एजेन्सी । युक्रेनी युद्धबन्दी बोकेको रुसी जहाज दुर्घटना भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको अनुसार रुसको युक्रेनसँग सीमा जोडिएको दक्षिणी बेल्ग्रड क्षेत्रमा रुसी इल्यूशिन–७६ सैन्य ढुवानी जहाज दुर्घटना भएको हो ।
रुसी रक्षा मन्त्रालयका अनुसार उक्त दुर्घटनामा कम्तीमा ६५ जना युक्रेनी युद्धबन्दीहरू मारिएका छन् । सञ्चारमाध्यमका अनुसार उक्त जहाजमा ६ जना चालक दलका सदस्यसहित युक्रेनी युद्धबन्दीबाहेक अन्य ९ जना पनि यात्रारत थिए ।
क्षेत्रीय गभर्नर भ्याचिस्लाभ ग्लाडकोभले उनलाई घटनाबारे जानकारी भएको बताए । तर उनले थप विवरण दिएनन् । उक्त जहाजमा रहेका व्यक्ति बारेका कुनै पनि विवरणहरूको पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ ।
युक्रेनी सैन्य कार्यालयलाई उदृत गर्दै प्राभदा वेबसाइटले लेखे अनुसार उक्त जहाजले रुसको एस–३०० हवाई सुरक्षा प्रणालीका निम्ति क्षेप्यास्त्र ढुवानी गरिरहेको थियो । त्यसमा युक्रेनी युद्धबन्दीहरू रहेकोबारे केही पनि उल्लेख छैन ।
सामाजिक सञ्जालहरूमा प्रकाशित भएको भिडियोमा स्थानीय समय अनुसार ११ बजे याब्लोनोभो गाउँ नजिकै एउटा विमान खसेको र त्यसपछि विस्फोट भएको देखिन्छ ।
रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले क्रेमलिनलाई दुर्घटनाको बारेमा जानकारी रहेको बताएका छन् ।