Logo
Logo

बालकोटको बार्दलीमा बर्बराउँदै ओली


567
Shares

काठमाडौं । मिसन ८४ भन्दै मध्यपहाडी संकल्प यात्रा सम्पन्न गरेका नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई सत्ता आरोहणको हतारो छ । सपनामा पनि बालुवाटारकै ‘बेड’ देख्न थालेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई बुख्याचाको संज्ञा दिएर सत्ता अरोहणको हतार गरेका हुन् ।

तर, गठबन्धन दलका नेताहरूले ओलीका यो अभिव्यक्तिलाई ठाडै चुनौति दिँदै अहिलेको सत्ता गठबन्धन लामो समय टिक्ने बताएका छन् । उनीहरूले तत्कालै सरकार ढल्ने वा गठबन्धन भत्कने कुरा दिवा सपना मात्रै भएको बताउदै ओलीलाई चुनौति दिएका हुन् ।

तर, ओलीले बार्दलीमा बसेर बर्बराउन छाडेका छैनन्, ‘हामी मिसन ८४ मा छौं । हाम्रा विरोधीहरू एक्लै लड्छौँ भन्ने आँट नै गर्दैनन्, हामीमात्रै हौं एक्लै लड्छौँ भन्ने । हामी लड्यौं तर उनीहरूले स–साना अंक जोडेर सरकार बनाएका छन,’ त्यो सरकार तरकारी बारीको बुख्याचाजस्तो छ । केही गर्ने होइन । अहिले त त्यसका टाउकामा सुँगा पनि बस्छ, काग पनि । सबैले चिनिसके यो बुख्याचा हो केही गर्न सक्दैन भन्ने । बुख्याचा मात्रै होइन, निकम्मा पनि छ ।’ ओलीले अझै चार वर्ष सत्ताबाहिर बस्नुपर्ने बाध्यताको पीडा पोखे ।

दुई तिहाईबाट उत्तानो परेका ओलीले सरकार भ्रष्टाचार, तस्करी, कममिसनखोरीको संरक्षक बनेको तथ्य पनि राख्न अनुरोधसमेत गरेका छन् । उनले विरोधीहरूले जुनसुकै बेलामा प्रहार गर्नसक्ने भएकाले त्यसका विरुद्ध आन्दोलनमा उत्रिन तयार रहन पनि निर्देशन दिए । ‘यस्तै अवस्था रहिरहे हामीले मिसन ०८४ भनेर पर्खिन नसक्ने स्थिति आउनसक्छ । देश बर्बाद हुन लाग्यो भने कहाँ ८४ को चुनाव भनेर पर्खेर बसेर हुन्छ ?,’

ओलीले केही दिन अघि भने, ‘उस्तै परे हामीले गठबन्धन भत्काएर, यो लोभीपापीहरू नभत्किन सक्छन् । यिनीहरूको घाँटी एकैठाउँमा जोडिएको छ । त्यसैले हामी जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने आवश्यक छ ।’ विचारा ओलीलाई आन्दोलनमा अब कसले साथ देलान ? दुर्गा प्रसाईँकै प्रतिकारमा ओलीको शक्ति जनताले देखिसके ।

ओलीले मिसन ०८४लाई एकल बहुमत ल्याउने तयारीको रुपमा लिएका थिए । तर, ०८४ पनि एमाले एक्लै पर्ने अवस्था आएपछि अहिलेको गठबन्धन भत्काएर सरकार बनाउने योजना बुन्न थालेका छन् । ‘अहिले हामी मिसन ०८४ भनेर अघि बढिरहेका छौँ । हरेकको गन्तव्य, हरेकको उद्देश्य अब एउटा आवधिक लक्ष्य भन्ने हो भने हाम्रो समृद्ध नेपाल, सुखी नेपाली हो । त्यसको आवधिक टार्गेट मिसन ०८४ हो । मिसन ०८४ भनेको के हो भने एकल बहुमतको हाम्रो सरकार,’ उनले त्यतिबेला भनेका थिए । ओलीको यही अभिव्यक्ति एक महिना नपुग्दै फेरिएको छ । उनमा छटपटी बढेको छ ।

०८४ साल आउन पनि अझै चार वर्ष बाँकी रहेको छ । त्यसमा पनि अहिलेको राजनीतिक घट्नाक्रमले वामपन्थीहरू मिलेर चुनाव जाने अवस्था छैन । ओलीले आफूबाहेक कोही पनि बामपन्थी होइनन् भनिसकेको अवस्था अन्य घटकहरूले फेरि पनि कांग्रेसको साथ लिनुको विकल्प नभएपछि ओलीले अहिले नै सत्तामा जाने सरकार चलाउने हतार गरेको हुनसक्ने आशंका एमालेभित्रै गर्न थालिएको छ ।

एमाले महासचिव शंकर पोखरेलले जनवर्गीय संगठनहरूलाई विना उदेश्य आन्दोलनको तयारी गर्न निर्देशन दिएका छन् । ‘अहिले कुनै पनि सन्दर्भ छैन । तर, महासचिवले आन्दोलनको तयारी गर्नुस भन्ने निर्देशन दिनु भएको छ’, युवा संघका एक नेताले भने ।

गठबन्धन टुटाउनका लागि माओवादी र कांग्रेसमध्ये कुनै एक दल बाहिर नआई एमाले सत्तामा जान नसक्ने भएकाले अहिले आफ्नो उपस्थिति जनतामाझ राख्न पनि ओली र पोखरेलले आन्दोलनको चर्चा र तयारी गर्न लागेको एमालेवृत्तमा चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्