जनकपुरधाम । जनमत पार्टीको अवरोधका बाबजुद जसपा अध्यक्ष उपेन्द्र यादव मधेश कृषि विश्वविद्यालय भवनको शिलान्यास गरेका छन् ।
सप्तरीको राजविराज नगरपालिका १३ बिसहरियामा विश्वविद्यालयको भवन निर्माणका लागि आज शिलान्यास गरिएको हो ।जसपा अध्यक्ष यादव र मुख्यमन्त्री सरोजकुमार यादवले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
त्यसक्रममा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच सामान्य झडप भएको छ । कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो ।
झडपमा मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव, प्रदेश सांसदहरू सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी घाइते भएका छन् । शिक्षामन्त्री यादव जनमत पार्टीका हुन् ।
शिलान्यासमा सप्तरी २ बाट पराजित उपेन्द्र यादवलाई नै प्रमुख अतिथि बनाएपछि जनमतले विरोध गरेको थियो । आइतबार जनमतले विश्व विद्यालयको कार्यालयमा तालाबन्दी गरेको थियो ।
जनमतको प्रदर्शनका कारण शिलान्यास स्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । साथै जसपाले पनि आफ्नो कार्यकर्ताहरु उतारेका छन् । जसपा अध्यक्ष यादव सुरक्षाकर्मी र कार्यकर्ताको घेरामा शिलान्यास स्थल पुगेका थिए ।