काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयमा कतिसम्म अनियमित कार्य हुन्छ भन्ने बिषय एकपछि अर्को घटनाक्रमले पुष्टि गरिरहेका छन् । नायबसुब्बा श्रीराम पौडेल कर्मचारी युनियनको आडमा संस्थालाई बदनाम गराउँदै आएका छन् । आर्थिक लाभ लिएर बिना बैंक भौचर सेयर लगत कायम गरिदिने, आर्थिक लाभको प्रलोभन नदिने सेवाग्राहीको काम क्यू सिष्टममा राखिदिने पौडेलको कार्यलाई उपसचिव बर्तराज पौडेलले साथ दिएको बिषय नौलो रहेन ।
श्रीरामको बर्तराजसँग मात्र होइन, कानुनका उपसचिव टोपबहादुर बिष्टसँग पनि उस्तै सेटिङ चल्दैआएको छ । कम्पनी रजिष्ट्रार स्रोतका अनुसार बिष्ट २ बर्षदेखि कम्पनी रजिष्ट्रार कार्यालयमा कानुन उपसचिवका रुपमा कार्यरत छन् ।
विगतमा कानुनका उपसचिवले कम्पनीका मुद्दा मामिला लगायतका बिषयमा मात्र काम गर्ने गरेको बिष्टले प्रशासनका कर्मचारीले गर्ने कामलाई मूल प्राथमिकता दिएर मुद्दा मामिलाका बिषयलाई गौण राख्दैआएका छन् । शाखा अधिकृत हुँदा पनि कम्पनी रजिष्ट्रार कार्यालयमा काम गरी उद्योग विभागमा सरुवा भएका बिष्ट घुमिफिरी बढुवा भएपछि कम्पनी छिरेका हुन् ।
कम्पनीमा हुने आर्थिक चलखेलको अनुभव पहिल्यै भएकाले उनी दोस्रोपटक शक्तिको आडमा सरुवा भएका हुन् । बिष्ट उद्योग र कम्पनीमा रहँदा कानुन समूहको शाखा अधिकृतको दरबन्दी थियो । विगत केही बर्षदेखि उद्योग विभाग र कम्पनी रजिष्ट्रार कार्यालयमा कानुनको उपसचिवको दरबन्दी कायम गरिएको छ ।
घुमिफिरी विष्ट रजिष्ट्रार कार्यालयमा आएपछि कम्पनी प्रशासनको काम नपाए कामै नगर्ने अड्डी लिएपछि तत्कालीन रजिष्ट्रार प्रदीपराज अधिकारीले उनलाई पब्लिक लिमिटेडको काम हेर्नेगरी अख्तियारी दिएका थिए । जबकि, त्यसबेला उपसचिव तुल्सीराम गैरेले पब्लिक लिमिटेडको काम हेर्र्ने जिम्मेवारी पाएका थिए । बिष्टले अड्डी कसेपछि अधिकारीले गैरेको शाखाबाट निकालेर कानुन शाखाका बिष्टलाई दिएका थिए ।
त्यतिबेला कानुनलाई अधिकार दिएपछि प्रशासनका कर्मचारीहरु आक्रोशित भएका थिए । रजिष्ट्रार कार्यालयमा हाल २ हजार जति पब्लिक लिमिटेड कम्पनी छन् । ती कम्पनीका कुनै न कुनै काम दैनिकजसो हुने गरेको र हरेक काममा आर्थिक लेनदेन हुने गरेको, त्यसको सेटिङ बिष्टका अलावा नासु श्रीराम पौडेलले गर्दैआएका छन् ।
दैनिक २ सय भन्दा बढी फाइल बिष्टले सदर गर्ने गरेका छन् । उनीसरहका र अधिकार प्राप्त उपरजिष्ट्रार सोमराज बराल, लोकराज जोशी, उत्तमकुमार घिमिरे र कृष्ण सापकोटा हाई काढेर बस्न बाध्य छन् । बिष्टलाई हेर्दै नहेरी फाइल सदर गर्न भ्याई नभ्याई छ । गुल्मीका बिष्ट आफूलाई कानुनका जानकार भएको बताउँछन् । तर उनी कम्पनी प्रशासन, कानुन र पब्लिक लिमिटेडको बिषयमा भने अनभिज्ञ नै रहेको रजिष्ट्रार कार्यालयमा सेवा लिन पुगेका एक कानुन ब्यवसायी बताउँछन् ।
बर्तराज, श्रीराम र टोपबहादुरको अनियमितताका बारेमा रजिष्ट्रार दीपककुमार पहाडीकोमा मात्र होइन, उद्योग सचिव र मन्त्रीकोमा पनि गुनासो पुिगसकेको छ । तर आर्थिक लाभको हिस्सा त्यहाँसम्म पुगेकैले हुनसक्छ, जति गुनासो पुगे पनि सुनुवाइ हुन सकेको छैन ।
आर्थिक लाभ लिएर कम्पनी प्रशासनतिर बढी ध्यान दिंदा बिष्टको कानुनी ज्ञान बोधो हुँदै गएको ती कानुन ब्यवसायीको दाबी छ । टेबुलमा टिप्पणी फाइल देख्नेबित्तिकै हेर्दै नहेरी सही गर्नुका पछाडि सेटिङ र आर्थिक लाभ नै मुख्य कारण भएको स्र्रोत बताउँछ । नासु श्रीराम पौडेलले सेटिङमा उठाएको टिप्पणी पढ्दै नपढी शाखा अधिकृत (सहायक रजिष्ट्रार)लाई छलेर बिष्टबाट सदर हुँदै आएको छ ।
उनले सदर गरेका फाइल पल्टाएर हेर्ने हो भने यस्ता सेटिङका धेरै तथ्यहरु खुल्ने सेवाग्राही बताउँछन् । बर्तराज, श्रीराम र टोपबहादुरको अनियमितताका बारेमा रजिष्ट्रार दीपककुमार पहाडीकोमा मात्र होइन, उद्योग सचिव र मन्त्रीकोमा पनि गुनासो पुिगसकेको छ । तर आर्थिक लाभको हिस्सा त्यहाँसम्म पुगेकैले हुनसक्छ, जति गुनासो पुगे पनि सुनुवाइ हुन सकेको छैन ।
भर्खरै सरुवा भएर आएका रजिष्ट्रार पहाडी पनि तँै चुप मै चुपको अवस्थामा छन् । दुःख दिएको विषयमा गुनासो गर्नेहरुलाई उल्टै पहाडीले हप्काउने गरेको गुनासो छ ।