कपिलवस्तु कोशल राज्य अन्तरगतकै एक गण राज्य थियो । कोशल नरेश प्रसेनजीतले शाक्य कुलकी राजकुमारीसँग विवाह गरेर उनीबाट जन्मेको सन्तानलाई राजा बनाउने चाहना राखे । त्यो चाहना कपिलवस्तुका शाक्यहरूलाई पुरा गर्न त लाचार थिए । तर, प्रसेनजित क्षेत्रीय भएकोले उनीहरूलाई जातीय अहङ्कारले गर्दा राजकुमारी विवाह नगरिदिएर झुक्काएर महानाम शाक्य (राजा शुद्धोदनका भाइ ) कि दासी पुत्री बखमखतिया लाई प्रसेनजीतलाई विवाह गरिदिए ।
उक्त विवाह पश्चात् बखमखतियाले एक छोरा जन्माइन । उसको नाम बिढुडक राखियो । राजकुमार बिढुडक बारम्बार मामाघर जानबाट आमाले अस्वीकार गरिरहिइन किनकि उनलाई आफू दास पुत्री भएको भेद खुल्छ भन्ने डर थियो । दुई राज्यको बेमेलले युद्ध हुने भय थियो । यसबाट जोगाउन धेरै पटक उनले बिढुडकलाई मामाघर जान रोकिरहिन ।
जब राजकुमार ठूला भए उनले आमाले रोकेर रोकिने कुरा थिएन उनी आफ्ना साथीहरू र अङ्गरक्षक लिएर कपिलवस्तु आए । कपिलवस्तुमा उनको भव्य स्वागत त भयो । खानपान र बसाई उठाई राम्रै गरियो । तर उनी जब कोसल राज्यतर्फ फर्किए उनले खाना खाने ठाउँमा उनको तरबार छुट्न गयो ।
त्यही तरबार लिन उनले उनका अङ्गरक्षकलाई पठाए । उनका अङ्गरक्षक त्यहाँ पुग्दा उनी बसेको ठाउँमा दूधले पखालिँदै थियो । त्यो आश्चर्यजनक दृश्यको रहस्य बखमखतियाबाट जन्मेको राजकुमार तल्लो जातको भएको हुँदा स्थान शुद्धिका लागि भएको भन्ने भेद खुल्न गयो । यो कुरा अङ्गरक्षकले बिढुडकलाई सुनाए ।
यसरी कोशल राज्यका राजा प्रसेनजीतमाथि भएको यो अपमान र षडयन्त्रबिरुद्ध विढुडकले शाक्यहरूको रगतले नुहाउने भयानक संकल्प गरे । त्यही सङ्कल्पको आदि र अन्त्य, उकुसमुकुसपूर्ण दरबारी कथा, भगवान् बुद्धले युद्ध रोक्न गरेका प्रयास, प्रसेनजीत र बुद्धको संवाद नै सगरहवाको कथा हो ।
यो कथा जातीय अहङ्कारको कारण कसरी समृद्ध गणराज्य पतन हुन्छ भन्ने कहानीको कथा पनि हो । यो कथा कर्मफलले कसरी मानिसलाई छाया जसरी आफ्ना कर्ममा पछाउँछ भन्ने सन्देश दिने कथा पनि हो । कोशल राज्यका अगाडि कपिलवस्तु राज्य सानो थियो । कोशल राज्य विशाल सैन्य शक्ति भएको राज्य थियो ।
भगवान् बुद्धसँगको मित्रताका कारण प्रसेनजित यो थाहा पाएर पनि कपिलवस्तु माथि आक्रमण गर्न सकेका थिएनन । तर युवराज बिढढकले आक्रमण गर्ने प्रयासलाई उनी कपिलवस्तु आक्रमण गर्न जाने बाटोमा बुद्धले शुकेका बृक्ष मुनि बसेर ध्यान मुद्रामा बसे ।
बुद्धले बिढुढकलाई आफन्तको काख जस्तै भएपनि अमृत सरह हुन्छ भनेर सन्देश दिए । यसरी दुई पटक सम्म बुद्धले युद्ध रोके । तेस्रो पटक भने उनले रोक्न सकेनन् । अन्तर्ध्यानबाट यसको कारण खोज्दा पूर्व जन्ममा शाक्यहरूले खोलामा विष हाली माछा मारेको फलले गर्दा प्रारब्धकै कारण भएको निष्कर्षमा पुगेका कारण तेस्रो पटक बुद्धले युद्ध रोक्नु भएन भनेर बौद्ध ग्रन्थहरूमा उल्लेख रहेको छ ।
त्यो युद्ध भएको स्थल सगरहवा कपिलवस्तु नपा वडा नं ९ को लम्बुसागर हो भन्ने आधारमा यहाँ ५२ विगाह क्षेत्रफलको जग्गा लुम्बिनी विकास कोषले अधिग्रहण गरेर तारबार गरेको छ । यही स्थानमा त्यो प्राचिनकथालाई मूर्तिकरण गर्न मूर्तिकार्यशाला राखिएको हो ।
यो त कथा भयो तर ऐतिहासिक प्रमाणीक तथ्य के हो त ? भन्ने कुरा आउँछ । शाक्यमुनी बुुद्धको जीवनको उतारार्धतिर कोशाला राज्यका राजा विरुढकले प्रतिशोधवश प्राचीन कपिलवस्तु राज्यका शाक्यहरूको सामूहिक वध गरेको स्थानका रुपमा सगरहवालाई चिनिन्छ । स्थानीयहरूले लुम्बुसागरको नामाकरण गरेको यहाँ प्राचीन स्तुपा, विहार, इट्टा लगायतका संरचनाहरू भेटिएका छन् ।
पोखरीको पश्चिम र दक्षिण भागमा शाक्यहरूले आफ्नो वंशको नरसंहार भएपछि सम्झनामा सयौँ स्तुपाहरुको निर्माण गरेको चिनियाँ यात्री हुयन साङको सन् ६३६को यात्रा वर्णनमा पाइन्छ । सन् १८९७ मा नेपाल सरकारको तर्फबाट डा. फुरहरद्धारा गरिएको उत्खनन अन्वेषणमा ठूलो वर्गाकार स्तुपको चारै दिशामा हजारौँको सङ्ख्यामा साना स्तुप भेटिएको र मुख्य स्तुपभित्र हड्डी, सुन, चाँदी, क्रिस्टल तथा रुबी जस्ता सामाग्री भेटिएको थियो ।
कार्यशालामा १५ जनार मूर्तिकार र १५ जना सहयोगी मूर्तिकारहरूले पुस २३ बाट माघ ८ सम्म मूर्तिका दिनेछन् । यी मूर्तिहरू लुम्बिनी विकास कोषका तर्फबाट परिषद् बैठकका लागि नीति र योजना, बजेट निर्माण गर्ने क्रममा कोषाध्यक्षको रुपमामैल नै तयार गरेको परिकल्पनालाई कपिलवस्तुकै बौद्ध अध्यनार्थिहरु कै विज्ञ समूहले सरलीकरण गरेको थिमहरूमा आधारित भएर भएको आव्हानमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आबद्ध देशभरका मूर्तिकारहरूबाट आएका २५ म्याकेटहरु मध्येबाट छनौट गरिएको हो ।
यो कार्यशालामा सगरहवा क्षेत्रका जनता र जनप्रतिनिधि, स्थानीय संस्था र सामुदायिक सङ्गठनहरू क्रियाशील भएर सक्रियता देखाउनु भएको छ । दिनहुँ स्थानीय कला समूहहरूले मूर्तिकारहरूले थकाई मार्ने समयमा नृत्य प्रस्तुत गरेका छन् । विभिन्न समसामयिक सवालहरू कपिलवस्तुको पर्यटन विकासमा कसरी योगदान गर्ने भन्ने विषयमा बहस छलफल पनि हुने कार्यक्रम तय भएको छ । यो स्थान विश्व वन्यजन्तु संरक्षण कोषले संरक्षित क्षेत्रमा राखेको जगदिशपूर तालबाट करिब २०० मिटरको दुरीमा रहेको छ ।
यहाँबाट ५०० मिटर वरिपरि विश्वकै अग्लो बुद्ध मूर्ति स्थल बनाउने गरी एउटा परियोजनाले पनि काम गरिरहेको छ । यही नजिक बाणगंगा किनारकै जंगलमा त्रिपिटक पार्क बनाउने अर्को परियोजना पनि चर्चामा छ ।
सगरहवा को विकास कसरी गर्ने भन्ने बहस अव सुरु भई नै सकेको छ । अव यो बहसलाई तार्किक निष्कर्ष दिनु पर्छ । कार्यशालामा लुम्बिनी विकास कोष मात्र नभएर बहुपक्षीय सरोकारवालाहरूलाई जोडने काम गरिनु यसैको एउटा प्रारम्भिक मोडल हो ।
विकास र परिवर्तन सरकारको एक्लो प्रयासले मात्र हुने होइन । यसर्थ समान उद्देश्य बोकेकाहरू र स्वार्थ वा लाभ लिने र मिल्ने समूहहरू एकलयमा काम गरेर मात्र सम्भव हुन्छ । यसका लागि लुम्बिनी विकास कोष, पुरातत्त्व विभाग कपिलवस्तु नगरपालिका, पर्यटन पूर्वाधार कार्यालय लुम्बिनी प्रदेश, पर्यटन विकास परिषद्, पर्यटन व्यवसायीहरूको संस्था नाटा, टुरगाईड उत्पादन गर्ने संस्था नाथम, नेपाल पर्यटन बोर्ड लगायत स्थानीय संघ संस्थाहरू एक ठाउँमा आएर एकीकृत परियोजना विकास गर्नुपर्छ ।
सगरहवाका लागि प्राथमिक काम छन् । पुरातत्त्व विभागले पुरातात्त्विक संरक्षित क्षेत्र र पर्यटन व्यवस्थापनका लागि पूर्वाधार निर्माणका क्षेत्र, बिहार निर्माण तथा सांस्कृतिक गतिविधि गर्ने क्षेत्र भनेर क्षेत्रको वर्गीकरण गरिदिनु पर्छ । त्यसका आधारमा विकास एजेन्सीहरू र संरक्षित एजेन्सीहरू कार्यक्षेत्र अलग अलग भयो भने कोष र नगरपालिकाले पनि मिलेर काम गर्ने बाटो खुल्छ । सम्भावनाका हिसाबले तिलौराकोट विश्व सम्पदा सूचिमा सूचिकृत हुने क्रममा छ । सगरहवा क्षेत्र पनि तिलौराकोटकै सम्बन्धित क्षेत्र भएकोले लुम्बिनी र तिलौराकोट आउने पर्यटकहरूलाई सगरहवा तान्ने योजना सजिलो हुन्छ ।
निष्कर्षः सबै क्षेत्र संघिय सरकारले मात्र काँध थाप्न नसक्ने भएर नै ३ तहको सरकारको संविधानले परिकल्पना गरेको हो । प्रदेश सरकार र स्थानीय सरकारले पनि पुरातत्विक क्षेत्रको संरक्षण र विकास बारे कामहरू गर्ने अधिकार बाँडिएको छ । स्थानीय सरकार पालिका तहले पनि पर्यटन र पुरातत्त्वको शाखा गठन गरेका काम अघि बढाउन सक्छ ।
पर्यटन प्रवर्द्धनको क्षेत्रमा काम गर्ने संस्थाहरूले टुर प्याकेजहरू बनाउने र कथाहरूलाई लक्षित समूह अनुसार प्रचार प्रसार गरेर पर्यटकहरू भित्राउन सहकार्य गर्नुपर्छ । शाक्यहरूको पितृस्थलको स्मारक क्षेत्र हो यसर्थ शाक्य कुलबंशीहरुले यसले बिशेष सांस्कृतिक क्षेत्रको रुपमा ग्रहण गर्नुपर्छ । पर्यटन भनेकै आकर्षण र कथा बेचेर उत्पन्न हुने व्यावसायिक क्रियाकलाप हुन ।
सगरहवाबाट २०८० पुस २६
(कपिलवस्तुमा आयोजित कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला २०८० का सन्दर्भमा लेखिएको )