हात्तीगौंडाको सानो घरले हामीलाई धेरै कुराहरू दियो जीवनमा । आत्मविश्वास दियो । साथीहरू दियो । साहित्यमा अगाडि बढ्ने अवसर दियो । अरु सृजनशीलता पनि दियो ।
सडक तातिरहेको बेला थियो त्यो । ‘नेपाल बन्द’ प्रायः भइरहन्थ्यो । कहिले एक दिन, कहिले कैयौं दिन । गाडी नचलेको बेला पनि सकुञ्जेल हिंड्थेँ । ‘बन्द’का कारण घरमै थन्किएको बेला भने साहित्यसँग खेल्ने गर्थें । कहिलेकाहीँ सरोज र म कवितामा ‘अन्ताक्षरी’ खेलेर पनि समय बिताउँथ्यौं । यसरी खेल्दाखेल्दै सृजना भएका कविताहरूको संग्रह र अन्य पुस्तकहरू पनि निकाल्न सक्यौं । अत्यन्त व्यस्त हुँदाहुँदै पनि सरोजको चित्रकलामा र गार्डेनिङमा रूचि बढ्यो ।
पहिले किशोरावस्थाको संवेदनशील मनले कविता लेखाउँथ्यो । मनको बह पोख्न, भावनाका छालहरूबाट जोगिँदै जीवनमा तैरिन र अनुभूतिका थप्पडबाट ओत लाग्न पनि म कविताको सहारा लिन्थें ।
कुनै बेला कथा पनि लेख्थें । तर, सबै छापिँदैन थिए । त्योबेला अति गोप्य संगठनको कार्यकर्ता हुनुको कारण पनि प्रकाशमा आउँदैनथियो । आफ्नै साथी र दिदीहरूलाई सुनाउनेसम्म गर्थेँ । जागिरे साथीहरूले टाइप गरिदिएर एकमुठा कविताको पाण्डुलिपी पनि तयार भएको थियो ।
पहिले पनि ठाउँठाउँमा उल्लेख गरेको छु– असुरक्षाका कारण ती पाण्डुलिपि इनारमा डुब्नुपरेको कुरा । लेखेका कविताहरू पानीमा खसिसकेपछि निक्कै लामो समय मैले ‘कविता’ नै भनेर लेखिनँ । यद्यपि, भावनामा बगेको बेला आफ्नै डायरीमा केही न केही लेख्ने गर्थें ।
हामी डेरामै हुँदा एकपल्ट मञ्जुल दाइ भाउजुसँगै मकहाँ आउनु भयो । कविहरू आएको बेला कविताको कुरा हुनु स्वाभाविक थियो । दाइको कविता सुनें, ‘मेरो पनि कविता त छ, तर डायरीमा छ दाइलाई सुनाउँ ?’ भनेर अप्ठेरो मान्दै सोधेँ । साँच्चैको कविता भयो कि भएन भन्ने डर पनि थियो ।
‘रात’ शीर्षकको एउटा कविता दाइलाई खुब मन परेछ । उहाँले मलाई गाली नै गर्नुभयो ‘यस्तो कविता पनि लुकाएर राख्ने ! छपाउनु पर्दैन ?…’ पहिले पहिले सम्पूर्ण आकाशमा लेख्ने गरेको लेख र अन्य गद्य कृति दाइलाई सुनाउँदा ‘बहिनीलाई निबन्ध, आख्यान जस्ता गद्य विधा नै सुहाउँछ’ भन्नु भएको याद आयो मलाई । यस पटक भने कविता लेख्नुपर्छ भनेरै जोड गर्नुभयो ।
मेरो निम्ति ठूलो प्रेरणा भयो कवि मञ्जुलको गाली । मैले फेरि अर्को सुनाएँ । सानो सानो कविताहरू दाइले मनपराइदिए पछि साँच्चै नै कविता लेख्नमा मलाई हौसला मिल्यो । म लेख्न थालेँ…।
सरोजलाई पनि कविता मन पथ्र्यो । भूमिगत अवस्थामा पनि कविता लेखेर मलाई सुनाउने मात्र होईन, चिठीमा समेत कविता हुन्थ्यो । हाम्रो पहिलो सन्तान जन्मिनुभन्दा अगाडि मात्र ‘अझै नजन्मिसकेको सन्तानसँग’ शीर्षकमा एउटा लामो कविता लेखेर सुनाएका थिए ।
त्यो कवितामा उनको सपना र त्यो बेलाको विपना सबै स्पष्ट चित्रित थियो । देश थियो, जनताप्रतिको माया थियो, भावनाले भरिएको त्यो कविताले मलाईमात्र हैन अरूलाई पनि रुवाएको थियो । तर, त्यो कविता कहिल्यै छापिएन । मैले पनि त्यो छाप्न कहिल्यै कर गरिनँ ।
अहिले फर्केर हेर्दा त्यो सपना र यथार्थमा धेरै फरक पनि भइसकेको छ, देश र नेताहरूको अवस्था हेर्दा । तर, त्यो बेलाको भावना कति पवित्र थियो !
कतिपय परिस्थितिमा हाम्रो भावना कवितामै व्यक्त हुन्थ्यो । र, फुर्सदको बेलामा हामी कविताको अन्ताक्षरी खेल्न मात्र नभएर अरुका कविताहरू पनि संगै पढ्थ्यौँ ।
सन् २००३ सम्म पुग्दा मेरो पहिलो कविता कृति ‘अनुभूतिका थोपाहरू’ निस्क्यो । त्यो पुस्तकको गाताका निम्तिमात्र हैन, भित्री पृष्ठ र केही कविताका निम्तिसमेत विख्यात चित्रकार किरण मानन्धरले चित्र बनाइदिनुभयो ।
अधिकांश कवितालाई सरोजले, अनि आफ्नै ठूली छोरी र डा. किरण नकर्मीले आफ्नो चित्रले सजाइदिए । कविता संग्र्रहसँगै कविताको श्रव्यदृश्य संस्करण पनि निस्केको थियो । छापा र श्रव्यदृश्य दुवै संस्करणमा मञ्जुल दाइको भूमिका थियो ।
त्यही श्रव्यदृश्य कविता संग्र्रहको अंग्रेजी भावानुवाद सन् २००४ को बर्लिन ‘जेब्रा पोइट्री फिल्म फेस्टिभल’मा पुग्यो र, अन्तर्राष्ट्रिय नोमिनेशनमा पर्याे ।
मनोनित भएको समाचार र बधाईसँगै फेस्टिभलमा पुग्न निम्तो पनि पठाएका थिए आयोजकहरूले । प्रकाशक र मूल वाचकका रूपमा ‘प्यारासेल्सस’का डा. सरोज धिताल, निर्देशकका रूपमा ‘सरोज’ नै नाम भएका अर्का एकजना युवा साथी र कविको रूपमा म तीनजनालाई बोलाएका थिए ।
यो सुनेर ज्यादै खुसी लाग्यो । जाने मन पनि गरेकी थिएँ । तर, सरोज भने अस्पतालमा धैरै नै व्यस्त हुनुपर्ने अवस्था थियो । त्यो बेला मोडेल अस्पतालमा धेरै सर्जन थिएनन् । सबै भार एकजना जुनियरलाई छोडेर जाने मन गरेनन् । त्यहाँमाथि सरोज आन्दोलनमा पनि व्यस्त थिए । मैले ‘जाऔं न’ भन्दा ‘…सिरियस बिरामीहरूलाई छोडेर कहाँ मेलामा जाने !’ भने । म चुप लागेँ । सरोज नै नाम भएका उनै अर्का युवा मात्रै गए बर्लिनमा ।
अन्तर्राष्ट्रिय जगतमा आफ्नो पहिलो कविता कृति पुग्नु र नचिनेका पाठकहरूले मनपराइदिनु भनेको मेरो निम्ति अत्यन्त खुसीको कुरा थियो । तर, त्यो हाम्रो निम्ति धेरै महंगो पर्याे । त्यही भिसिडीका निम्ति भनेर मात्र त्यो महंगो लगानी गरेको थिएन ।
स्वास्थ्य विज्ञानको शिक्षण लगायत अस्पतालका अन्य काममा पनि मद्दत होस्, अनि भर्खरै बिहे भएका नवयुवा दम्पतिलाई काम पनि मिलोस् भनेर आफू ऋणमै डुबेको बेला थप आठ लाख ऋण लिएर सहयोगको भावनाले सरोजले बन्दोबस्त गरेका थिए ।
आफूसँग पैसा नभएको बेला त्यसरी ऋण लिएर अरुलाई सहयोग गर्ने कुरा मलाई ठीक लागेको थिएन । तर, उदार मनले कामै भइसकेपछि विरोध गर्नुको पनि अर्थ लागेन । कविताको भिसिडी निक्लेकोले त्यो घाउमा केही मल्हम लागेजस्तो भने भयो ।
त्यही भिसिडीले न्यूयोर्कको अर्को फेस्टिभलमा पुरस्कार पाउने भयो भन्ने खबर आयो । र उनै युवा साथी गए पुरस्कार लिन भनेर– लगानी गरेका केही सामानसमेत लिएर ।
उनी अमेरिकाबाट फेरि फर्केर आएनन् । बाँकी कम्प्युटर, स्क्रीन, आदि सामग्री सबै अलपत्र भए । कविता भने बाँकी नै रह्यो । र, कविताप्रतिको मेरो प्रेम पनि बढि नै रह्यो ।
केही समयपछि सरोजको ‘आँसु र उत्सव’ कविता संग्रह छापियो । मेरा केही निबन्ध संग्र्रहहरू पनि त्यही घरमा हुँदा छापिए–इतिहासका जिउँदा पानाहरू, ससुरा बुवाको बारेमा लेखेको श्रद्धा संस्मरण तेजोऽसि आदि ।
जीवनमा दुःखका कथा मात्र त निश्चय नै छैनन् । आफ्नै कर्म र सफलताका कथा पनि हुन्छन् । तिनलाई सम्झँदा मनमा खुसी हुन्छ …।