Logo
Logo

पुस मसान्तको दिन एनसीएचएलबाट ८४ अर्बको भुक्तानी फर्छ्यौट


315
Shares

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले पुस मसान्तको दिन ८४ अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी फर्छ्यौट गरेको छ ।

गत वर्ष सोही दिनमा भएको भुक्तानी कारोबारको तुलनामा यो संख्याको आधारमा ६० प्रतिशत र रकमको आधारमा ७० प्रतिशत ले वृद्धि भएको एनसीएचएलले जनाएको छ ।

एनसीएचएलका प्रणालीमध्ये एनसीएचएल(इसीसीबाट ४१ अर्ब, एनसीएचएल आइपीएसबाट १४ अर्ब र आरपीएसबाट २९ अर्ब रुपैयाँ बराबरको भुक्तानी कारोबार उक्त एक दिनमा फर्छ्यौट भएको हो ।

विद्युतीय भुक्तानीको प्रयोगसँगै आरपीएसअन्तर्गत कनेक्ट आइपीएस (वेब, एप तथा गेटवे), कर्पोरेट पे, बैंक शाखा, मोबाइल बैंकिङ, वालेट तथा एनपीआईसँग जोडिएका विभिन्न च्यानलमार्फत रियल टाइम भुक्तानीको संख्यामा अधिकतम वृद्धि भएको कम्पनीले जनाएको छ ।

त्यस्तै, पुस मसान्तमा एनसीएचएल(आइपीएसबाट १.६ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन तथा ६.८ अर्ब बराबरको सरकारी खर्च सम्बन्धी १ लाख २५ हजार भन्दा बढी भुक्तानी भएका छन् । सरकारी भुक्तानी सम्बन्धी कारोबारहरु कनेक्ट आइपीएस, कर्पोरेट पे, नेपाल पे, क्यूआर गेटवे, बैंक शाखा, मोबाइल बैंकिङ तथा वालेटमार्फत गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्