Logo
Logo

पीडितलाई थप पीडा दिने समाज


4.9k
Shares


२५ पुस २०८० का दिन जिल्ला अदालत काठमाडौँले नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय तोक्यो । सन्दीप नेपाली क्रिकेट टिमका बलिया खेलाडी थिए । लामिछाने नेपालको क्रिकेट इतिहासलाई नयाँ उचाइ दिएका व्यक्ति हुन् ।

सन्दीपलाई थप सम्भावना बोकेका क्रिकेटर लिने गरिन्थ्यो । अपसोच सन्दीपको जीवनले नयाँ मोड लिन पुग्यो । सायदै, मानिसले सोचेभन्दा अदालतले फरक फैसला गर्यो । जब सन्दीप विरूद्ध फैसला आयो, त्यसपछि पक्ष र विपक्ष धारणा छरपष्ट भए । सामाजिक सञ्जालमा सामान्य नागरिकदेखि सांसदसम्मले पक्ष विपक्षमा आफ्ना धारणा राखे । अझँ भनौं खासमा पीडितलाई नै थप पीडा हुनेगरी सामाजिक सञ्जालमा यत्रतत्र धारणा सार्वजनिक भए ।

यसो किन भयो, के कारण पीडितलाई न्याय होइन, अन्याय हुनेगरी तस्बिर सार्वजनिक गर्ने, तल्लोस्तरको प्रतिक्रिया दिने काम किन भए, अदालतको आदेशलाई समाजले किन सजिलै स्वीकार्न सकेनन्, पीडितलाई लज्जाबोध र पीडकलाई उच्चताभास हुने वातावरण किन सिर्जना गरियो, नेपाली समाज सत्यभन्दा भ्रमलाई किन अनुसरण गरिरहेको छ, खासमा गलतलाई प्रसय दिने नेपाली समाजको समाजशास्त्र के हो ? यसबारे केही मन्थन गर्न आवश्यक छ ।

पीडितले आफूमाथि हिंसा भयो भनेर भन्ने अवस्थासमेत छैन । उल्टै पीडितलाई मानसिक तनाव दिने र आत्महत्या गर्ने स्थितिमा पुर्याउने काम समाजले गरिरहेको छ । यस्तो कार्य तत्काल रोकिनुपर्छ । समाज प्रियतावादी बन्नु हुँदैन ।

सन्दीप लामिछानेको योगदान र क्षमतासँग कुनै संसय गर्ने ठाउँ छैन । तर, उनको नीजि जीवनमा जोडिएका सामाजिक घटनाबारे नेपाली समाज विभक्त हुनुपर्ने कुनै कारण छैन । पछिल्लो समय नेपाली समाजमा प्रियतावादले राजगरिरहेको देखिन्छ ।

कुनै दिन पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्दा रवि लामिछानेको नाम लिएका थिए । उक्त मुद्दामा रवि पक्राउ परे । रविको रिहाइका लागि चितवनमा हजारौं मान्छे भेला भएर अदालतलाई डर, त्रास र भयमा राख्न खोजेको जस्तो देखिएको थियो । संयोग भन्नुपर्छ, रवि लामिछाने राजनीतिमा आएर सोही चितवन निर्वाचन क्षेत्र रोजे ।

त्यसैगरी ठीक पछिल्लो समय सन्दीप लामिछानेका समर्थकले प्रेम र बलात्कारको स्पष्ट परिभाषा चाहियो भन्दै सामाजिक सञ्जाल तताइरहेका छन् । यति घृणित र तल्लोस्तरको प्रक्रिया दिन खोजिएको छ कि जसले वर्तमान नेपाली समाज कहाँ जाँदैछ भनेर बुझ्न सकिन्छ । यसमा सामान्य समर्थकमात्रै नभएर पीडकलाई सहानुभूति पुग्नेगरी सांसदहरूले समेत प्रतिक्रिया दिइरहेका छन् । सांसद डा. चन्द्र भण्डारीको प्रतिक्रियालाई दृष्टान्तका रूपमा स्मरण गर्न सकिन्छ ।

सन्दीपको नाम नजोडी सांसद भण्डारीले लेखेका छन्, ‘कस्तो अवस्थालाई प्रेम ? र कस्तो अवस्थालाई बलात्कार ? बलात्कार भनेको के हो ? अनि प्रेम के हो ? प्रेम बलात्कारमा परिणत हुन्छ कि हुँदैन ? परिभाषाको आवश्यकता ।’ अच्चमको कुरा त के भने २०७४ सालमा संसदले मुलुकी अपराध संहिता पारित गर्दा भण्डारीसमेत सांसद थिए ।

सामाजिक प्रतिष्ठा र अपराध एउटै कुरा होइन भन्नेसम्मको ज्ञान नभएका अनि विज्ञान नबुझ्ने समाजशास्त्रले नेपाली समाजलाई कतातिर लिन खोज्दैछ ? यो गम्भीर सवाल हो । पीडित गौशाला–२६ लाई क्रिकेटर लामिछानेले नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाई करणी गरेको अदालतको ठहर छ । जसलाई समर्थक र सांसदहरूले नजरअन्दाज गरिरहेका छन् ।

‘१८ वर्ष उमेर पुगेकी परिवर्तित नाम गौशाला–२६ को नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाइ करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएकाले प्रतिवादी सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१), (२) र ३ (ङ) बमोजिमको कसुर ठहर्छ’ अदालतको फैसलामा भनिएको छ ।

सत्य, तत्थ्य र यर्थातता एकातिर छ र भ्रमको खेती गरेर पीडकलाई थप पीडा दिनेगरी सामाजिक सञ्जाल तताउनु कुनै पनि कोणबाट जायज मान्न सकिँदैन । त्यसैमा पीडितको तस्बिर सार्वजनिक गर्नुपर्ने माग राख्नु शून्य चेतनाको पराकाष्टा हो ।

अदालतले तथ्य, प्रमाण, वादी–प्रतिवादीका बयान र संसदले बनाएको कानुनको आधारमा दोषी ठह¥याएका व्यक्तिप्रति समर्थक र सांसदहरूका यस्ता सहानुभूतिहरू विस्मित बनेका देखिन्छन् । पीडकप्रति सहानुभूति प्रकट गर्दा पीडितले व्यहोरिरहेको भयावह जिन्दगीप्रति सामाजिक सञ्जाल संवेदनहीन बनेको छ ।

गौशाला–२६ ले गुजारिरहेको प्रतिकूल अवस्थाप्रति नेपाली समाज असंवेदनशील बनेको देखिन्छ । यसरी पीडितलाई बाँच्न मुस्किल अवस्था सिर्जना गर्नेमाथि कानुनी कारबाही आवश्यक छ ।

पीडकलाई भौतिक, नैतिक र भावनात्मक रूपमा बलियो बनाउने र पीडितलाई थप कम्जोर र निरह बनाउने समाजशास्त्र घातक छ । आज जसले पीडकलाई प्रोत्साहित गरिरहेका छन्, भोलिका दिनमा आफूलाई नै पर्दा त्यो बेला के हुन्छ ? यतातिर ध्यान दिनुपर्छ कि पर्दैन ? लोकतन्त्रमा आफ्ना अभिव्यक्ति राख्न पाइन्छ तर, अरूको मान प्रतिष्ठामाथि आँच पुग्ने अभिव्यक्तिलाई लोकतन्त्रले बर्जित गरेको छ । अर्को कुरा हामीले भोकचलन गर्दै आएको लोकतन्त्रमा अदालतभन्दा माथि कोही छैन ।

अदालतको आदेशप्रति चित्त नबुझेको खण्डमा उजुरी गर्न पाइन्छ । यतातिरको पाटोलाई छोडेर पीडितलाई थप पिडा दिने खालको क्याम्पियन गर्न खोज्नु मुर्खता हो । प्रहरीले पक्राउ गर्नु, अदालतले दण्डित गर्नुलाई नेपाली समाज आफ्नो मनपर्ने व्यक्तिलाई अनाश्वयक कारबाही गरेको ठान्छ भने यो गम्भीर भुल हो । समाजलाई सभ्य, सुरक्षित र न्याय स्थापना गर्न खोज्नु प्रहरी र अदालतको संवैधानिक कर्तव्य हो ।

बलात्कार भनेको यौनजन्य हिंसा मात्र नभएर शारीरिक दुर्बलमाथि बलियाहरूको शोषणपूर्ण अपराध पनि हो । पीडित व्यक्तिले समाजमा शीर ठाडो गरेर हिँड्ने र बाँच्ने वातावरण भंग गर्न समाज लागि परिरहेको देखिन्छ । पीडितको बाँच्ने परिस्थिति र मनस्थिति गिराउन लागि परिरहेको समाजको जंगली व्यवहार निन्दनीय छ । भत्सर्ना योग्य छ ।

समाजले यसरी नै यौनजन्य हिंसालाई पक्षपोषण गर्दै जाने हो भने समाज आपराधीकरणतिर उन्मुख हुने निश्चित छ । महिला अधिकार धरापमा पारेर समाज लैङ्गिक हिंसालाई प्रश्रय दिन खोजिरहेको छ । महिलाहरूमाथि पुरूषले यसरी नै हिंसात्मक व्यवहार गर्दै जाने र घटनालाई समाजले प्रश्रय दिँदै जाने हो भने अवस्था गम्भीर बन्दै जान्छ ।

पीडितलाई आफूमाथि भएको अत्याचारको बारेमा मुद्दा दर्ता गराउन मुस्किल पार्ने, यदि मुद्दा अगाडि बढिहाले पनि प्रहरी र न्यायालयको कार्यसम्पादनमा ढिलाइ गर्नेजस्ता कुराहरूले पीडकलाई उत्साहित पार्ने भीड बढ्नेजस्ता खतरा बढिरहेका छन् । यसलाई रोक्नुपर्छ ।

पीडितले आफूमाथि हिंसा भयो भनेर भन्ने अवस्थासमेत छैन । उल्टै पीडितलाई मानसिक तनाव दिने र आत्महत्या गर्ने स्थितिमा पुर्याउने काम समाजले गरिरहेको छ । यस्तो कार्य तत्काल रोकिनुपर्छ । समाज प्रियतावादी बन्नु हुँदैन । समाजले वस्तुनिष्ठता छोड्ने हो भने हाम्रो समाज अराजकतातर्फ जान्छ । यसरी समाज काम नलाग्ने बन्दै जाने हो भने अराजकता मौलाउँदै जान्छ । अराजकता, प्रियतावाद र मास हिस्टोरियाले राज गर्ने हो भने विचार र सिद्धान्त बेकामे बन्नेछन् । जब विचार र सिद्धान्तले केही नाप्दैन भन्ने अवस्था समाज पुग्छ, त्यसपछि त्यो समाजसँग सच्चिने मौकासमेत हुँदैन ।

न्याय, सत्य, निष्ठा र यथार्थबाट चुकेको समाजले द्वन्द्व, हिंसा र असमानता बढाउँछ । यस्तो भहावय अवस्थातर्फ समाज जानु हुँदैन । सत्य आफैँ जित्दैन । सत्यलाई जिताउनका निम्ति समाजका सचेत मानिसहरूलाई नागरिकहरुले खबरदारी गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्