Logo
Logo

पर्यटनमन्त्री किरातीविरुद्ध अख्तियारमा उजुरी


3k
Shares

काठमाडौं । पर्यटनमन्त्री सुदन किरातीले सार्वजनिक खरिद ऐन र नेपाल वायुसेवा निगमको आर्थिक नियमावली नै मिचेर जहाज खरिदको प्रक्रिया अघि बढाएको भन्दै निगमविरुद्ध उजुरी परेको छ । कुनै एक जहाज निर्माता कम्पनीलाई मात्रै ठेक्का दिनेगरी बोलपत्र आव्हान गरिएको भन्दै निगमविरुद्ध सार्वजनिक खरिद अनुगमन कार्यालय, पर्यटन मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।

‘मन्त्रीकै जोडबलमा कुनै एक कम्पनीले मात्रै जहाज दिनसक्ने गरी बोलपत्र आह्वान गरेपछि उजुरी गरिएको हो, यसमा राजनीतिक दलको समेत स्वार्थ रहनसक्छ भन्ने हाम्रो आँकलन छ’, उजुरीमा भनिएको छ ।

यो सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता विष्णुप्रसाद शर्माले यसबारे निगमसँग जवाफ मागेका छन् । ‘यो विषयमा हामीले जवाफ मागेका छौ, हालसम्म जवाफ आइसकेको छैन । जवाफ आएपछि त्यसको आधारमा कार्यालयले खरिद प्रक्रियामाथि छानबिन अघि बढाउँछ’, उनले भने ।

हालै निगमले स्टोल(सर्ट टेक अफ एण्ड ल्यान्डिङ) उडानका लागि तीनवटा जहाज खरिद गर्न बोलपत्र आव्हान गरेको छ । कमिसनको चक्करमा सोही बोलपत्रमा तोकिएको मापदण्हरू असान्दर्भिक रहेको भन्दै उजुरी परेको हो । उजुरीका अनुसार निगमले ट्वीन अटर जहाज नै खरिद गर्ने मनासायले बोलपत्रमा मापदण्डहरू तयार पारेको थियो ।

निगमले तयार पारेको उक्त मापदण्ड अनुसार अन्य जहाज निर्माता कम्पनीले प्रतिस्पर्धा गर्न पाउने सम्भावना छैन । ‘निगमको यो बदनियतले गर्दा अन्य दुई उत्कृष्ट बिमान निर्माता कम्पनी सोः बोलपत्र प्रक्रियामा भाग नै लिन नसक्ने अवस्था सिर्जना भएको छ,’ सो उजुरीमा उल्लेख गरिएको छ । उजुरीमा सो बोलपत्र तत्काल रोकेर अन्य जहाज निर्माता कम्पनीले पनि प्रतिस्पर्धामा भाग लिन पाउने अवसर दिन अनुरोध गरिएको छ ।

जारी बोलपत्रमा जहाजले १५०० फिट भन्दा मुनीको रनवेमा पनि उडान अवतरण गर्न सक्नुपर्ने प्रावधान राखेको छ । तर यो मापदण्डभित्र हाल स्टोल उडान गरिरहेका डोर्नियर र लेटजस्ता जहाजहरू पर्दैनन् । नेपालको सबैभन्दा सानो रनवे मानिने लुक्ला विमानस्थलको रनवेको लम्बाई १७२९ फिट छ । जहाँ डोर्नियर र लेटले पनि सहज रुपमा उडान अवतरण गरिरहेका छन् ।

यो भन्दा पनि सानो रनवे भएको विमानस्थल अब नेपालमा नबन्ने भएकाले उल्लेखित प्रावधान नै सिधै ट्वीन अटर जहाज ल्याउनकै लागि राखिएको जनाइएको छ । उजुरीमा जनाएअनुसार जहाजको मूल्यांकन नतिजाअनुसार पनि ट्वीन अटरको तुलनामा डोर्नियर र लेटको अंक बढी देखिन्छ । निगमको रोजाइमा परेकोे ट्वीन अटर जहाजको कुल प्राप्तांक ८०.३२ प्रतिशत हुँदा डोर्नियरको ८८.२३ र लेटको ९४.३१ प्रतिशत रहेको छ ।

योसँगै हालको बजार भाउ अनुसार ट्वीन अटर भन्दा ती दुई जहाजको मूल्यक कम छ । ट्वीन अटरको मूल्य ८० करोड हुँदा डोर्नियरको ६६ र लेटको ६० करोड रुपैयाँ पर्न जान्छ । यसरी सस्तो र राम्रो जहाजज खरिद गर्दा कमिसन नआउने भएपनि निगमले ट्वीन अटर जहाजको एजेन्टसँगको मिलेमतोमा नियमविपरित बोलपत्र प्रकाशन गरेको स्रोतको दावी छ ।

सार्वजनिक खरिद ऐन अनुसार कुनै पनि जहाज खरिदको लागि बोलपत्र गर्दा ब्रान्ड तोक्न मिल्दैन । तर ऐन विपरित निगमले तीनवटा जहाज खरिद प्रक्रियामा ट्वीन अटर जहाजसँग स्पेयर पार्टस् मिल्नुपर्ने भनेर लेखेको छ । कुनै एउटा जहाजको स्पेयर पार्टस् अन्य जहाज निर्माता कम्पनीसँग कसरी हुन्छ ? यसबारे प्रश्न उठाइएको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई ट्वीन अटर जहाज निर्माता कम्पनीका प्रतिनिधि योगेश गर्गले एक्लै भेटेका थिए । निगमलाई जहाज बेच्न भारत, क्यानडा र चेक रिपब्लिकका तीनवटा कम्पनीले इच्छा देखाएका थिए । तर, निगमले क्यानेडियन कम्पनीलाई मिल्नेगरी बोलपत्र आह्वान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्