सेनाले तीन जना सशस्त्र लडाकू हमासको सैन्य परिसरबाट बाहिर निस्केर आफूतिर अघि बढिरहेको देखेपछि आक्रमण गरेको थियो ।

गत अक्टोबर ७ मा गाजाको सीमा नजिकै दक्षिणी इजरायलमा रहेको इजरायली समुदायमाथि हमासले गरेको आक्रमणमा परी कम्तीमा एक हजार १४० व्यक्तिको मृत्यु भएको इजरायली पक्षले पुष्टि गरेको थियो ।

गाजामा हमासले बन्धक बनाएका पुरुष, महिला, बालबालिका, सैनिक र विदेशीको सङ्ख्या अहिले १३६ रहेको अनुमान गरिएको छ । इजरायली अधिकारीहरूले शवहरूको पहिचान र मानव अवशेषहरूको खोजी जारी राखेको र उक्त दिनदेखि अहिलेसम्म अन्य केही व्यक्तिहरू पनि सम्पर्कमा नआएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्