काठमाडौं । नेपाल चाइना चेम्बर अफ कमर्स, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सो तेस्रो मुलुकका लागि निर्यातको शुभारम्म भएको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी नेपालका लागि चिनियाँ राजदूत चेन सोङले सो कार्यक्रमको उद्घाटन गरेका छन् । सुरुआती चरणमा खाद्यान्न निर्यात गरिने जनाइएको छ । सो वस्तु नेपालबाट चीन हुँदै जापान पठाउन लागिएको हो ।
कार्यक्रममा आपूर्ति सचिव दुवाडीले यो कार्यले अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने बताए । उद्घाटन कार्यक्रममा बोल्दै चिनियाँ राजदूत सोङले नेपालमा उत्पादन भएका सामानहरू निर्यात गर्न हर प्रकारको सहजीकरण गर्ने बताए । यो कार्य राजदूत सोङकै अगुवाइमा सम्पूर्ण कुराहरू चीनले व्यवस्थापन गरी सुरू गरेको बताइएको छ ।
यसैगरी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले तेस्रो मुलुकमा सामान निर्यातले राम्रो कार्य प्रारम्भ भएको बताए । यसले पर्यटन प्रवर्द्धनसहित नेपालको समग्र विकासमा चिनियाँसहित अन्य मुलुकको सहयोगको आशा रहेको पनि बताए ।
यस्तै, नेपाल चाइना चेम्बर अफ कमर्सका अध्यक्ष त्रिभुवनधर तुलाधरले मुलुकमा व्याप्त आयातलाई प्रतिस्थापन गरी निर्यातलाई प्रोत्साहन गर्न यो गतिलो उदाहरण हुने र चीनले नेपालको विकास र समृद्धिका लागि हर कुरामा सहयोग गर्ने बताए ।