Logo
Logo

विनयतारा फाउन्डेसनकाे ‘चिफ डेभलपमेन्ट अफिसर’मा जस्टिन नियुक्त


819
Shares

काठमाडौं । जनकपुरमा २०० बेडको क्यान्सर अस्पताल बनाइरहेका विनयतारा फाउन्डेसनले नयाँ चिफ डेभलपमेन्ट अफिसर नियुक्त गरेको छ । अमेरिका निवासी जस्टिन मार्कुवार्ट रुफालो नोएल लेभिट्जबाट विनयतारामा आएका हुन् ।

उनी नोएलमा उपाध्यक्षका साथै सिनियर कन्सल्टेन्ट थिए । त्यसअघि साइटलाइफ र द फ्रेड हटचिन्सन क्यान्सर रिसर्च सेन्टरमा रहेर उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । विभिन्न परोपकारी कार्यका लागि कोष निर्माणमा उनको विशेष दक्षता रहेको छ । साइटलाइफमा जस्टिनले उपाध्यक्ष र बिजनेस डेभेलपमेन्टमा काम गरेका थिए । फ्रेड हचिन्सन क्यान्सर रिसर्च सेन्टरमा उनी सहायक निर्देशक थिए ।

विनयतारा फाउन्डेसन अमेरिकामा दर्ता भएको एक गैरनाफामुखी संस्था हो । फाउन्डेसन अमेरिकाकै ठूलो क्यान्सर कन्फ्रेन्स गर्ने संस्था हो । जसले अमेरिकाका साथै नेपाल, भारतलगायत दक्षिण एशियाली देशहरुको क्यान्सरको उपचारमा आमजनको पहुँच पुर्याउने कार्यक्रमहरु गर्दै आएको छ ।

नेपालमा यसअघि सिभिल अस्पतालमा रक्त क्यान्सर उपचार केन्द्र निर्माणका लागि भूमिका खेलेको थिए । अहिले मधेश प्रदेशको जनकपुरमा १५ बेडको क्यान्सर उपचार केन्द्र सञ्चालन गरेको छ भने २०० बेडको क्यान्सर अस्पताल निर्माणको तयारी सुरु भएको छ ।

जस्टिनले त्यसका लागि भूमिका निर्वाह गर्नुका साथै नेपालमा निर्माणाधीन २०० बेडको क्यान्सर अस्पतालका लागि कोष विकासमा काम गर्नेछन् । उनको अनुभव, दक्षता र सिर्जनशीलताबाट फाउन्डेसनले अघि सारेका योजना कार्यान्वयनमा सहज हुने विश्वास अध्यक्ष डा विनय शाहको छ ।

डा शाहले भने, ‘हामी जस्टिनलाई हाम्रो टिममा स्वागत गर्दछौँ । परोपरकारी कार्यमा रहेको उनको विज्ञता र दूरदृष्टिले हाम्रो लक्ष्य अझै विस्तार हुनेछ । परोपकारी कामका लागि कोष विकास गर्ने कार्यले नयाँ उचाइ लिनुका साथै हाम्रो प्रभाव विश्वव्यापी बनाउनेमा दृढ र विस्वस्त छु ।’

मार्कुवार्टले आफूलाई उक्त जिम्मेवारी प्रदान गरिएकोमा फाउन्डेसनप्रति आभार प्रकट गरेका छन् । ‘विश्वको क्यान्सर उपचारमा पहुँच वृद्धि काम गरिरहेको विनयतारा फाउन्डेसनसँग जोडिन पाएकोमा गौरवान्वित छु । मेरो अनुभवलाई परोपकारका लागि कोष विकास गर्ने फाउन्डेसनको अभियानमा लगाउनेछु’ मार्कुवाटले भने, ‘मेरो योगदान र कोष विकासको रणनीतिले क्यान्सरको उपचारमा विश्वको पहुँच बढाउने फाउन्डेसनको लक्ष्यमा सहयोग पुग्नेमा आशावादी छु ।’

प्रतिक्रिया दिनुहोस्