Logo
Logo

अयोध्याको राममन्दिरमा मोदीको राजीनिक स्वार्थ


1.4k
Shares

काठमाडौं । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न भएको छ । मन्दिर पूरा निर्माण नसकिए पनि रामको मूर्तिलाई धार्मिक विधिअनुसार प्राणप्रतिष्ठा गरिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निराहार व्रत बसेर मन्दिरको प्राणप्रतिष्ठा गरेका हुन् । यो कार्यक्रमले भारत र नेपालसहित विभिन्न देशका सन्तमहन्त तथा वैदिक विज्ञमाझ व्यापक चर्चा पाएको छ ।

२८ हजार स्क्वायर फिटमा फैलिएको मन्दिरलाई भारतकै सबैभन्दा ठूलो मन्दिर दाबी गरिएको छ । रड प्रयोग नगरिएको यो मन्दिर बनाउन दुई हजार ५८७ गाउँबाट माटो ल्याइएको भारतीय सञ्चारमाध्यहरूले बताएका छन् ।

तर, यो विशुद्ध धार्मिक आध्यात्मिक विषय हुनुपर्ने भएपनि यसले राजनीतिक रुपमा पाएको छ । राम मन्दिर र बाबरी मस्जिदमध्ये कसको आधिकारिक स्थल भनी विगतमा पटकपटक विवाद हुँदै आएको थियो ।

भारतीय सर्वोच्च अदालतले सन् २०१९ नोभेम्बर ९ मा सात दशक चलेको लम्बेतान मुद्दामा फैसला गरेको थियो । फैसलामा मस्जिद बनाउन २५ किलोमिटर पर छुट्टै जग्गा भारत सरकारले दिलाउने पनि फैसला भएको थियो ।

फैसलापछि भारतीय प्रधानमन्त्री मोदीले मन्दिरको भूमि पूजा सन २०२० अगस्ट ५ मा गरेका थिए । सन् १९९० मा हालको सत्ताधारी भारतीय जनता पार्टीका नेता लालकृष्ण आणवानीले राम मन्दिरको मुद्दा लिएका थिए । भाजपाकै अग्रसरता भएका कारण पनि यसले राजनीतिक रंग पाउँदै गएको हो ।

केही हिन्दू सन्त नेता तथा विपक्षीहरू प्राणप्रतिष्ठालाई मोदीले राजनीतिक लाभको विषय बनाएको भन्दै उक्त कार्यक्रममा सहभागी नै भएनन् । मन्दिर निर्माणको सम्पूर्ण काम नसकिँदै भारतको लोकसभा चुनावअघिको ठूलो काम देखाउन मोदीको टिमले राममन्दिरको प्राणप्रतिष्ठा गरेको भन्दै आलोचना हुन थालेको छ ।

झन्डै २१ करोड ७० लाख अमेरिकी डलरको लागतमा बनेको मन्दिर तीनतले छ । तर, मोदीले अहिले भुइँतलाको मात्र उद्घाटन गरेका हन् । बाँकी भागको निर्माण कार्य यो वर्षको अन्त्यतिर सम्पन्न हुने बताइएको छ । मोदीले भने मन्दिर निर्माणलाई ठूलो उपलब्धिको रुपमा लिएका छन् ।

यसरी काम नै नसकिएको परियोजनामा बीचैमा आफ्नो फाइदाका लागि प्राणप्रतिष्ठा गराउँदा धर्मको अपमान हुने भन्दै केही हिन्दू सन्त नेता तथा विपक्षीहरूले मोदीको आलोचना गरिरहेका छन् ।

राममन्दिरको एजेण्डाबाट उदाएको भाजपाको यसपटकको चुनावमा फेरि यसै मुद्दालाई उछालेर बलियो हुने रणनीति बनाएको देखिन्छ । सोही स्थानमा राममन्दिर बनाउने अभियान चलाएकै कारणले भाजपाको सन् १९९० को दशकमा राजनीतिक उदय भएको बताइन्छ ।

त्यसकै जगमा वृहत भएको भाजपाले अहिले मोदीको सत्ता नेतृत्वमा हिन्दुत्वको राजनीति गरिरहेको छ । अहिले लोकसभाको चुनावअघि श्री रामको मूर्ति प्राणप्रतिष्ठा गर्दै बहुमत ल्याउने दाउ उसको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्