Logo
Logo

न्यायाधीश भुवनविरुद्धको मुद्दामा भोलि सर्वोच्चमा पेसी


1k
Shares

काठमाडौं । न्यायाधीश भुवन गिरीविरुद्धको मुद्दामा भोलि बुधबार पेसी तोकिएको छ । भुवनविरुद्ध उनकी जेठी पत्नी आरती रावल गिरीले वैवाहिक बलात्कार मुद्दा दायर गरेकी छन् । उक्त मुद्दामा बुधबार पेसी तोकिएको हो ।

श्रीमानले आफूलाई ‘वैवाहिक बलात्कार’ गरेको आरोपसहित न्यायाधीश आरती लामो समयदेखि कानूनी संघर्षमा छिन् । यसअघिको उनको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।

सर्वोच्च अदालतको गेटमा आरतीलाई नियन्त्रणमा लिँदै प्रहरी ।

जिल्ला प्रहरी कपिललस्तुमा दिएको जाहेरीका आधारमा प्रहरीले न्यायाधीश गिरीलाई केही समयअघि काठमाडौंबाट पक्राउ गरेको थियो । तर, काठमाडौं जिल्ला अदालतले उनलाई धरौटीमा छाड्ने आदेश दियो । उक्त आदेशविरुद्ध आरतीले उच्च अदालत ललितपुरमा पुनरावेदन गरिन् । उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गरेपछि आरती सर्वोच्चमा पुगेकी हुन् ।

आरतीले न्यायाधीश गिरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गरेकी छन् । आरती र भुवनको औपचारिक सम्बन्धविच्छेद भएको छैन । न्यायाधीश गिरीले बाँके जिल्ला अदालतमा दायर गरेको सम्वन्धविच्छेदको मुद्दा अदालतमा विचाराधीन छ । डिभोर्सकै प्रक्रियामा आफूलाई भुवन गिरीले बलात्कार गरेको भन्दै आरतीले मुद्दा दिएकी छन् ।

सर्वोच्चले यदि जिल्ला र उच्चको आदेश उल्टाइदिए गिरी फेरि थुनामा जानुपर्ने हुन सक्छ । होइन भने बाहिरै रहेर मुद्दा लड्न सक्नेछन् । आरतीले भने गिरीलाई थुनामा राख्ने आदेश नभएको खण्डमा आमरण अनशनमा जाने बताउँदै आएकी छन् ।
दुई दिनअघि मात्र आरतीले सर्वोच्च अदालत परिसरभित्र आत्मदाहको प्रयास गरेकी थिइन् ।

यस्तै, आज मंगलबार बिहान सर्वोच्च पुगेकी उनलाई प्रहरीले गेटमै नियन्त्रणमा लिएको थियो । न्याय माग्दै नाराबाजी गरेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्