इतिहास यस्तोसम्म छ, ‘संसारका क्रूर तानासाह एडोल्फ हिटलरको पार्टीको नामसमेत ‘राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी !’ समाजवादप्रति मोहको उदाहरण यो भन्दा अरू के हुन सक्ला ?
महान् दार्शनिक कार्ल मार्क्सले परिकल्पना गरेको वैज्ञानिक समाजवादको व्यवहारिक प्रयोग गर्ने पहिलो मुलुक रसिया हो । जहाँ कमरेड लेनिनले सन् १९१७ मा समाजवादी क्रान्ति सफलतापूर्वक सम्पन्न गरेका थिए ।
रसियामा एक सय वर्ष पहिले समाजवादी क्रान्ति कसरी सम्पन्न भयो होला ? वैज्ञानिक समाजवादप्रति चासो राख्ने आजका युवाको मनको प्रश्न यहीँ हो । आधुनिक समयका हामीले बुझ्न नसकेको समाजवादी व्यवस्था, त्यो बेलाका रसियन नागरिकले कसरी बुझे होलान् ?
जब रसियामा लेनिनले समाजवादी क्रान्ति सफलतापूर्वक सम्पन्न गर्नुभयो, मार्क्स विरोधीले समेत समाजवादको नारा घन्काउन थाले । उन्नत राजनीतिक व्यवस्था भएकै कारण समाजवादप्रति गैर मार्क्सवादीहरू समेत लालहित बनेका हुन् । त्यसैले त होला तानासाह हिटलरले समेत पार्टीको नाम समाजवादी राखेको !
समाजवादप्रति मजाक हिलटर कालदेखि नै सुरु भयो । आज कम्युनिष्ट विरोधीहरू समेत समाजवादको नारा घन्काइरहेका छन् । कुन दिमाग चलेर गैरकम्युनिष्टहरूले समाजवादको नारा घन्काइरहेका होलान् ? सच्चा समाजवादीको मनमा बग्रेल्ती प्रश्न छ ।
यसरी समाजवाद प्रतिको भद्दा मजाक आजबाट होइन, हिलटरकालदेखि नै सुरु भएको हो । आज कम्युनिष्टका धुरन्धर विरोधीहरूसमेत समाजवादको नारा घन्काइ रहेका छन् । कुन दिमाग चलेर गैरकम्युनिष्टहरूले समेत समाजवादको नारा घन्काइरहेका होलान् ? सच्चा समाजवादीको मनमा बग्रेल्ती प्रश्न छ । आज नेपालमा समेत समाजवादी हुँ भन्ने नेपाली कांग्रेसदेखि भर्खर जन्मेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत देखा परेको छ ।
रास्वपाले सार्वजनिक गरेको दस्ताबेजमा आफ्नो दल समाजवादप्रति प्रतिबद्ध रहेको उल्लेख छ । उसको प्रस्तावनामा छ– शान्तिपूर्वक मार्गबाट नै समाजवादका प्रधान लक्ष्यहरू संविधानमा निर्दिष्ट गरी तदनुकूल राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य सञ्चालनको अठोटलाई संवैधानिक समाजवादका रूपमा व्याख्या गर्दै अप्रिय ऐतिहासिक विरासतका रूपमा विद्यमान लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीय लगायत सबै प्रकारका संरचनात्मक विभेदहरू विरुद्ध निर्णायक सम्बोधन गर्न अवसरहरूको न्यायिक वितरण, पहुँच र उपयोगमा जोड दिइनेछ ।
रास्वपा फेरि भन्छ, हाम्रो पार्टी उदार अर्थतन्त्रमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी हो । समाजवादी अर्थतन्त्रबिना समाजवादको परिकल्पना कसरी गर्न सकिन्छ ? उदार अर्थतन्त्रको कुरा गरेर समाजवादी हुँ भन्नु समाजवादप्रतिको मोहलाई भ्रमित पार्नु हो । उदार अर्थतन्त्रको वकालत गर्ने पार्टी पूर्णतया पूँजीवादी धारको पार्टी हो ।
उदार अर्थतन्त्र मानेर समाजवादी हुँ भन्नु समाजवादप्रतिको यो भन्दा भद्दा मजाक के हुन सक्ला ? उन्नाइसौं शताब्दीमा हिलटरको समाजवादी पार्टी हुनु र आजको दिनमा रास्वपाले उदार अर्थतन्त्र मान्ने समाजवादी हुँ भन्नु सारमा एउटै कुरा हो ।
शिक्षा, स्वास्थ्य, रोजगार दिएर मात्र समाजवादी हुनु होइन । न त गरिब मुलुक विकसित हुँदैमा त्यो मुलुक समाजवादी हुने हो । समाजवादको सार राज्य व्यवस्थासँग प्रत्यक्ष जोडिन्छ । लोककल्याणकारी राज्यको नाममा मार्क्सवादलाई गलत देखाएर ‘समाजवादी हुँ’ भन्ने जस्तो अराजनीतिक कार्य अरू हुन सक्दैन ।
कतिपय भ्रम त्यागौँ
नेपालको लोकतान्त्रिक व्यवस्था सामन्तवादभन्दा केही फरक व्यवस्था हो । पञ्चायती शासनको अन्त्य पश्चात् मुलुकमा बहुदल स्थापना हुनु र दुई सय चार वर्षे राजाको शासन फ्याँकी गणतन्त्र ल्याउनु मुख्य उपलब्धि हो ।
संसारमा पूँजीवादीहरूले समेत तानासाहलाई स्वीकार गरेको इतिहास छैन । पूँजीवादीहरू समेत स्वतन्त्र बाँच्न, पेसा व्यवसाय गर्न चाहन्छन् । त्यसैले त संसारमा वंशले गर्ने शासन प्रणालीको अन्त्य गरी पूँजीवादी पार्टीहरूले भने जस्तो लोकतन्त्र हुँदै देशहरू लोकतान्त्रिक व्यवस्थाको बाटोमा हिँडेका छन् । उनीहरूको अन्तिम गन्तव्य यहीँ मात्र हो । जहाँ पुँजीवादी समाज हुन्छ, त्यहीँ नै उनीहरूको राजनीतिक अन्तिम विन्दु हुन आउँछ । नेपालमा समेत यहीँ व्यवस्था आयो ।
संसदीय व्यवस्थाभित्रका कतिपय सुन्दर पक्ष छँदै छन् । मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता जस्ता विषय यहीँ व्यवस्थाभित्र छन् । कानुनी राज्य, आर्थिक समृद्धिजस्ता नाराहरू पनि घन्किरहेका छन् । रोजगारीको ग्यारेन्टीसमेतका लोकप्रिय नारा यहाँ घन्काइएको छ । साँच्चिकै भन्ने हो भने यहीँ नै हो वैज्ञानिक समाजवाद भन्ने कतिपयलाई भ्रम छ । र त, वैज्ञानिक समाजवादको कुरा गर्दा अब आर्थिक समृद्धिको यात्रा हो, राजनीतिक क्रान्ति सकियो, व्यवस्था फेरियो भन्ने जस्ता भाष्य तयार गरिएको छ । यो यात्रामा नेपालका कतिपय कम्युनिष्ट पार्टीहरूसमेत छन् ।
संसदीय राजनीति भित्रबाट वैज्ञानिक समाजवादको सपना हामीले देखिरहेका छौँ । देशको विद्यमान व्यवस्था स्विकार्नु, यसमा संलग्न हुनु एउटा इमानदार राजनीतिक दल र त्यसका कार्यकर्ताले गर्नुपर्ने काम हो । तर यहीँ नै गन्तव्य बनाइनु समाजवाद प्रतिको भ्रम हो । हाम्रा देशका कम्युनिष्ट पार्टीले यहीँ व्यवस्थाबाट मुक्ति खोजेका हुन् भने त्यो असम्भव छ ।
मुखमा मात्र समाजवाद
आज मुलुकमा तीन तहको सरकार छ । तीन वटै तहमा कम्युनिष्ट विचार बोक्ने पार्टीकै सरकारहरू छन् । काम गर्नका लागि पर्याप्त अवसरहरू छन् । तर कम्युनिष्ट भनिएका पार्टीले समेत समाजवादको ‘स’ कार्यान्वयन गरेको देखिँदैन । सिद्धान्त व्यवहारका लागि हुनुपर्छ । सिद्धान्त घोकाई र किताबमा मात्र हुनु हुँदैन । व्यवहार अनुसारका विचार भए मात्र पार्टी र आन्दोलन जनता माझ लोकप्रिय हुने हो ।
आज हामीले मानेका कम्युनिष्ट पार्टीका सरकारले सिद्धान्त अनुसारका व्यवहार प्रयोगमा ल्याएका छन् त ? आज प्रश्न यहाँ छ । मुलुकमा राजनीतिक स्थिरताको अभाव छ । अस्थिर चरित्रको राजनीतिक व्यवस्थाको कारण सोचे अनुसार, अझ भन्ने हो भने सिद्धान्त अनुसारको काम गर्न सकिएन भन्ने धेरै पार्टीका दस्ताबेज पढ्न पाइन्छ । यो कहाँसम्म सत्य थियो भने, ०७२ सालको संविधान बन्नुपूर्वसम्म ।
०७२ को संविधान पश्चात् मुलुकमा संघीयताको कार्यान्वयनमा गएको हो । संघीयता कार्यान्वयनसँगै तीन तहको सरकार बनेका हुन् । केन्द्र सरकार सधैँ अस्थिर रहँदै आएको छ । पञ्चायत, राजा, बहुदल हुँदै गणतन्त्रसम्म आइपुग्दा सरकारहरू नटिक्ने क्रम निरन्तर चलिरहेको छ । यो समस्या केन्द्र सरकारमा छ । यसो भएको कारण कतिपय विचारहरू व्यवहारमा कार्यान्वयन गर्न असहज भएको होला भन्न सकिने अवस्था हुन्छ । तर हामीले बनाएका स्थानीय सरकारहरू पक्कै अस्थिर छैनन् ।
आजको दिन स्थानीय सरकार कानुनी हिसाबमा अधिकार सम्पन्न छन् । स्थानीय सरकारले चाहे जे गर्न सक्ने पर्याप्त आधारहरू छन् । यिनै स्थानीय सरकारमा कम्युनिष्ट विचारका कयौँ सरकार प्रमुख छन् । तर उनीहरूको काम समाजवादप्रति प्रतिबद्ध भएको भेटिँदैन ।
सिंगो भारतमा दक्षिणपन्थी दलको आधिपत्य रहँदा केरला जस्तो प्रान्तमा कम्युनिष्ट पार्टी र उसका विचार लागू हुन्छ भने हाम्रो देशमा स्थानीय सरकारले किन समाजवादको प्रयोग गर्न सक्दैनन् ? समस्या व्यवहारमा छ । जबसम्म आम प्रवृत्तिमा परिवर्तन आउँदैन तबसम्म कुनै पनि विचार प्रयोग गर्न सकिँदैन । आज हाम्रो समस्या यहीँ हो । आज हाम्रो जीवनशैली, चालचलन, संस्कार, संस्कृति पूँजीवादी चरित्रका छन् । समाजवाद जप्ने बाहेक अर्को हुन सकेको छैन ।
अब के गर्ने ?
साँचो अर्थमा वामपन्थी विचार बोकेका दलले मात्र समाजवादी राज्य व्यवस्थाको अभ्यास गर्न सक्छ । यो वास्तविकताप्रति आमजनतालाई सजग र सचेत बनाउनु आजको प्रमुख अभिभारा हो । फेरि वामपन्थी विचार बोकेका दलहरू प्रति नै कतिपय मतभेद भेटिन्छ ।
सारमा विचार एउटै भए पनि कार्यशैलीका कारण एउटै पार्टी हुन सकेको छैन । सकिन्छ एउटै पार्टी बनाउने, सकिँदैन विभिन्न मोर्चाबाट सहकार्य गरेर अगाडि जानुपर्छ । यसो भए मात्र समाजवादी विचारले लिड गर्न सक्ने वातावरण हुन सक्छ । होइन, वामपन्थीबिच केहीमा मिल्न सकिँदैन भने आ–आफ्ना पार्टीले जितेका ठाउँमा समाजवादी चिन्तनसहितका कामका अभ्यास गरेर देखाउनुपर्छ ।
हाम्रा व्यवहारका शैलीमा समाजवाद झल्किनुपर्छ । विभेदविहीन समाज बनाउने देखि श्रमप्रतिको सम्मानमा हामी लाग्नुपर्छ । जसले पनि समाजवाद जप्ने प्रथाको अन्त्यको लागि पनि समाजवादी विचारक चिन्तित हुन जरुरी छ । पूँजीवादीले ‘समाजवादी हुँ’ भन्नु भनेको समाजवाद प्रतिको भ्रम बढाउनु हो यसमा गम्भीर बनौँ ।