काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत साहारा एकेडेमी पोखराद्वारा पोखरा–१७ दोबिल्लामा सञ्चालित साहारा फुटबल एकेडेमीलाई बिगत वर्षहरुमा गरिरहेको सहयोगलाई निरन्तरता दिँदै आर्थिक सहयोग स्वरुप रु २ लाख ४४ हजार ८ सय सहयोग हस्तान्तरण गरेको छ ।
बैंकका सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देलले साहारा क्लबका अध्यक्ष केशवराज बराललाई उक्त रकमको चेक हस्तान्तरण गरे । सिग्देलले साहारा एकेडेमीमा आश्रित बाल–बालिकालाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । साहाराले निकै राम्रो र प्रशंसनीय कार्य गर्दै आएकामा सञ्चालक सिग्देलले क्लबको प्रशंसासमेत गरेका थिए ।
लुम्बिनी विकास बैंकले प्रदान गरेको आर्थिक सहयोगका लागि आभार प्रकट गर्दै साहारा क्लबका अध्यक्ष बरालले सहयोग रकम एकेडेमीमा आश्रित बालकको खाजा र खानाका लागि खर्च गरिने जानकारी दिए । कार्यक्रममा बैंकका पोखरास्थित शाखाका प्रवन्धक, क्लबका निवर्तमान अध्यक्ष हरिराम गुरुङ र पूर्वअध्यक्ष विक्रम थकालीलगायत सरोकारवालाको उपस्थिति थियो ।
एकेडेमीमा हाल १५ जिल्लाका ४५ कठिन एवं विपन्न परिस्थितिका बालकहरू छन् । साहारा क्लब पोखराले उनीहरुको लालनपालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिँदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ ।
देशका सातवटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको बिभिन्न स्थानमा गरी ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ । बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले बचत निक्षेप खातामा उच्चतम ब्याज प्रदान गर्ने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको जनाइएको छ ।